काठमाडौ : बूढानीलकण्ठ स्कुलमा हिजोआज फोहोर हुँदैनन्, त्यहाँ मोहोर उब्जन्छ । फोहोर भन्दै फ्याँकिने वस्तुहरुको उचित व्यवस्थापन गर्न थालेपछि मोहोरमा परिणत भएको हो । विद्यालयमा जेरो वेष्ट (शून्य फोहोर) कार्यक्रमको सफल कार्यान्वयन पछि फोहोर विक्रीबाट बार्षिक ३ लाख २५ हजार रुपैयाँ आम्दानी गर्न थालेको स्कुलका प्रमुख प्रशासकीय अधिकृत काशिराम शर्माले बताउनुभयो ।
जेरो वेष्ट प्रोगामको कार्यान्वयन पछि मल बनाउन मिल्ने जत्तिलाई स्कुलकै हर्टिकल्चर फार्ममा लगेर मल बनाउने, सुँगुर बंगुरको दानामा उपयोग हुने जत्ति किसानलाई विक्री गर्ने र नसड्ने फोहोरको लागि मटेरियल रिकभरि फ्यासिलिटी (एमआरएफ) मा लगेरं बर्गीकरण गर्ने गरिएको शर्माले बताउनुभयो ।
उहाँका अनुसार उक्त काम गर्नका लागि एक जना कर्मचारीलाई जिम्मेवारी दिईएको छ । विक्री गरेको फोहोरको रकमले एक जना कर्मचारी राखिएको छ भने दुई जना कर्मचारीको तलब बराबरको आम्दानी भईरहेको छ ।
स्कुलमा जेरो वेस्ट प्रोग्राम शुरु भएपछि बूढानीलकण्ठ स्कुलले फोहोरलाई विक्री गर्न थालेको हो । त्यस अघि परम्परागत तरिकाले नै फोहोर बिसर्जन हुँदै आएको थियो ।
जेरो वेस्ट प्रोग्राम सञ्चालन पूर्वको अवस्था
विद्यालयमा जेरो वेष्ट प्रोग्राम सञ्चालन गर्नु अघि फोहोर व्यवस्थापनको अवस्था निक्कै नाजुक थियो । प्लाष्टिकजन्य चीज, सीसा लगायत निस्के जत्ति सबै फोहोरलाई खाल्डो खनेर राख्ने गरिन्थ्यो । फोहोर जम्मा हुँदै गएपछि त्यसलाई आगो लगाईदिने र त्यसपछि आउने धुँवा र दुर्गन्धका कारण बाहिर समुदायको समेत गुनासो हुने गरेको प्रशासकीय अधिकृत शर्माले सुनाउनुभयो ।
‘सड्ने नसड्ने फोहोर एकै ठाउँमा भईसकेपछि छिटो छिटो चाङ लाग्दै जान्थ्यो । फोहोरको थुप्रो बाँदरले छर्ने, चराहरु झुम्मिने, ठूलो संख्यामा काग आउने कराउने हुन्थ्यो । त्यो देख्दा कुनै ल्याण्डफिल साईटमा पो छौ कि ? जस्तो लाग्थ्यो ।’ उहाँले भन्नुभयो ।
बूढानीलकण्ठ स्कुलमा ११ सय ५० जना विद्यार्थी, ६५ जना शिक्षक र तिनका परिवार तथा अन्य कर्मचारी गरी करिब १४ सय जना बसोबास गर्छन् ।
यसरी सुरु भएको थियो जेरो वेष्ट
स्कुलको जग्गा विभिन्न काममा प्रयोग भईसकेकाले पहिले जस्तो फोहोर फाल्ने र जलाउने ठाउँको समेत अभाव हुँदै गएको थियो । त्यसैले बुढानीलकण्ठ स्कुल फोहोर व्यवस्थापन गर्ने भरपर्दो संस्थासँग सहकार्य गर्न चाहन्थ्यो ।
सोही क्रममा 500बी सोलुसन्स प्रा.लि. सँग सम्पर्क भयो । 500बी सोलुसन्सका डाइरेक्टर डा. मिङमा जी शेर्पा बूढानीलकण्ठ स्कुलका भूतपूर्व विद्यार्थी समेत हुनुहुन्छ । त्यसपछि उहाँकै अग्रसरतामा एवाग, एसडीसी, बूढानीलकण्ठ स्कुलको भूतपूर्व विद्यार्थीहरुको संगठन र बूढानीलकण्ठ स्कुल तथा 500बी सोलुसन्सको संयुक्त पहलमा जेरो वेस्ट प्रोग्राम शुरु भयो ।
जेरो वेष्ट प्रोग्राम, स्कुल हाताभित्र उत्पादन हुने फोहोर सकेसम्म स्कुल हाताभित्रै घटाउने, पुनः प्रयोग गर्ने र प्रशोधन गर्ने अवधारणा हो । बुढानीलकण्ठ स्कुलका भूतपूर्व विद्यार्थी समेत रहेका 500बी सोलुसन्सका डाइरेक्टर शेर्पा भन्नुहुन्छ ‘फोहोर रिड्युस गर्ने, रियुज गर्ने र रिसाईकल गर्ने काम स्कुलको हातभित्रै होस् र रिड्युस, रियुज रिसाइकल गर्दा पनि नहुने फोहोर मात्र बाहिर जाओस् भन्ने अवधारणा हो । जुन बूढानीलकण्ठ स्कुलमा भैरहेको छ ।’
जेरो वेस्ट प्रोग्रामको सुरुमा स्कुल परिसर भित्र उत्पादन हुने फोहोरको लेखाजोखा गरिएको थियो । फोहोरको प्रकार, फोहोरको मात्रा र व्यवस्थापनको अभ्यासबारे गरिएको सर्भेक्षणमा होस्टेल, कक्षा कोठा, शिक्षकको आवास क्षेत्रबाट मात्र दैनिक ९५ किलो मिश्रित फोहोर र भान्छा कोठाबाट दैनिक ४ सय ८८ किलो जैविक फोहोर उत्पादन भएको पाईएको 500बी सोलुसन्सकी स्यानिटेसन प्लानर योगिता राजचलले बताउनुभयो । उहाँका अनुसार ती फोहोर मध्ये दैनिक २० किलो फोहोर कवाडीलाई बिक्री गरी बाँकी ७५ किलो फोहोर जलाउने गरिएको भेटियो । जैविक फोहोर मध्ये दैनिक ३२४ किलो किसानले लैजाने र १४० किलो फोहोर फाल्ने गरेको भेटियो ।
जेरो वेष्ट प्रोग्रामको कार्यान्वयन
स्कुलमा उत्पादन हुने फोहोरको मात्रा र विसर्जनको अभ्यास एकीन भएपछि फोहोर व्यवस्थापनको कार्ययोजना बन्यो । कार्ययोजना अनुसार फोहोरको प्रकृति र आवश्यकताको आधारमा कलर कोडेड डस्टविनहरुको व्यवस्था मिलाइयो ।
फोहोरलाई घटाउने र स्रोतमै बर्गीकरण गर्ने बिषयमा स्कुलका विद्यार्थी, शिक्षक, कर्मचारी, सफाइ कर्मचारी, शिक्षकका परिवार लगायतलाई तालिम दिईयो । यस्तै नकुहिने फोहोरको बर्गीकरण र भण्डारण गर्न एम.आर.एफ निर्माण गरिएको डाइरेक्टर शेर्पाले बताउनुभयो ।
