भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले स्वास्थ्य संस्थाबाट उत्सर्जन हुने फोहोरमैलाको लेखाजोखा गर्दैछ । नगर क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्थाहरु मध्ये ३ वटा स्वास्थ्य चौकी, १ वटा शहरी स्वास्थ्य क्लिनिक, नगर अस्पताल र १ निजी अस्पतालमा मूल्याङ्कन अध्ययनको कार्य अगाडि बढाउदैछ ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सत्य कुमार दुवाल, खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) शाखा संयोजक सुरेन्द्र लामिछाने र Fhi360 र एन्फोका प्रतिनिधिहरुको बीच भएको बैठकबाट उक्त कार्यको थालनी गर्ने निर्णय भएको हो ।
उक्त लेखाजोखाको आधारमा आगामी दिनमा नगरपालिकाले स्वास्थ्य संस्थाजन्य फोहोरमैला व्यवस्थापनमा प्रदुषण रहित प्रबिधि अबलम्बन गरी वायु गुणस्तर व्यवस्थापनमा योगदान पुग्ने विश्वास लिईएको छ ।
विगत केही वर्ष यता बढ्न थालेको काठमाण्डौं उपत्यकाको वायु प्रदुषणले जनस्वास्थ्यमा ठूलो असर परि रहेको छ । विश्व स्वास्थ्य संगठन (WHO) को तथ्याङ्क अनुसार काठमाण्डौं उपत्यकामा धुलोका कणहरुको बार्षिक औसत घनत्व विश्व स्वास्थ्य संगठनको स्वास्थ्य निर्देशिकामा उल्लेख भएको भन्दा दश गुणा उच्च रहेको देखिएको खानेपानी, सरसफाइ तथा स्वच्छता (WHO) शाखा संयोजक सुरेन्द्र लामिछानेले जानकारी दिनुभयो ।
मूलतः यातायातको साधन, फोहोर तथा खेतको सुकेको बोट जलाउने, ईट्टा भट्टा, कालकारखानाबाट निस्किएको धुँवा, बाटो र निर्माण सामग्रीहरुबाट निस्किएको धुलो आदिलाई वायु प्रदुषणको मुख्य कारकको रुपमा लिईन्छ ।
नेपालको तथ्याङ्क अनुसार वायु प्रदुषणले जनस्वास्थ्यमा अत्यधिक असर पारिरहेको छ । जस अन्र्तगत बढ्दो फोक्सोको क्यान्सर र दीर्घकालीन श्वासप्रस्वास सम्बन्धी रोगहरु मुख्य रुपमा रहेका छन् ।
द स्टेट अफ ग्लोबल एअर २०२० ले सन् २०१९ मा वायु प्रदुषणका कारण अनुमानित ४२ हजार एक सय जनाको ज्यान गएको छ । जुन सन् २०१५ (वि.स. २०७२) को महाभुकम्प भन्दा बढी हो । यसका साथै वायु प्रदुषण धेरै भएका क्षेत्रहरुमा बसोबास गर्ने कोभिड–१९ का विरामीहरुको मृत्यु हुने सम्भावना पनि उच्च रहेको प्रारम्भिक अध्ययनले देखाएको छ ।
USAID स्वच्छ हावा कार्यक्रम अन्तर्गत Fhi360 र वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) को सहयोगमा वायु गुणस्तर प्रबर्द्वनका लागि चाँगुनारायण नगरपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।