देउखुरी : दाङको लमहीमा पूर्व पश्चिम राजमार्गदेखि पाँच सय मिटर उत्तरतर्फ फोहोर फाल्ने गरिन्छ। धेरै फोहोर जम्मा भयो भने फोहोरमै आगो लगाइन्छ। जब फोहोरमा आगो लगाइन्छ, आगोको धुवाँले लमही बजार धपक्कै ढाकेको हुन्छ। फोहोरमा लागेको आगोको धुवाँले निसासिने, आँखा पिरो हुने, आँखा चिलाउने जस्ता समस्या हुने गरेका छन्। यो समस्या लमहीका स्थानीयले लामो समयदेखि भोग्दै आइरहेका छन्।
लमही नगरपालिकाले लामो समयदेखि अजम्मरी सामुदायिक वन क्षेत्रलाई फोहोर फाल्ने डम्पिङ साइट बनाएको छ। फोहोरमैला व्यवस्थापनको कुनै पनि योजना नबनाएर वन क्षेत्रमा जथाभावी फोहोर फाल्दा वातावरण दुर्गन्धित बनेको छ। वनको खुला चौरमा छरपस्ट फालिएको सडेगलेका फोहोर खाँदा कैयौँ जङ्गली जनावरलाई समेत असर परेको छ। त्यही फोहोरको थुप्रोमा कवाड खोज्न जानेले आगो लगाइदिँदा आगो जङ्गल क्षेत्रमा फैलिएर क्षति पु-याउने गरेको छ। फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले फोहोरमैला व्यवस्थापन नियमावली–२०७० जारी गरे पनि नगरपालिकाले हालसम्म कार्यान्वयन गरेको छैन।
लमही बजारको फोहोर नगरपालिकाले सङ्कलन गरी जथाभावी वन क्षेत्रमा दुर्गन्ध बढेको हो। विभिन्न उद्योग, घर, पसलबाट निस्किने फोहोर जथाभावी फ्याँकिने गरिएको छ। गल्ने र नगल्ने दुवै प्रकारका फोहोर नगरपालिकाले एकै स्थानमा डम्पिङ गर्दै आएको छ।
गल्ने र नगल्ने फोहोर अलग अलग राख्नका लागि डम्पिङ साइटमा दुई वटा घर निर्माण भए पनि निर्माण गरिएका घर प्रयोगविहीन छन्। मानव स्वास्थ्यमा नै असर पर्ने गरी जङ्गलमा बोतल, लत्ताकपडा, प्लास्टिकजन्य वस्तु, स्वास्थ्य क्षेत्रमा प्रयोग भएका सुई, सिसी जथाभाबी फाल्ने गरिएको छ। यसरी जथाभाबी फोहोर पाल्ने कार्यबाट सामुदायिक वन क्षेत्रमा दुर्गन्ध बढेको अजम्मरी सामुदायिक वन उपभोक्ताको गुनासो छ। अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्माले फोहोरका कारण जैविक हरित पार्कमा समेत असर गरेको बताउनुभयो।
सामुदायिक वनको केही क्षेत्रफलमा जैविक पार्क निर्माण गर्नका लागि सङ्घ, प्रदेश सरकार र नगरपालिकाले लाखौँ बजेट विनियोजन गरेको छ। सोही स्थाननजिकै नगरपालिकाले फोहोरको डम्पिङ साइट बनाएको छ। जसका कारण जैविक पार्कमा प्रत्यक्ष असर परेको छ।
लमही नगरपालिका–५ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले अजम्मरी सामुदायिक वन क्षेत्रमा फालिने फोहोरले वातावरण प्रदूषण भएको स्वीकार गर्दै यसमा आफूहरूले विकल्पको खोजी गरिरहेको बताउनुभयो। वन क्षेत्रभित्र रहेको फोहोर ससाना खोल्साको नजिक भएकाले वर्षायाममा बगेर फेरि किसानका खेतमा जाने गरेको छ। लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले फोहोर व्यवस्थापनमा आफ्नो ध्यान गएको र केही समयपछि उक्त कामले गति पाउने जानकारी दिनुभयो। साभार गोरखापत्र दैनिक