‘वेस्ट म्यानेज्मेन्टको सिस्टमलाई स्थापित गर्न स्कुलसँग मिलेर पूर्वाधार बनायौं । फोहोरको स्रोतमै बर्गीकरण गर्न त्यो खालको सिस्टम बसायौं ।’ डाइरेक्टर शेर्पा भन्नुहुन्छ ‘त्यहाँबाट फोहोर संकलन भएर आएपछि अर्गानिक फोहोरलाई के गर्ने ? इनअर्गानिक फोहोरलाई के गर्ने भनेर सिस्टम बसायौं । नकुहिने फोहोरहरुलाई बर्गीकरण गर्नका लागि फोहोर स्रोत केन्द्रको रुपमा मटेरियल रिकोभरि फ्यासिलिटी (एम.आर.एफ) निर्माण गर्यौं ।’
त्यसपछि शिक्षक परिवार, कर्मचारी, विद्यार्थी सबैले आ आफ्नो भूमिका अनुसार जेरो वेस्ट प्रोग्रामलाई कार्यान्वयन गर्न थाले । वातावरण क्लवले त फोहोरको उत्पादन, बर्गीकरण र संकलनको निगरानी देखि किचनबाट उत्पादित फोहोर घटाउन रचनात्मक कामहरु समेत गर्दै आएको छ ।
वातावरण क्लवका सभापति हर्षित साह भन्नुहुन्छ ‘किचन डाईनिङमा विद्यार्थीहरुलाई खाना खेर नफालौं भनेर अभियान चलाईरहेका छौं । जुन हाउसले सबैभन्दा थोरै खाना खेर फाल्छ, त्यो हाउसलाई पुरस्कृत गर्ने गरेका छौं ।’ अझ प्रोत्साहित गर्नका लागि लगातार जितिरहेकाहरुलाई अलि बढी पुरस्कार दिएर जेरो वेस्ट प्रोग्रामलाई सपोर्ट गर्ने र खाना खेर फाल्ने बानीलाई घटाउने काम गरिरहेको साहले बताउनुभयो ।
फोहोर बन्यो, यसरी मोहोर
स्कुलले फोहोर व्यवस्थापनका लागि चाहिने सबै पूर्वाधार र संरचना तयार गरेपछि फोहोर बिक्री गर्ने कम्पनीसँग फोहोर विक्रीको सम्झौता भयो । बुढानीलकण्ठ स्कुलका प्रमुख प्रशासकीय अधिकृत शर्मा भन्नुहुन्छ ‘एफआरएफ तयार भएपछि 500बी कै सहयोगमा फोहोर संकलन गर्ने भेण्डर खोज्यौं । उहाँहरुले खरिद गर्न सक्ने फोहोरको मूल्य सूची सहित प्रस्ताव पेश गर्नुभयो ।’
जसले सबै खालको फोहोर लैजान्छ उक्त कम्पनीलाई छनौट गरी अधिकतम विक्री हुने फोहोरलाई विक्री गर्ने र जोखिमयुक्त फोहोरलाई पनि छुटाएर उहाँहरुले नै व्यवस्थापन गर्ने गरी सम्झौता गरेको शर्माले बताउनुभयो ।
सम्झौता अनुसार दुई/चार दिनको फरकमा फोहोर संकलन गर्ने कम्पनीको गाडी बुढानीलकण्ठ स्कुलमै आईपुग्छ । त्यसपछि एम.आर.एफ. मा जम्मा भएको फोहोरको तौल अनुसार निर्धारित मूल्य तिरेर लैजाने गरिएको छ ।
जेरो वेस्ट प्रोग्रामको सफल कार्यान्वयन पछि बूढानीलकण्ठ स्कुलमा फोहोर जलाउने अभ्यासको अन्त्य भएको छ । फोहोर जलाउँदा हुने वातावरणीय प्रदुषण पूर्ण रुपमा हटेको छ भने रोजगारी सिर्जना भएको छ । जलाएर नष्ट हुने फोहोरले बर्षमा तीन लाख भन्दा बढी आम्दानी दिन थालेपछि दिगो व्यवस्थापनका लागि विद्यालय परिवार उत्साहित भएका छन् ।