मेलम्चीको पानी दैनिक वितरण गर्न योजना बनाईदै

  वास खबर सम्वाददाता  1197 पटक हेरिएको

काठमाडौ : मेलम्चीको पानी दैनिक वितरण गर्ने तयारी भईरहेको छ । आयोजना कार्यान्वयन निर्देशनालयले विछ्याएको नयाँ पाइपबाट पानी वितरण गर्न पाए अहिले नै दैनिक पानी आपूर्ति गर्न सकिने काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत ई.मिलन कुमार शाक्यले बताउनुभयो ।

उहाँले बर्षैभरि मेलम्चीको पानी प्राप्त हुने र मेलम्ची खानेपानी आपूर्तिका लागि बिछ्याइएको नयाँ प्रणाली मार्फत खानेपानी वितरण हुने अवस्था आउने वित्तिकै उपभोक्तालाई दैनिक पानी उपलब्ध गराउने गरी योजना बनाईरहेको बताउनुभयो ।

तर आयोजना कार्यान्वयन निर्देशनालयले विछ्याएको एक हजार १० किलोमिटर वितरण सञ्जाल मध्ये आधाभन्दा कम मात्रै परिक्षण सकिएको छ । हालसम्म नक्साल, कमलपोखरी, दरबारमार्ग, नयाँ सडक, डिल्लीबजार, गौशाला, अनामनगर, तीलगङ्गा, चक्रपथ, बबरमहल, कोटेश्वर, नरेफाँट लगायत क्षेत्रमा मात्र नयाँ प्रणालीबाट पानी वितरण भईरहेको छ ।

नयाँ प्रणालीका तीन फाइदा

केयूकेएलले नयाँ प्रणालीबाटै पानी दिने योजना रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत शाक्यले वास खबरसँग भन्नुभयो ‘नयाँ प्रणाली बाट पानी वितरण गर्दा दुई वटा फाइदा तुरुन्तै हुन्छ । पहिलो फाइदा नयाँ पाइप बाट वितरण गर्न साथ चुहावट कम हुन्छ, धारामा लामो समयसम्म पानी आउँछ ।’ केयूकेएलले अहिले पुरानो पाइपबाट मेलम्चीको पानी वितरण गरिरहेको छ । पुरानो पाइपबाट पानी वितरण गर्दा झण्डै आधाजसो पानी चुहिएरै सकिने गरेको छ ।


पुरानो पाइपलाई मर्मत सम्भार गरेर राम्रो सँग पाइप दिउँ भन्दा ठूलो धनराशी खर्च हुने र पाइपको आयु नै सकि सकेको हुनाले त्यसमा जत्ति नै खर्च गरे पनि नयाँ जस्तो नहुने बताउनुभयो ।

‘दोस्रो फाइदा भनेको अहिले डिजाइन भएको पाइपलाइन व्यवस्थित छ । वैज्ञानिक तरिकाले डिजाइन गरिएको भएकाले कुन ठाउँमा कति घर छन् ? कति पानी आवश्यक पर्छ ? सबै हिसाब गरेर पाइपको आकार निर्धारण गरिएको हुनाले पर्याप्त र समानुपातिक तरिकाले पानी वितरण गर्न सक्छौं’ उहाँले भन्नुभयो ।

नयाँ प्रणालीबाट पानी वितरण गर्दा हुने फाइदा मध्ये अर्को ‘नन् रेभेन्यू वाटर’ को हिसाब रहने पनि हो । प्रमुख कार्यकारी अधिकृत शाक्य भन्नुहुन्छ ‘हामीले रिजर्भ्वायर ट्याङ्कबाट जत्ति पानी छोड्यौं, त्यत्ति पानीको हिसाब आयो कि आएन ? बाटोमा कतै चुहिएर गयो कि ? धारामा खुला छोडेर दुरुपयोग भईरहेको छ कि ? अथवा त्यहाँ मिटरले कति पानी आयो भनेर मापन गरिरहेको छैन कि भन्ने कुराको हिसाब दिन्छ । जसले गर्दा पानी खेर जान दिदैन ।’

काठमाडौ उपत्यकाको ३५ वटा मुहान र १०१ वटा ट्यूबवेलबाट भूमिगत पानी बोरिङ गरेर वितरण गर्दै आएको काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले हाल मेलम्चीको १७ करोड लिटर पानी पनि वितरण गरिरहेको छ ।

हाल केयूकेएलको १० करोड लिटर र मेलम्चीको १७ करोड गरी दैनिक २७ करोड लिटर पानी वितरण भईरहेको उहाँले बताउनुभयो । मेलम्ची बाहेकको पानी वितरण गर्दा सुख्खा याममा महिनामा ३ पटक मात्र वितरण गर्दै आएको केयूकेएलले अहिले दुई दिनको फरकमा खानेपानी वितरण गरिरहेको छ । काठमाडौ उपत्यकामा अहिले दैनिक ४३ करोड लिटर पानीको माग छ ।

याङ्री र लार्केको पानी पनि थप गर्न सके अहिलेकै जनसंख्यालाई दैनिक र २४ सैं घण्टा पानी वितरण गर्न सकिने शाक्यले बताउनुभयो ।

सरकारले आगामी आर्थिक बर्षको बजेटमा समेत मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्सको स्तरोन्नति गरी बाह्रै महिना खानेपानी आपूर्तिको व्यवस्था मिलाउन र याङ्री र लार्के खोलाको पानी ल्याउने गरी संरचना निर्माण गर्न बजेटको व्यवस्था गरेको जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार