ताप्लेजुङ : फुङलिङ नगरपालिकाले प्रत्येक दिन फोहोर संकलन गर्ने व्यवस्था मिलाएको छ । फोहोर संकलनका लागि ट्र्याक्टर लिएर पालिका कर्मचारी घरघरै पुग्छन् । तर बजारवासीले भने फोहोर नजिकैको सिँचाइ कुलो, खोल्सा र सार्वजनिक स्थलमा लगेर फाल्छन् । यसबाट नगरपालिका कार्यालय रहेको आसपासको क्षेत्र सबैभन्दा बढी प्रभावित छ ।
नगरपालिका–३ मेदिबुङका तुलसी गिरीले प्रत्येक वर्ष सहरको फोहोर सोहोर्नु परेको गुनासो गर्छन् । ‘पानी ल्याउने कुलो भरिने गरी फोहोर फालिदिएका हुन्छन्,’ उनले भने, ‘पानी बगुन्जेल फोहोर बगाएर गाउँमै ल्याइपुर्याउँछ, बगाउन छोडेपछि त्यहीं थुप्रिएर बस्छ ।’ युवापुस्ताले सोहोर्न नमान्ने हुनाले ६८ देखि ८० वर्षका वृद्धहरू भेला भएर फोहोर सफा गर्ने गरेको नेत्रप्रसाद घिमिरे बताउँछन् । ‘पानी चलेको बेला पोलिथिन भरिएर फालेको फोहोरले कुलै थुनिदिन्छ र त्यसलाई पन्साउँदै कुलो चलाउनुपर्छ,’ उनी भन्छन्, ‘बजारको फोहोर हाम्रा खेतबारीमा पुगेका हुन्छन् ।’
आफूहरूले नगरपालिकामा पटकपटक निवेदन दिएर पनि समाधान नभएको बोझेका पदम निरौला बताउँछन् । फुङलिङ–२ मेदिबुङ र सिम्ले क्षेत्रका ३ सय बढी घरपरिवारले सदरमुकामको वीरेन्द्रचोक क्षेत्रबाट सिँचाइ कुलो लगेका छन । फुङलिङ–९ हाङदेवाको देवीखोलाबाट ल्याइएको सिँचाइ कुलो सदरमुकाम हुँदै गाउँ लगिएको छ । मुहानदेखि सदरमुकामसम्म र याङलीजुङदेखि गाउँसम्म यसको समस्या नभएको तर बजारभित्रैबाट पीडित हुनुपरेको गाउँलेको गुनासो छ ।
नगरपलिका कार्यालय बसेको घरको पछाडिपट्टि, प्राइम बैंक र आसपासको क्षेत्रमा बजारको भित्रपट्टि फोहोरको डुंगुर हुन्छ । धान रोप्ने समयमा धेरै पानी आवश्यक पर्ने भएकाले गाउँका सय बढी कुलो सोहोर्न निस्कन्छन् । सबैको पीडा बजार मुनिको क्षेत्र हुने ७७ वर्षीय सोमनाथ गिरीले गुनासो गर्छन् । न्यायिक समितिका संयोजकसमेत रहेका फुङलिङका उपप्रमुख भीमादेवी ओझाले घर पछाडि फोहोर फाल्नेको पहिचान गरेर सम्झाउने र नमाने कारबाही गर्ने बताउँछिन् । ‘यो त आफैंलाई लाज लाग्नुपर्ने विषय हो,’ उनी भन्छिन्, ‘अब एकपटक सबैलाई सम्झाउँछौं, नभए विकल्प खोज्छौं ।’ कुलोमा जम्ने मात्रै नभएर गाउँमा समेत असर गर्ने भएकाले यसको दिगो व्यवस्थापनको माग गाउँलेको छ । कान्तिपुर दैनिकबाट साभार ।