काठमाडौ : केही बर्ष पहिलेसम्म महिनावारी स्वच्छता व्यवस्थापनको क्षेत्रमा क्रियाशील संघसंस्थाहरु एकजुट थिएनन् । ती संघसंस्था आ–आफ्नो उद्देश्य केन्द्रित क्रियाकलापमा व्यस्त भएपनिआफू बाहेक अन्य संस्थाले गरेको कार्यको न चासो हुन्थ्यो, न चासो राखेको खासै अर्थ नै ।
तर महिनावारी स्वच्छताको क्षेत्रमा क्रियाशील संघसंस्थाहरुको राष्ट्रिय स्तरमा जब सञ्जाल बन्यो, त्यसपछि अनौपचारिक रुपमै भएपनि मासिक रुपमा भेट्ने, ज्ञान र सूचनाहरु आदानप्रदान गर्ने र सञ्जालले गर्ने कार्यको एजेण्डाबारे पनि छलफल हुन थाल्यो ।
राष्ट्रिय महिनावारी सञ्जालको संयोजक स्थापनाकाल देखि नै गुणराज श्रेष्ठ हुनुहुन्छ । उहाँकै अग्रसरतामा सञ्जाल गठन गरी राष्ट्रिय स्तरका विभिन्न अभियानहरु सञ्चालन भईरहेका छन् । राष्ट्रिय महिनावारी सञ्जालको स्थापना हुनुको पृष्ठभूमि बडो रोचक छ ।
डडेलधुरा जिल्लालाई खुला दिसामुक्त घोषणा गरेर फर्किँदै गर्दा सरसफाइ अभियन्ता श्रेष्ठले कार्यक्रम स्थलबाट पाँच मिनेट जतिको दुरीमा रहेको बाँसघारीमा दिसाको थुप्रो देख्नुभएछ । ‘खुला दिसामुक्त घोषणा गरिएको क्षेत्रमा यो दिसाको थुप्रो कसरी आयो ?’ उहाँको मनमा ठूलो प्रश्न खडा भएछ ।
सोधखोज गर्दै जाँदा घरमा चर्पी भएपनि महिनावारी भएको समयमा महिलाले चर्पी प्रयोग गर्न नपाउने भएका कारण बाँसघारीमा दिसा गर्ने गरेको पत्ता लागेछ । संयोजक श्रेष्ठ भन्नुहुन्छ ‘त्यसले मलाई खुला दिसामुक्त अभियान सफल हुन महिनावारी सम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्नु आवश्यक छ भन्ने कुराको बोध गरायो ।’
त्यसपछि उहाँले महिनावारीसँग सम्बन्धित काम गर्ने एनजिओ÷आइएनजिओहरूको कार्यक्रमबारे जानकारी लिन थाल्नुभयो । यस क्रममा कसैले प्याड बनाउने र वितरण गर्ने, कसैले जनचेतना र कसैले तालिम आदि सञ्चालन गर्दै आएको पहिचान गर्नुभयो ।
सुरुमा सन् २०१७ तिर २० वटा जति एनजिओ/आइएनजिओका प्रतिनिधि सम्मिलित राष्ट्रिय सञ्जालमा अहिले १०० जति संघ संस्था तथा व्यक्तिहरु सदस्य रहेको उहाँले बताउनुभयो । युनिसेफ, फिनिस दूतावास, अमेरीकी दूतावास, जर्मनी दूतावास, दर्जनौ आइएनजिओ, एनजिओ, संचारगृहहरु, विश्वविद्यालयहरु, अनुसन्धानकर्ताहरु, फिल्मी तथा सार्वजनिक व्यक्तिहरु यसका सदस्यहरु छन् ।
सञ्जालको मूख्य उद्देश्य सरकारी तथा गैरसरकारी संघ संस्थाहरुलाई संयोजन गरी एकीकृत कार्यक्रम र योजनाहरु बनाउने र कार्यान्वयन गर्ने, महिनावारी सम्वन्धी जानकारी तथा सूचनाको व्यवस्थापन गर्ने, राष्ट्रिय नीति तथा कार्यक्रमको पैरवी गर्ने र अन्तमा महिनावारी विषयलाई महिलाको गौरव र प्रतिष्ठाको रुपमा स्थापना गर्ने हो ।
यसको सचिवालय कोडेफले व्यवस्था गरेको छ भने यसलाई दैनिक संचालन गर्न GIZ ले संयोजक गुणराज श्रेष्ठको सुपरिवेक्षणमा रहने गरी एक जना अन्तरराष्ट्र्यि विकास सल्लाहकार समेत नियुक्त गरेको छ ।
केही समय अघि महिनावारी अनुभूति कथाहरुको सँगालो ‘ती चार दिन’ नामक पुस्तक विचोचन कार्यक्रममा संयोजक श्रेष्ठले यसबारे प्रकाश पार्नुभयो ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :