राजविराज : सप्तरीको राजविराजस्थित भगवती मन्दिर पोखरीमा शनिबार बिहान दुईवटा रबरको बोट बोटिङ्ग गरिएको छ । पोखरीमा फालिएका फोहोर निकाल्न सो बोटिङ गरिएको हो ।
एउटा बोटमा राजविराज नगरका कार्यवाहक प्रमुख इसरत परविन, सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापा, बरख गणका गणपति रमेश पाण्डे, राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङलगायत सञ्चारकर्मी सवार हुनुहुन्थ्यो । अर्को बोटमा नेपाली सेनाले बोटिङ्ग गरिरहनु भएको थियो ।
पोखरी, तलाउ, सागर, नदीमा बोटिङ्ग गर्ने प्राय पर्यटक नै हुने गर्छन् । भगवती पोखरीमा दुवै बोटका सवारी आज पर्यटक थिएनन् ।
दुवै रबर बोटमा सवारीले हातमा ग्लोब, लाइफ ज्याकेट भिरेर हातमा दाँते, कोदालो, फोहोर झिक्ने जाली बोकेका थिए । सवारीहरू पर्यटक नभई निकट भविष्यमा पर्यटकको आकर्षण बनाउन पानीभित्रको फोहोर सफा गर्न अभियानमा खटिनुभएको थियो ।
राजविराज नगरपालिका कार्यालयको अगुवाइमा नगरको मुटुमा रहेको धार्मिक महत्त्व बोकेको यस पोखरीलाई सरसफाइ गर्ने अभियान अन्तर्गत पोखरीको पानीभित्रको फोहोर सफाइमा जुटेको कार्यवाहक प्रमुख इसरत परविनले बताउनुभयो ।
पोखरीको पानीभित्र प्लास्टिक, बोतल, जलकुम्भी, घाँसपात, लत्ताकपडा, माटोको मूर्तिको ठडरी, श्राद्धकर्मपछि फालिएको नचाहिने सामग्री, माटोको भाँडाकुँडाजस्ता अनेकन् फोहोर भेटिने गरेको उहाँले बताउनुभयो ।
नगरवासीले फोहोर फाल्ने डम्पिङ साइडको रूपमा प्रयोग गर्दैआए पनि सरसफाइ भने कहिले पनि गर्दैन्थ्यो । सरसफाइमा सक्रिय वार्ड –७ का सदस्य रमानन्द देवले भन्नुभयो, “प्रत्येक वर्ष छठ नजिकिएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सहयोगमा नगरपालिका र केही सरसफाइ अभियन्ताको सक्रियतामा सफा गरिन्थ्यो । छठ सकिएपछि पोखरीलाई फेरि फोहोर फाल्न नै प्रयोग गर्दैआएको अर्को अभियन्ता विष्णु यादवको भनाइ छ ।
धार्मिक आस्था बोकेको भगवती पोखरी बहुउद्देश्यीय रूपमा प्रयोगमा ल्याएर नमुना बनाउने सङ्कल्पका साथ संविधान दिवसको अवसर पारेर सरसफाइ अभियानको सुरुवात भएको सप्तरीका प्रमुख जिल्ला अधिकार किरण थापाले बताउनुभयो । त्यसपछि साताको प्रत्येक शनिबार पोखरीको सफा पार्ने कार्यमा सहभागी भइरहेको उहाँले बताउनुभयो ।
जिल्लामा छठ पूजाको लागि मुख्य पोखरी यसैलाई मानिएको छ । छठ पूजामा थेगिनसक्नु अवस्था रहनेगरेको भगवती पोखरीमा बाह्रै महिना आएर रमाउने, घुमफिर गर्ने, एकछिन बस्ने, बोटिङ्ग गर्ने, रमाइलो गर्ने वातावरणसहित संरचना बनाउने योजनासहित सरसफाइ अभियानको सुरुवात गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङले जानकारी दिनुभयो ।
राजविराज आउने जोसुकै पर्यटकलाई पोखरीमा टिकाउने र बसाउनेखालको वातावरण सिर्जना भयो भने आन्तरिक आयस्रोत र रोजगारीको अवसर प्राप्त हुने सम्भावना रहेको उहाँले बताउनुभयो । पोखरीको डिलमा खुला दिसा, पिसाब तथा पानीमा जथाभाबी फालेको फोहोरले दुर्गन्धित बनेको भगवती पोखरी पस्न सकिने अवस्था थिएन ।
डिलको फोहोर सफा भएको छ, पानीको फोहोर खोज्न नेपाली सेनाका एक टोलीले बोट प्रयोगमा ल्याएको राजविराज नगरपालिकाका प्रवक्ता वार्ड ८ का अध्यक्ष जयनारायण मण्डलले बताउनुभयो । गोरखापत्र अनलाइनले यो खबर प्रकाशन गरेको छ ।
पोखरीलाई सरसफाइ गरेर मात्र हुँदैन, यसलाई आम्दानीको स्रोतको रूपमा प्रयोगमा ल्याउन सकिएमा सफा, सुग्घर, संरक्षण, संवर्द्धन हुने निश्चित रहेको प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले बताउनुभयो ।