नगरव्यापी समावेशी सरसफाइबारे पत्रकारहरुलाई अभिमुखीकरण

  वास खबर सम्वाददाता  651 पटक हेरिएको

काठमाडौ : नगरव्यापी समावेशी सरसफाइ Citywide Inclusive Sanitation (CWIS) बारे पत्रकारहरुलाई अभिमुखीकरण गरिएको छ । नगरव्यापी समावेशी सरसफाइ अवधारणाबारे पत्रकारहरुलाई यथेष्ट जानकारी गराई यसबारे क्षमता अभिबृद्धि गराउने र आफू कार्यरत सञ्चारमाध्यमबाट सरसफाइको बिषयमा सचेतना फैलाउन दिशा निर्देश गर्ने उद्देश्यले अभिमुखीकरण गरिएको हो ।

वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को सहकार्यमा नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा नेपालमा सरसफाइ अभियान, शहरी सरसफाइ सम्बन्धी कानुनी प्रावधानहरु, वर्तमान सरसफाइका अभ्यासहरुबारे चर्चा गरिएको थियो ।

यस्तै नगरव्यापी समावेशी सरसफाइ अवधारणा, सिद्धान्त र ढाँचा तथा सरसफाइ सेवा श्रृंखलामा नगरव्यापी समावेशी सरसफाइको दृष्टिकोणका बिषयमा पनि अन्तरक्रिया गरिएको थियो ।

तालिम प्रशिक्षक एवं एन्फोका कार्यक्रम व्यवस्थापक आश कुमार खाईतुले नेपालमा सैद्धान्तिक रुपमा सबैको घरमा चर्पी रहेको भनिए पनि व्यवहारिक रुपमा अझै पनि चर्पी नभएको घरपरिवार रहेको बताउनुभयो । उहाँले हाल हरेक नेपालीको घरमा एक घर एक चर्पी अर्थात आधारभूत तहको सरसफाइ सुविधा भएको अवस्थाबाट माथि उक्लिनु पर्ने बताउनुभयो ।

‘सुरक्षित तथा व्यवस्थित सरसफाइ त्यस्तो सरसफाइ सुविधा हो, जहाँ अन्य घरधुरीसँग नबाँडिएको सुदृढ सरसफाइका सुविधाहरु प्रयोग गरिएको हुनुपर्दछ । जसमा मानव मलमूत्र यथास्थान (सेप्टिक ट्याङ्की) मा सुरक्षित विसर्जन गरिएको हुनुपर्छ वा अन्य स्थानमा सुरक्षित तरिकाले ढुवानी गरी प्रशोधन गरिएको हुनुपर्छ ।’ उहाँले भन्नुभयो ।

कार्यक्रम व्यवस्थापक खाईतुले कमजोर शहरी सरसफाइका कारण भूमिगत पानीको प्रदुषण हुने, असुरक्षित तरिकाले चर्पीको सेप्टिक ट्याङ्क रित्याउने, ढल निकास प्रणाली चुहिने लगायत कारणले जनस्वास्थ्यमा ठूलो असर परिरहेको बताउनुभयो ।

अर्का प्रशिक्षक एवं पत्रकार राजेश घिमिरेले पनि पत्रकारले सरसफाइको बारेमा समाचार लेख्दा परम्परागत तरिकालाई बिर्सेर जनस्वास्थ्यको दृष्टिकोणबाट आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

अभिमुखीकरण कार्यक्रममा टेलिभिजन, रेडियो र अनलाइनमा कार्यरत पत्रकारहरुको सहभागिता थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार