जुम्ला : जुम्ला जुम्लाका तीन स्थानीय तहमा विगत चार वर्षदेखि सञ्चालित (क्याप्स कर्णाली) परियोजना हस्तान्तरण गरिएको छ । अनुकूलन कोषको आर्थिक सहयोग, नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारीमा पेस नेपाल जुम्लाद्वारा सञ्चालित क्याप्स परियोजना सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको हो ।
नेपालको कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तन द्वारा सिर्जित चुनौती अनुकूलन सम्बन्धी कार्यक्रम (क्याप्स कर्णाली) परियोजना यहाँका तातोपानी, तिला र हिमा गाउँपालिकामा सन् २०१८ अक्टुबरदेखि सञ्चालन भएको थियो । चार वर्षे क्याप्स परियोजना मार्फत तीन पालिकामा २६ करोड ६९ लाख ७६ हजार ३ सय १८ रुपैयाँ खर्चेर खानेपानी आयोजना, सिँचाइ कुलो, लिफ्ट सिँचाइ, सामुदायिक भवन, सुधारिएको घट्ट, पानी ट्यांकी लगायतका तीन दर्जन बढी पूर्वाधार निर्माण भएको पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानेले बताउनुभयो।
चार वर्षको अवधिमा २६ करोड बढी बजेट खर्चेर निर्माण भएका आयोजना सहितको परियोजना सम्बन्धित पालिका प्रमुखलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । परियोजनामा हालसम्म भएका असल अभ्यास, राम्रा कामलाई पालिकाले निरन्तरता दिनुपर्ने विषयमा उल्लेख गरिएको छ । जीविकोपार्जनका साधन तथा प्राकृतिक स्रोतको सुदृढ व्यवस्थापन मार्फत उच्च पहाडी हिमाली जिल्लाका जलवायु संकटासन्न, खाद्य असुरक्षित र गरिब घरपरिवारको अनुकूलन क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ परियोजना सञ्चालन गरिएको थियो ।
चार वर्षमा १ सय ३८ हेक्टर जमिन सिञ्चित भएको छ भने नहर (कुलो) निर्माण, ४ वटा सामुदायिक सेवा केन्द्र भवन निर्माण, ४१ हेक्टरमा १४ हजार १ सय २५ विरुवाको व्यावसायिक फलफूल खेती र आठ हेक्टर गैरकाष्ठ वनपैदावार खेती भएको छ । यस्तै ३ सय ८३ जना कृषकको बाली तथा पशु बिमाका लागि सहयोग, एक वटा लिफ्ट सिँचाइबाट ३२ हेक्टर जमिन सिँचाइ भएको पेस नेपाल जुम्लाले जनाएको छ । नौ वटा सुधारिएको पानीघट्ट निर्माण भएका छन् ।
४० हेक्टर जमिन सिँचाइ हुने सातवटा पानी संकलन पोखरी निर्माण, एक वटा लघु जलविद्युत आयोजना निर्माण, पाँचवटा संकलन केन्द्र भवन निर्माण गरिएको छ । ४ सय ७८ घरधुरीका लागि चारवटा खानेपानी आयोजना निर्माण, आठ वटा कृषि तथा वन नर्सरी स्थापना भएका छन् । घर बगैंचा स्थापनाका लागि एक हजार ७ सय २२ घरधुरीलाई ५२ हजार ५ सय ७१ फलफूलको बिरुवा सहयोग गरिएको जनाएको छ । चार वर्षे परियोजनाबाट १७ हजार ५ सय १६ जना लाभान्वित भएका छन् ।
१२ हजार ७ सय जनालाई जलवायु परिवर्तन अनुकूलन सम्बन्धी सचेतीकरण गरिएको विश्व खाद्य कार्यक्रमका फिल्ड संयोजक कृष्ण शाहीले बताउनुभयो। उहाँका अनुसार ३ हजार ७ सय ३८ कृषकलाई प्राविधिक सहयोग गरिएको छ भने ४८ वटा सामुदायिक पूर्वाधार निर्माण गर्दा ज्यालाका रुपमा आठ करोड १० लाख ४६ हजार ४ सय ८१ रुपैयाँ नगद हस्तान्तरण गरिएको छ । कार्यक्षेत्रमा पर्ने गाउँपालिकामा तीन वटा स्थानीय अनुकूलन कार्य योजना निर्माण गरिएको छ ।
परियोजनाको कार्यक्षेत्र तातोपानी, तिला र हिमा गरी तीन वटा गाउँपालिकाका १० वडाका तीन हजार ५ सय २६ घरधुरीका २१ हजार १ सय ५० जनसंंख्या लाभान्वित भएका छन् । कारोबार दैनिकबाट ।