बायोग्यास प्लाण्टबाट उत्पादित ग्यास पाइपलाइन मार्फत घरघरमा

  वास खबर सम्वाददाता  356 पटक हेरिएको

काठमाडौं : कैलालीको टीकापुर नगरपालिकामा ५५ घरधुरीमा बायोग्यास प्लाण्टबाट उत्पादित ग्यास पाइपलाइनबाट वितरण भइरहेको छ । नगरपालिका–५ स्थित सामुदायिक चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण गरिएको बायोग्यास प्लान्ट सञ्चालनमा आएपछि स्थानीयको घर–घरमा पाइपलाइनबाट ग्यास वितरण गरिएको हो ।

२०० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट उत्पादित ग्यास ५५ घरधुरीमा वितरण भईरहेको नेपाल ऊर्जा विकास कम्पनीले जनाएको छ । ग्यास प्लान्टको क्षमता १५० घरधुरीका लागि निर्माण गरिएको हो ।

घरमा पाइपलाइन बाट ग्यास पुगेपछि टिकापुर नगरपालिका २ सीतापुरका भुवन चौधरी निकै खुसी हुनुहुन्छ । दाउराकै भरमा जीवनयापन गर्दै आउनुभएका उहाँको घरमा पाइपलाइनबाट ग्यास उपलब्ध हुना थालेपछि खाना ग्यासमा पकाउन थालेको बताउनुभयो । ‘आर्थिक स्थितिले ग्यास सिलिन्डर किन्न सकिएको थिएन । दाउराकै भरमा अहिलेसम्म जीवनयापन हुँदै आएको थियो,अहिले घरमा पाइप लाइनबाट ग्यास पुगेको छ’उहाँले भन्नुभयो ।

स्थानीय धनादेवी चौधरी पनि ग्यास उपलब्ध भएपछि दाउरा ओसारि रहनु पर्ने दुःखका दिन सकिएको बताउनुहुन्छ । ‘दाउराको भरमा खाना पकाउन समस्या थियो’, अहिले एक घन्टामा खाना पाक्छ । समयमा काममा जान पाएको छ । भाँडाकुडा माझ्न पनि समय लाग्दैन । हाम्रा लागि नसोचेको भएको छ ।’उहाँले भन्नुभयो ।

ग्यास प्लान्ट परीक्षणमा रहेकाले नियमित भने छैन । अहिले दिनमा चार घन्टा ग्यास आउने गरेको स्थानीय फरहरि थारूले बताउनुभयो । कहिलेकाहीँ भनेको समयमा ग्यास नआउने र खाना पकाउँदै जाने हुँदा समस्या भएको भन्दै नियमित गर्नुपर्ने उहाँले बताउनुभयो ।

ग्यास प्लान्ट परीक्षणका क्रममा हुँदा स्थानीयले निःशुल्क ग्यास उपभोग गर्न पाएका छन् । दुई महिनादेखि परीक्षणका लागि ग्यास प्लान्ट सञ्चालनमा रहेको छ । ग्यास नियमित भए वर्षौदेखिको दाउराबाट खाना पकाउनुपर्ने बाध्यताको अन्त्य हुने स्थानीय बबिता चौधरीले बताउनुभयो ।

गौशालामा चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर त्यो ग्यास गाउँमा पठाउने गरिएको हो । ‘चौपायाको गोबरलाई सङ्कलन गरेर प्लान्टमा राख्छौँ । त्यसबाट प्रशोधन भएर ग्यास बस्तीमा जान्छ । त्यसबाट निस्केको गोबरलाई कम्पोस्ट मलका रूपमा बिक्री सुरु गरेका छौँ, सामुदायिक चौपाया व्यवस्थापन तथा प्रवर्द्वन समितिका अध्यक्ष लोकबहादुर बुढाक्षेत्रीले भन्नुभयो । गोबर पर्याप्त नभएकाले दिनमा चार घन्टा मात्रै ग्यास प्लान्ट सञ्चालन हुँदै आएको छ ।

गौशालामा कम्पोस्ट मल उत्पादन सुरु भइसकेको छ । मल भण्डारका लागि भण्डार कक्ष समेत नगरपालिकाले निर्माण गरेको छ । प्रशोधन भएर आएको गोबरबाट गड्यौला मल उत्पादनको तयारी भइरहेको बुढाक्षेत्रीले बताउनुभयो । ‘एकातिर मल बेचेर आम्दानी गर्न सकिन्छ भने अर्कोतिर स्थानीयलाई सहुलियत ग्यास वितरण गरेर, नगरपालिकाले एक वर्षको लागि परीक्षण कालका रूपमा सञ्चालनको जिम्मा दिएको छ । त्यो अवधिमा गौशालालाई व्यावसायिक गौशालाको रूपमा स्थापित गरेर छाड्छौँ ।’उहाँले भन्नुभयो ।

नगरपालिकाका इन्जिनियर नवराज जोशीले यसबाट नगरपालिका भित्रका सामुदायिक चौपाया व्यवस्थापन हुने, स्थानीयले ग्यास प्राप्त गर्नुका साथै खेतका लागि कम्पोस्ट मल समेत उत्पादन हुने बताउनुभयो ।

नगरपालिकाले उक्त बायो ग्यास प्लान्टबाटै बजार क्षेत्रबाट संकलन भएको फोहोरको व्यवस्थापन गर्ने तयारी समेत गरेको छ । त्यसका लागि बजार क्षेत्रमा कुहिने र नकुहिने फोहरको वर्गीकरण गरेर व्यवस्थापनका लागि डस्टबिनको व्यवस्था गरिएको नगरपालिकाका फोहोर व्यवस्थापन उपशाखा प्रमुख लोकबहादुर बुढाले बताउनुभयो । कुहिने फोहोरको वर्गीकरण गरी यसबाट समेत ग्यास उत्पादन भएपछि ग्यासको परिमाण बढ्ने अपेक्षा गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार