सेप्टिक ट्याङ्की खाली गर्ने सफाइ श्रमिकको स्वास्थ्य अति जोखिममा

दिसाजन्य लेदोको भण्डारण र खाली गर्ने सेवाको प्रावधान सुधार गर्न के गर्ने ?

  वास खबर सम्वाददाता  786 पटक हेरिएको


काठमाडौ : दिसाजन्य लेदोले भरिएका सेप्टिक ट्याङ्की खाली गर्ने परम्परागत अभ्यासबाट सफाइ श्रमिकको स्वास्थ्य सुरक्षा जोखिममा रहेको पाईएको छ । सरसफाइ श्रमिकहरुले कपडाको टुक्रालाई मास्कका रुपमा प्रयोग गर्ने, सेप्टिक ट्याङ्क वा रिङ खाली गर्न साधारण औजारको प्रयोग गर्ने र दुर्गन्ध हटाउन खाडलमा मट्टितेल हाल्ने जस्ता कार्यले उनीहरुमा गम्भीर स्वास्थ्य जोखिम निम्त्याईरहेको अध्ययनको निष्कर्ष छ ।

‘खुलादिसामुक्त र शौचालय निर्माण पछिका कदमहरु’ का बिषयमा बर्दियाको गुलरिया नगरपालिकामा गरिएको एक अध्ययनले नगरपालिकाको सरसफाइ श्रमिकहरुको समेत मास्क, पञ्जा, सुरक्षित जुत्ता जस्ता व्यक्तिगत सुरक्षाका उपकरण र स्वास्थ्य वीमामा पहुँच नभएको पाईएको छ ।

शौचालयको संरचनाहरु भरिएपछि वा छताछुल्ल भएपछि मात्र खाली गर्ने, हतारमा छिटो र सस्तो विकल्प रोज्ने तथा कतिपय घरधुरी आफैले वा अनौपचारिक सरसफाइ श्रमिकको मद्दतले सेप्टिक ट्याङ्की/रिङ खाली गर्दा स्वास्थ्य जोखिम निम्त्याईरहेको अध्ययनको निष्कर्ष छ ।

वाटर एड नेपाल, ब्रिटिस काउन्सिल, युके रिसर्च एण्ड एनोभेसन, आईडिएस नेपाल, ब्राउन गोल्ड, इन्स्टिट्युड अफ डेभेलप्मेन्ट स्टडिज, ब्रिग्टोन युनिभर्सिटी लगायत संंस्थाले बर्दियाको गुलरिया नगरपालिकामा खुला दिसामुक्त र शौचालय निर्माण पछिका कदमहरुका बिषयमा हालै अध्ययन गरेको हो ।


अध्ययनमा संलग्न नेपाल इन्जिनियरिङ कलेजकी प्राध्यापक साबित्री त्रिपाठीले नेपालमा सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइ सम्बन्धी बिषयगत परामर्श गोष्ठीमा अध्ययनको निष्कर्ष प्रस्तुत गर्दै सैद्धान्तिक रुपमा नगरपालिकाले ३५ मिटरको सक्सन पाइप सहितको सक्सन ट्रकहरु प्रयोग गरेर सबै वडालाई रिङ वा खाडल खाली गर्ने यान्त्रिक सेवाहरु प्रदान गर्दै आएको बताए पनि जनस्तरमा यसबारे जानकारी नभएको पाएको बताउनुभयो । ‘यो सेवाको उपलब्धता, यसको प्रक्रिया र समेटिएका क्षेत्रहरुको बारेमा ग्रामीण भेगका घरधुरीहरुमा न्यून जानकारी रहेको पाईयो’ उहाँले भन्नुभयो ।

‘अनौपचारिक शहरी क्षेत्रका साँघुरा गल्लीका घरधुरीसम्म ट्रकहरु पुग्न सक्दैनन् । लागत, अग्रीम भुक्तानी र नगरपालिकामै गएर फारम भर्नुपर्ने आवश्यकताका कारण घरधुरीहरु यो सेवा खोज्नबाट हतोत्साहित छन् । चाँडो भरिने साना खाडल भएका घरधुरीलाई र घरी घरी खाली गरिरहनुपर्ने आर्थिक रुपले विपन्न घरधुरीहरुलाई उक्त लागत खास सरोकारको बिषय बनेको छ’ अध्ययन पश्चात प्रकाशन गरिएको ‘नीतिगत संक्षेप’ मा समेत यो कुरा उल्लेख छ ।

मानव मलमूत्रको पुनः प्रयोगमा चुनौती

रिङ/सेप्टिक ट्याङ्कबाट निकालिएका दिसाजन्य लेदोलाई खेत, वन वा नजिकै खनिएका खाल्डोमा सोझै विसर्जन गरिने हुँदा यसले मनसुनमा खानेपानीको प्रदुषणको जोखिम बढाउँछ । केही घरधुरीहरुले मलमूत्रको लेदो र जनावरको गोबर प्रयोग गरेर बायोग्यास प्रणालीबाट उर्जाको आवश्यकता पूरा गर्ने गरिए पनि यो पर्याप्त छैन । थारु समुदायमा धेरै प्रयोग हुने बायोग्यासको प्रयोग सामाजिक जातीय समूह अनुसार फरक पर्ने अध्ययनले देखाएको छ ।


सांस्कृतिक प्रचलनहरुले केही समुदायहरुलाई मलमूत्रको लेदो प्रयोग गरेर उत्पादन गरिएको बायोग्यासमा खाना पकाउनबाट रोक्ने गरिएको अध्ययन पश्चात प्रकाशित प्रतिवेदनमा उल्लेख छ ।

बायोग्यास उत्पादन उल्लेखनीय मात्रामा अतिरिक्त मल, जस्तै जनावरको गोबर उपलब्ध हुँदा मात्र उपयुक्त हुने स्थानीयबासी बताउँछन् । गुलरिया नगरपालिकाको वडा नंं ५ का बासिन्दा भनाइलाई उदृत गर्दै प्रतिवेदनमा उल्लेख गरिएको छ ‘गाई वा भैंसी भएमा मात्र बायोग्यास राम्रो हो, एक दिनमा कम्तीमा पनि १० किलो लेदो आवश्यक पर्छ । गाईवस्तु बिना, बायोग्यास हुनुको अर्थ छैन ।’

यस्तै वडा नंं ७ का बासिन्दाको भनाइलाई समेट्दै प्रतिवेदनमा छापिएको छ ‘हामीलाई बर्षौ टिक्ने सेप्टिक टयाङ्क चाहिन्छ । खाडल चाँडै भरिन्छ । हरेक ४ देखि ६ महिनामा । केही महिनामा नै यसलाई खाली गर्न पैसा तिर्नु त अत्ति नै हो ।’

अध्ययनले नियमन बिनाका चर्पीको खाडल खाली गर्ने कार्यले सरसफाइ श्रमिकहरुको स्वास्थ्य सुरक्षा सम्बन्धी जोखिम बढाउने निष्कर्ष निकालेको छ ।

दिसाजन्य लेदोको भण्डारण र खाली गर्ने सेवाको प्रावधान सुधार गर्न के गर्ने ?

दिसाजन्य लेदोको भण्डारण भण्डारण र खाली गर्ने सेवाको प्रावधानलाई सुधार गर्न निम्न उपायहरु अपनाउनुपर्ने अध्ययनको सुझाव छ ।


— सुरक्षित रुपमा खाली गर्ने, ओसारपसार र दिसाजन्य लेदो विसर्जनका लागि घरधुरीहरु र सेवा प्रदायकहरुलाई प्रोत्साहित गर्ने, असुरक्षित अभ्यासहरुलाई दण्डित गर्ने । यसलाई चेतना जगाउने र कार्यका साथ सहयोग गर्ने ।

— सेवा सुधार गर्न, घरधुरी आफैले दिसाजन्य लेदो खाली गर्ने कार्य घटाउन, प्रदुषणबाट जोगाउन र पेशागत स्वास्थ्य तथा सुरक्षाको संरक्षण गर्नका लागि उत्तम तरिका पत्ता लगाउन निजी तथा नगरपालिकामा काम गर्ने श्रमिकहरुको साथमा काम गर्ने ।

— सरसफाइ श्रमिकहरु विशेष गरी अनौपचारिक श्रमिकहरुको स्वास्थ्य, मर्यादा र अधिकारमा ध्यान दिने । सरसफाइ श्रमिकहरुलाई सम्मान, व्यक्तिगत सुरक्षा उपकरण, स्वास्थ्य वीमा र सामाजिक सुरक्षा प्रणालीको सुविधा दिइनुपर्ने ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार