सरसफाइ र स्वच्छता व्यवहार परिवर्तनले संक्रमण रोकथाममा सघाउ

शीर्ष स्थानमा आउने झाडापखाला शून्यमा झर्‍यो

  वास खबर सम्वाददाता  480 पटक हेरिएको

सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ३ स्थित आग्रीगाउँ स्वास्थ्य चौकीमा दुई/तीन बर्ष पहिलेसम्म सरुवा रोगहरुको सूचीमा झाडापखाला पहिलो श्रेणीमा आउँथ्यो । सरुवा रोगको शीर्ष स्थानमा आउने तिनै झाडापखाला रोग अहिले शून्यमा झरेको छ ।

स्वास्थ्य चौकीका सिनियर अहेव झलक रावलका अनुसार अहिले यो अवस्था पूरै उल्टिएको छ । अहिले झाडापखालाका बिरामी आउँदै आउँदैनन् भन्दा पनि हुन्छ । ‘झाडापखालाका बिरामी आक्कल झुक्कल आउने गरेका छन् । अरु समयमा पनि मौसमी बिरामी मात्र आउने गरेका छन् ।’ उहाँले भन्नुभयो ।

झाडापखाला नलाग्नुमा समुदायमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी बानी व्यवहारमा आएको परिवर्तन ठान्नुहुन्छ सिअहेब रावल । ‘सबैको घरमा शौचालय छ, खानेपानी पनि घरघरै जसो पुगेका छन्, पानीको शुद्धिकरण गरेर मात्र पिउने, हात धोएर मात्र खाना खाने बिषयमा हामी नियमित कक्षहरु नै सञ्चालन गर्छौ’ रावलले भन्नुभयो ।

स्वास्थ्य संस्थामा उपचारका लागि आउने विरामीलाई मात्र होइन खोप केन्द्रमा खोप लगाउन आउने बालबालिकाका अभिभावकलाई पनि बारम्बार भनिरहेका हुन्छन् ।

नेपाल सरकार र यु.एस.ए.आई.डी.को आर्थिक सहयोगमा सञ्चालित USAID Health and Hygiene Activity (स्वच्छता परियोजना) मार्फत तालिम लिए पछि गाउँका महिला समूह, खोप केन्द्र लगायतका स्थलमा खानेपानी, सरसफाइ र स्वच्छता व्यवहार परिवर्तन सम्बन्धी विभिन्न कक्षहरु सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरसफाइ र स्वच्छता व्यवहार परिवर्तन सम्बन्धी सञ्चार ‘स्वच्छता परियोजना’ ले काम गर्ने महत्वपूर्ण क्षेत्र हो ।

परियोजनाले यस अन्तर्गत स्वास्थ्य संस्थाका कर्मचारीहरुलाई यस सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम दिईएको छ । सरकारले विकास गरेको संक्रमण रोकथाम सम्बन्धी तालिम प्याकेजलाई स्वास्थ्य संस्था व्यवस्थापन समिति, त्यहाँका स्टाफहरु, सरसफाइ कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविका सबैलाई तालिम दिने गरिएको स्वच्छता परियोजनाका सुर्खेत जिल्ला संयोजक बम बहादुर खड्काले बताउनुभयो ।

संक्रमण रोकथामका ५ सन्देश

आग्रीगाउँ स्वास्थ्य चौकीका सिअहेब झलक रावल एक जना बालकको स्वास्थ्य परिक्षण गरिरहनु भएको थियो । बंशाणुगत रोगको बिरामी ती बालक बेला बखत स्वास्थ्य चौकीमा आईरहने रहेछन् ।

बिरामी बालकका हजुरबुबा पनि सँगै हुनुहुन्थ्यो । स्वास्थ्यकर्मीले ती बालक र हजुरबुबालाई सँगै राखेर सम्बन्धित रोगको निदानको उपाय सँगै पानी उमालेर मात्र पिउन आग्रह गर्नुभयो । उहाँले हात धुनैपर्ने अवस्था, व्यक्तिगत सरसफाइ, शौचालयको सुरक्षित प्रयोगका बारेमा पनि बुझ्ने गरी बताएर पठाउनुभयो ।

स्वास्थ्य चौकीमा आउने हरेक बिरामीलाई सम्बन्धित रोगको निदानको उपाय सँगै ५ महत्वपूर्ण सन्देशहरु दिने गरिएको र यसको परिणाम क्रमशः देखिन थालेको उहाँले बताउनुभयो । ‘यहाँ आउने हरेक बिरामीलाई यी पाँच वटा सन्देश बताएकै हुन्छौं, यसको परिणाम स्वरुप प्रदुषित पानी र फोहोरी आनीबानीका कारण लाग्ने सरुवा रोगहरुमा क्रमशः कमी हुँदै गएको छ’ उहाँले भन्नुभयो ।

मुख्य पाँच सन्देशहरु :

√ सुरक्षित र स्वच्छ शौचालयको प्रयोग

√ महत्वपूर्ण समयमा साबुन र पानीले हात धुने

√ बच्चाको दिसाको सुरक्षित व्यवस्थापन

√ पिउने पानीको सुरक्षित भण्डारण र उचित प्रशोधन

√ व्यक्ति र महिनावारी स्वच्छता व्यवस्थापन

यी सन्देशहरु स्वास्थ्य संस्थामा उपचारका लागि आउने विरामीलाई मात्र होइन खोप केन्द्रमा खोप लगाउन आउने बालबालिकाका अभिभावकलाई पनि बारम्बार भनिरहेका हुन्छन् ।

आग्रीगाउँ स्वास्थ्य चौकी अन्तर्गत तीन वटा खोप केन्द्रहरु छन् । एउटा खोप केन्द्र स्वास्थ्य संस्थामा र बाँकी दुई वटा केन्द्र संस्था बाहिर छन् । ‘एउटा खोप केन्द्र झ्याँम भन्ने ठाउँमा छ त्यहाँ बडासिमल र वरपरका बासिन्दा आउँछन्’ सिअहबे रावल भन्नुहुन्छ ‘अर्को खोप केन्द्र लापुमा छ, त्यहाँ मौला, देउली लगायत गाउँका बासिन्दाले सेवा लिन्छन् ।’

यस्तै महिला स्वास्थ्य स्वयं सेविकाहरुले पनि यिनै सन्देशहरु घरघरसम्म पुर्‍याउनुहुन्छ । स्वास्थ्य स्वयंसेविकाहरुको मासिक बैठक हुन्छ । उक्त बैठकमा मासिक प्रतिवेदन बुझाउने र समय अनुसार व्यवहार परिवर्तन सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नका लागि परिचालन गरिरहेको उहाँले बताउनुभयो ।

यसरी महिलाहरु समूह, खोप केन्द्र, महिला स्वास्थ्य स्वयं सेविका र स्वास्थ्य चौकी मार्फत घर घरसम्म स्वच्छता व्यवहार अपनाउने बारेमा बारम्बार सन्देशहरु प्रसार भैरहेको स्वच्छता परियोजनाका जिल्ला संयोजक बम बहादुर खड्काले बताउनुभयो ।

स्वच्छता परियोजना यु.एस.ए.आई.डी.को आर्थिक सहयोगमा देव वर्क्स इन्टरनेसनले सन् २०१६ देखि कर्णाली प्रदेशको सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम, जाजरकोट, डोल्पा र लुम्बिनी प्रदेशको रुकुम पूर्व गरी सात वटा जिल्लाका २ सय ४८ वटा स्वास्थ्य संस्थामा सञ्चालन गरिरहेको छ ।

USAID Health and Hygiene Activity (स्वच्छता परियोजना) ले आग्रीगाउँ स्वास्थ्य चौकीमा खानेपानी आपूर्ति तथा सरसफाइ योजना समेत निर्माण गरेको छ । नेपानी आपूर्ति तथा सरसफाइ योजना अन्तर्गत पाइपलाइनको काम, शुद्धिकरण सहितको पानी भण्डारणको व्यवस्था, पुरुष, महिला तथा अपाङ्गता भएका व्यक्तिका लागि छुट्टा छुट्टै शौचालय र स्वास्थ्य चौकी भित्र हात धुने बेसिन, फिल्टर लगायतको व्यवस्था गरिएको हो ।

यसका लागि करिब १३ लाख रुपैयाँ लगानी भएको छ । ती मध्ये स्वच्छता परियोजनाले १० लाख ८९ हजार ९ सय ५४ रुपैयाँ बेहोरेका छन् भने कुल लागतको २ प्रतिशत मर्मत सम्भार कोषमा जम्मा गर्नुपर्ने रकम सहित सिम्ता गाउँपालिकाले २ लाख ६ हजार १ सय १९ रुपैयाँ लगानी गरेको छ ।

स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र स्वच्छता सुविधा आपूर्ति गरी स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने र खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी परम्परागत व्यवहार परिवर्तनद्वारा संक्रमण न्यूनीकरण तथा रोकथाम गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार