तुलसीपुर उपमहानगरपालिका १९ मा रहेको झुल्के सामुदायिक वनमा १७ हेक्टर क्षेत्रफलमा गिद्ध संरक्षित वन छ । सामुदायिक वनका अध्यक्ष नन्दराम रोकाले त्यस वनबाट भएको आम्दानी सबै गिद्ध संरक्षणमा लगाइने गरेको बताउनुभयो । सोही क्षेत्रमा जटायु रेष्टुरेन्ट समेत रहेको छ । जहाँ मरेका गाईवस्तु गिद्धलाई खुवाउने गरिन्छ ।
सरकारले सन् २०२३ देखि २०२७ सम्म गिद्ध संरक्षण गर्नका लागि पञ्चवर्षीय योजना बनाएको छ । विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छन् । नेपालमा नौ प्रजातिका गिद्ध पाइने गरेका छन् । नेपालमा रैथाने प्रजातिका डङ्गर, सानो खैरो, सेतो, हिमाली, सुन र हाडफोर गिद्धसहित लामो ठुडे, खैरो र राज गिद्ध पाइन्छन् ।
दाङमा तुलसीपुर उपमहानगरपालिका –३ को सम्झना सामुदायिक वन, वडा नम्बर १९ को कालिका र भुल्के सामुदायिक वन, घोराही उपमहानगरपालिका –१ को चरिङ्गे साुमदायिक वन, शान्तिनगर वडा –३ मा रहेको विष्णुपुरा सामुदायिक वन, लमहीको कप्तानगञ्ज, राजपुर र राप्ती गाउँपालिकामा समेत गिद्धको गुँड रहेका छन् ।
गिद्ध संरक्षण राष्ट्रिय सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावतले नेपालमा सबैभन्दा बढी गिद्ध रहेको लुम्बिनी प्रदेशमा रहेको बताउनुभयो । उहाँले गिद्ध संरक्षणका लागि तीन करोड २८ लाख बजेट आए पनि सोही शीर्षकमा बजेट विनियोजन नभएको बताउनुभयो । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी गिद्ध दाङ जिल्लामा छन् ।
नेपाल पन्छी संरक्षण सङ्घका फिल्ड अधिकृत दिलीपचन्द ठकुरीका अनुसार नेपालमा ७६ जिल्ला डाइक्लोफेनाक मुक्त, समुदायस्तरबाट ७ ठाउँमा जटायु रेष्टुरेन्ट र एक ठाउँमा गिद्ध प्रजनन केन्द्र स्थापना भएसँगै सन् २००२ कै अवस्थामा गिद्ध सङ्ख्या पुग्न थालेको खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ ।
सन् २००६ मा नेपालमा पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनाक औषधि बिक्रीमा प्रतिबन्ध लगाइएको थियो । जुन औषधि प्रयोग गरेको मरेको पशुको आहारा खाँदा गिद्धको मिर्गौलामा असर परेर मर्ने गर्छन् ।