जैविक फोहोर + दिसाजन्य लेदोको मिश्रण = फोहोरको प्रभावकारी र दिगो व्यवस्थापन

  वास खबर सम्वाददाता  1090 पटक हेरिएको

काठमाडौ : नगरपालिका भित्र उत्पादित कुहिने फोहोरबाट मल बनाउने वा बायोग्यास निकाल्ने कामको थालनी ठाउँ ठाउँमा भईसकेको छ । यस्तै दिसाजन्य लेदोलाई पनि प्रशोधन गरेर देशका विभिन्न ठाउँमा मल र बायोग्यास निकाल्न थालिएको छ ।

जैविक फोहोर मात्र प्रशोधन गरेर मल बनाउँदा १५ प्रतिशत मात्र मल उत्पादन हुने प्रयोगात्मक अभ्यासबाट प्रमाणित भएको छ । यस्तै दिसाजन्य लेदोको मात्र मल बनाउँदा ४० देखि ५० प्रतिशत मलमा परिणत हुने तर गुणस्तरको समस्या हुने देखिएको छ । जैविक फोहोर र दिसाजन्य लेदोको समिश्रण (को–कम्पोष्टिङ) गर्दा २५ देखि ३५ प्रतिशत मल उत्पादन हुने देखिएको छ ।

जैविक फोहोर र दिसाजन्य लेदोको छुट्टाछुट्टै मल बनाउँदा एकदमै प्रभावकारी हुने नेपालमै गरिएको एक अध्ययनले देखाएको छ । बर्दियामा गरिएको एक अध्ययनले जैविक फोहोर र दिसाजन्य लेदोको समिश्रणबाट मल बनाउँदा विरुवालाई चाहिने आवश्यक पोषक तत्व पर्याप्त हुने तथ्य प्रमाणित भएको छ ।

यत्ति मात्र नभई मानवीय स्वास्थ्यको दृष्टिकोणले समेत यो सुरक्षित र प्रभावकारी देखिएको छ । अहिले देखि नै कुहिने फोहोर र दिसाजन्य लेदोको समिश्रण गरी मल बनाउने वा बायोग्यास निकाल्ने हो भने वास क्षेत्रको लागि प्रभावकारी र दिगो व्यवस्थापनको अचुक उपाय हुनसक्छ ।

खानेपानी, सरसफाइ र स्वच्छता संयुक्त क्षेत्रगत समीक्षा अन्तर्गतको सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइ कार्य समूहको संयोजनमा खानेपानी मन्त्रालयले केही समय अघि आयोजना गरेको कार्यक्रममा फोहोर व्यवस्थापन विज्ञ डा. ढुण्डीराज पाठकले दिसाजन्य लेदो र जैविक फोहोरको मिश्रण गर्दा हुने फाइदाका बारेमा अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभयो ।


उहाँले दिसाजन्य लेदोको मात्र मल बनाउँदा इकोली र जुकाको फुल हुने र यसले जनस्वास्थ्यलाई असर पार्ने बताउनुभयो । तर दिसाजन्य लेदो र जैविक फोहोरको मिश्रण गर्दा स्वास्थ्यका लागि हानिकारक इकोली र जुकाको फुल दुवै नष्ट हुने देखिएको उहाँले बताउनुभयो ।

उहाँले जैविक फोहोर र दिसाजन्य लेदोलाई अलग गरेर हेर्नु भन्दा अब एकीकृत फोहोर व्यवस्थापनको अवधारणाबाट अगाडि बढ्नुपर्ने बताउनुभयो । यी दुवैको समिश्रण गरेर व्यवस्थापन गर्दा गुणस्तर पनि बृद्धि हुने र परिमाण पनि बढ्ने अध्ययनले देखाएको उहाँले बताउनुभयो ।

फोहोर व्यवस्थापन विज्ञ पाठकका अनुसार जैविक फोहोर मात्र प्रशोधन गरेर मल बनाउँदा १५ प्रतिशत मात्र मल उत्पादन हुने प्रयोगात्मक अभ्यासबाट प्रमाणित भएको छ । यस्तै दिसाजन्य लेदोको मात्र मल बनाउँदा ४० देखि ५० प्रतिशत मलमा परिणत हुने तर गुणस्तरको समस्या हुने देखिएको छ ।

तर जैविक फोहोर र दिसाजन्य लेदोको समिश्रण (को–कम्पोष्टिङ) गर्दा २५ देखि ३५ प्रतिशत मल उत्पादन हुने र विरुवालाई आवश्यक पर्ने पोषक तत्वको परिमाण पनि आपूर्ति हुने देखिएको छ ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार