जलविद्युत आयोजनाले खनेको सुरुङले भासियो खानेपानीको मुहान

करिब डेढ सय परिवार खानेपानीको संकटमा

  वास खबर सम्वाददाता  499 पटक हेरिएको

लमजुङ : लमजुङका नागरिक जलविद्युत आयोजनाका कारण खानेपानी संकट व्यहोरिरहेका छन् । दोर्दी करिडोरमा निर्माण सम्पन्न भएको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा पानीका मुहानहरू पनि सुरुङ तर्फ गएपछि खानेपानी संकट भएको हो । आफ्नै घर छेउमा धमाधम निर्माण भइरहेका आयोजनाहरूले मुहार उज्यालो बनाउनुको साटो अर्को पीडा दिएको स्थानीयहरू बताउँछन् ।

पानीका मुहान सुक्न थालेपछि बेसीसहर नगरपालिका–११ चितीको बानियाँ पँधेरा, भोर्ले, टिमुरे गैराथोक, रामचोक र दलित बस्तीका करिव डेढ सय परिवारले खानेपानीको संकट व्यहोरिरहेका छन् । गाउँ नजिकै जलविद्युत् आयोजनाको सुरुङ मार्ग निर्माण गरिएकाले गाउँमा खानेपानीको समस्या भएको बानियाँ पँधेराका लक्ष्मीमान कमलीले बताउनुभयो । ‘खानेपानीमात्र होइन वस्तुभाउलाई खुवाउने पानीको समेत अभाव भएको छ। उहाँले भन्नुभयो ।

बानियाँ पँधेराकै कृष्णकुमारी श्रेष्ठले मूल सुक्न थालेपछि एक गाग्री पानी भर्न घन्टौं लाग्ने बताउनुभयो । ‘कुवामा पुग्न एक घण्टा लाग्छ अनि घन्टौं पानीको लाइन बस्नुपर्छ। एक गाग्री पानी लिन बिहानै निस्केको मान्छे घर फर्किँदा दिउँसो हुन्छ।’ उहाँले भन्नुभयो । पानी अभावका कारण घरको काम र मेलापात सबै चौपट भएको उहाँले बताउनुभयो ।

जलविद्युतको सुरुङ निर्माण पछि सय वर्ष पुराना पानीका मुहान समेत सुकेका स्थानीय भीमबहादुर अधिकारीले बताउनुभयो । जलविद्युत् आयोजनालाई धेरै पटक जानकारी गराउँदा पनि कुनै चासो नदिएको स्थानीयको गुनासो छ। आयोजनाले सुरुङ खन्दा सावधानी नअपनाउँदा गाउँमा पानीको हाहाकार भएको बेंसीशहर–११ की चन्द्री विकले बताउनुभयो । ‘केही वर्ष अघिसम्म मुहानमा पानी प्रशस्त थियो। अहिले मुहान सुकेपछि पानीको जोहो गर्न निकै समस्या भएको छ।’ खानेपानीको समस्या भएसँगै आयोजनाले ट्याङ्की निर्माण गरी खानेपानीको अस्थायी व्यवस्था गरेको छ। तर, मुहान नै सुक्न थालेकाले यसलाई विकल्पका रुपमा हेर्न नहुने स्थानीय गणेश श्रेष्ठले बताउनुभयो ।

आयोजनाले ०७२ फागुनबाट निर्माण कार्य सुरु गरेको हो । तर, आयोजनाकै कारण पानीको मुहान सुकेको हो होइन भन्ने एकिन भइ नसकेको दोर्दी खोला जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालले बताउनुभयो । ‘आयोजनाकै कारण पानीको मुहान सुकेको हो भन्ने यकिन हुनसकेको छैन। यसको पहिचान हुँदैछ,’ उहाँले भन्नुभयो । आयोजनाको सुरुङ खन्ने क्रममा समस्या देखिएको भए पानीको स्रोतको पहिचान गरी स्थानीय सरकारसँगको समन्वयमा खानेपानीको व्यवस्थापन गरिने उहाँको भनाइ छ।

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन ईआइए रिपोर्टमा समेत आयोजना निर्माणको क्रममा खानेपानीको मुहान सुके आयोजनाले खानेपानीको स्रोत पहिचान गरी स्थानीयलाई खानेपानीको व्यवस्था गर्ने उल्लेख छ। आयोजनाले ईआइए रिपोर्टमा समावेश गरेको कुरा समेत कार्यान्वयन नगर्दा समस्या भएको बेंसीशहर–११ का जलविद्युत् आयोजनाका प्रभावित काशीनाथ दवाडीले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार