नयाँ बजेटमा खानेपानी र सरसफाइ : यी हुन् आगामी बर्षको कार्यक्रम तथा योजना

  वास खबर सम्वाददाता  1619 पटक हेरिएको

काठमाडौ : सरकारले आर्थिक बर्ष २०८०/०८१ मा खानेपानी तथा सरसफाइ क्षेत्रको लागि २८ अर्ब १६ करोड बजेट विनियोजन गरेको छ । कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेटमा खानेपानी र सरसफाइ क्षेत्रको लागि २८ अर्ब १६ करोड बजेट मात्र परेको हो । यो कुल बजेटको १.६०७ प्रतिशत मात्र हो ।

खानेपानी र सरसफाइ क्षेत्रको लागि विनियोजन गरिएको यो बजेट चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा ९ अर्ब १९ करोड रुपैयाँ कम हो । गत बर्ष खानेपानी तथा सरसफाइ क्षेत्रको लागि रु. ३७ अर्ब ३५ करोड विनियोजन गरिएको थियो ।

सरकारले विनियोजन गरेको २८ अर्ब बजेटभित्र राष्ट्रिय अभियानको रुपमा सरसफाइ तथा स्वच्छता कार्यक्रम सञ्चालन गर्ने, पूर्ण सरसफाइयुक्त राष्ट्र निर्माणका लागि दिसाजन्य लेदो प्रशोधन गर्ने, फोहोरपानी प्रशोधन केन्द्रहरु निर्माण गर्ने देखि निर्माणाधीन खानेपानी आयोजनाहरु सम्पन्न गर्ने, १ सय स्थानीय तहको सरसफाइ गुरुयोजना तयार गर्ने, लगायत कार्यक्रम समेटिएका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा खानेपानी र सरसफाइ क्षेत्रको लागि प्रस्तुत गर्नुभएको बजेट वक्तव्य जस्ताको तस्तै :

खानेपानीतर्फ

–सबै नागरिकलाई आधार खानेपानी सेवाको पहुँच पुर्‍याई गुणस्तरीय खानेपानी सेवा बिस्तार गर्दै लगिनेछ । एक घर एक धाराको लक्ष्य प्राप्त गर्ने गरी खानेपानी आयोजना तथा कार्यक्रम सञ्चालन गरिनेछ । आगामी आर्थिक बर्ष आधारभूत स्तरको खानेपानी सेवा ९८ प्रतिशत, उच्च तथा मध्यम स्तरको खानेपानी सेवाबाट ३० प्रतिशत र प्रशोधन सहितको ढल प्रणाली सुविधाबाट ४.५ प्रतिशत जनसंख्या लाभान्वित हुने गरी खानेपानी तथा सरसफाइ कार्यक्रम अगाडि बढाईनछ ।

– पुराना र सञ्चालनमा समस्या रहेका खानेपानी आयोजनाको मर्मत पुनर्स्थापना कार्यका लागि १ अर्ब ३१ करोड विनियोजन गरेको छु ।

– मेलम्ची खानेपानी आयोजनाको अस्थायी हेडवर्क्सको स्तरोन्नति गर्दै बाह्रै महिना खानेपानी आपूर्तिको व्यवस्था मिलाईनेछ । मेलम्ची जलाधारको भौगोलिक अध्ययन प्रतिवेदनको सुझाव बमोजिम आयोजनाको दिगो सञ्चालनका लागि यस आयोजनाको दोस्रो चरण अन्तर्गत मेलम्चीमा याङ्री र लार्के जोड्ने गरी संरचना निर्माण कार्य अगाडि बढाईनेछ ।

– काठमाडौ उपत्यकामा खानेपानीको दिगो व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी र ठोस्ने खोला तथा भक्तपुरको महादेव खोलाबाट पानी आपूर्तिको सम्भाव्य अध्ययन अनुसन्धानको कार्य सम्पन्न गरिनेछ ।

– काठमाडौ उपत्यकाको चक्रपथ भित्र नयाँ वितरण प्रणाली मार्फत पानी वितरण गरिनेछ । दोस्रो चरण अन्तर्गत किर्तिपुर, ठिमी, भक्तपुर, जोरपाटी, टोखा, कपन र पेप्सीखोला क्षेत्रमा पाइपलाइन निर्माण कार्य सुरु गरिनेछ ।

– सुख्खाग्रस्त क्षेत्रमा सञ्चालित जलवायु अनुकुलित खानेपानी आयोजना अन्तर्गत आगामी बर्ष धादिङको गजुरी, चितवनको दिब्य नगर र भण्डारा, सुर्खेतको पञ्चपुरी र दैलेखको महावु लगायतका आयोजना निर्माण सम्पन्न गर्नका लागि २ अर्ब ५ करोड विनियोजन गरेको छु ।

– सुख्खाग्रस्त क्षेत्रमा सामुदायिक उपभोक्ता समूहद्वारा सञ्चालित खानेपानी आयोजनामा प्रयोग हुने विद्युत महसुल र डिमाण्ड चार्जमा छुट दिने व्यवस्था मिलाएको छु ।

– धरान र भरतपुरमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुरु गरिनेछ । सुर्खेत उपत्यकामा भेरी पम्पिङ खानेपानी आयोजना अगाडि बढाईनेछ ।

–नेपालगञ्ज, जनकपुर, धनगढी, लुम्बिनी लगायत शहरमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन कार्य सुरु गरिनेछ ।

–शहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत निर्माणाधीन काभ्रेको पाँचखाल, भक्तपुरको दधिकोट, भोजपुर बजार, सप्तरीको कन्चनपुर, सप्तकोशी तथा काठमाडौको डाँछी खानेपानी आयोजनाहरु आगामी आर्थिक बर्षमा सम्पन्न गरिनेछ । यस आयोजनाका लागि २ अर्ब ८४ करोड बजेट विनियोजन गरेको छु ।

–सहलगानी खानेपानी आयोजना अन्तर्गत संखुवासभाको चैनपुर, चितवनको जुटपानी, बाग्लुङको बाग्लुङ बजार, मोरङको टंकेसिनवारी, झापाको मेचीनगर लगायतका आयोजनाको निर्माण सम्पन्न गर्न १ अर्ब २८ करोड रुपैयाँ विनियोजना गरेको छु ।

–पानीको सतह तथा भूमिगत स्रोतको संरक्षण गर्दै खानेपानी आपूर्तिको दिगो व्यवस्थापन मिलाइनेछ । स्थानीय तहसँगको सहकार्यमा काठमाडौ उपत्यकाका विभिन्न स्थानमा ढुंगेधारा, इनार तथा परम्परागत पानीको मूल संरक्षण गरिनेछ ।

सरसफाइतर्फ

–राष्ट्रिय अभियानको रुपमा सरसफाइ र स्वच्छता कार्यक्रम सञ्चालन गरिनेछ । पूर्ण सरसफाइयुक्त नेपाल निर्माणका लागि दिसाजन्य लेदो व्यवस्थापन, फोहोरपानी प्रशोधन र सार्वजनिक शौचालय निर्माण गर्नका लागि बजेटको व्यवस्था गरेको छु ।

–काठमाडौको धोबीघाट निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याईनेछ । झापाको दमक, भक्तपुरको कटुञ्जे, ललितपुरको महालक्ष्मी, काठमाडौको भत्केपाटी ढल निर्माण तथा प्रशोधन आयोजना सम्पन्न गरिनेछ ।

–आगामी बर्ष थप १ सय स्थानीय तहको सरसफाइ गुरुयोजना तयार गरिनेछ । आगामी बर्षमा ३ सय स्थानीय तहको गुरुयोजना कार्यान्वयनमा लैजानेछ । काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौ उपत्यका खानेपानी लिमिटेड र आयोजना कार्यान्वयन निर्देशनालयको पुनःसंरचना गरी सम्पतिको दिगो व्यवस्थापन र सञ्चालन तथा प्रभावकारी नियमनको व्यवस्था गरिनेछ ।

–काठमाडौ उपत्यका खानेपानी लिमिटेडको वित्तिय र प्राविधिक क्षमता सुधार गरी खानेपानी सेवा वितरणको गुणस्तर बृद्धि गरिनेछ ।

–खानेपानी मन्त्रालयको लागि २८ अर्ब १६ करोड विनियोजन गरेको छु ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार