फोहोरबाट व्यवसायिक उर्जा उत्पादन देशैभर, यातायातको साधनमा प्रयोग गर्ने लहर

  पी.टी.लोप्चन  403 पटक हेरिएको

√ धरानमा पेट्रोलबाट चल्ने टेम्पोहरु हिजो आज ग्याँसबाट चल्छन् । फोहोरबाट उत्पादित ग्यासबाट टेम्पो गुड्न थालेको ८ महिना भन्दा बढी भईसकेको छ । पेट्रोलको मूल्य बढिरहेको बेला फोहोरबाट उत्पादित ग्यासले नै टेम्पो कुद्ने भएपछि टेम्पो सञ्चालकलाई ढुङ्गा खोज्दा देउता मिले झैं भएको छ ।

√  धरानमा जस्तै सुर्खेतको बीरेन्द्रनगर नगरपालिकामा पनि फोहोरबाट उत्पादन भएको ग्यासबाट टेम्पो चलाउन थालिएको छ । परिक्षणको रुपमा ७ वटा टेम्पोबाट सुरु भएको यो काम अब १५ वटा टेम्पोमा विस्तार गर्ने तयारी भैरहेको छ ।

√ झापाको दमक नगरपालिका वडा नं. २ मा नेक्स्ट इरा इनर्जीले उत्पादन गर्न थालेको ग्यास पनि सवारी साधनमै प्रयोग गर्ने तयारी भईरहेको छ । एक बर्ष अघि नै ग्यास उत्पादन गरेको कम्पनीले यातायातको साधनमा प्रयोग गर्न आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ ।

फोहोरबाट ठूलो परिमाणमा ग्यास उत्पादन गरी व्यवसायिकता दिन थालेको धरान, सुर्खेत र दमकले मात्र होइन, विश्व बैंकको सहकार्यमा वैकल्पिक उर्जा प्रबर्द्वन केन्द्र र निजी क्षेत्र मिलेर ग्यास उत्पादनको लहर धनगढी, नवलपरासी, झापाको सुरुङ्गा, स्याङ्जा, दाङको घोरही, कास्कीको कोत्रे, चितवन लगायत स्थानमा समेत चलेको छ । कतिपय कम्पनीले ग्यास उत्पादन गरी विक्री वितरण गर्न थालेका छन् भने कतिपय उत्पादनको चरणमा छन् ।

सरकारले नवीकरणीय उर्जाबाट चल्ने सवारी साधनलाई प्राथमिकता दिन थालेकाले सवारी साधनलाई लक्षित गरी कार्य योजना बनाएको प्रबन्ध निर्देशक खतिवडाले बताउनुभयो ।

फोहोरबाट उर्जा उत्पादनको कामले शहरी क्षेत्रमा उत्सर्जन हुने फोहोरको स्थायी व्यवस्थापन हुने, पेट्रोलियम पदार्थको आयातमा कटौती हुने, पर्यावरण सन्तुलनमा मद्दत पुग्ने, रोजगारीको अवसर सिर्जना हुने, माटोको गुणस्तर बढाउने र स्वस्थकर खाद्य उत्पादनमा समेत टेवा पुग्ने जस्ता थुप्रै सकारात्मक परिवर्तन ल्याउने जानकारहरु बताउँछन् । तर फोहोरलाई व्यवसायिकतामा रुपान्तरण गर्ने काम त्यत्ति सजिलो भने छैन ।

सबैको टार्गेट सवारी साधनमै

झापाको दमकमा फोहोरबाट उत्पादित मिथेन ग्यास पाइप लाइनबाट त्यहीको बजार क्षेत्रमा वितरण गर्ने योजना थियो । पाइपलाइन निर्माण लगायतको पूर्वाधार निर्माण हुन नसक्दा उत्पादित ग्यास जलाएर पनि नष्ट गरियो ।

अहिले भने लगानीकर्ताहरु सवारी साधनमा प्रयोग गर्ने निश्कर्षमा पुगेका छन् । ग्यासको पाइप लाइन निर्माण गर्न सरकारले साथ नदिएपछि ग्यासलाई बजार क्षेत्रमा चल्ने टेम्पोमा प्रयोग गर्ने र कम्पोष्टलाई दानादार मल बनाएर बिक्री गर्ने निश्कर्षमा पुगेको नेक्स्ट ईरा इनर्जी प्रा.लि.का प्रबन्ध निर्देशक विमल खतिवडाले बताउनुभयो । कम्पनीले दमक नगरपालिका क्षेत्रमा उत्पादन हुने फोहोरको समेत व्यवस्थापन गर्दै आएको छ ।


उहाँका अनुसार ग्यास प्लाण्ट पूर्ण क्षमतामा सञ्चालन गर्न दैनिक ३० टन फोहोर आवश्यक पर्छ । यसबाट २६ सय किलो ग्यास उत्पादन हुन्छ । यसलाई प्रशोधन गर्दा ११ सय किलो मिथेन ग्यास निस्कन्छ । जसबाट ६ सय टेम्पोलाई आवश्यक पर्ने ग्यासको आपूर्ति हुन्छ । टेम्पोमा ग्यासको प्रयोग गर्न सके दैनिक २४ सय लिटर पेट्रोलको आयातलाई घटाउँछ ।

३० टन फोहोर प्लाण्टमा हाल्दा १० टन मल पनि निस्किन्छ । यसबाट दानादार मल र झोल मल पनि बनाउन सकिन्छ । ‘कम्पनी अहिले यही दिशामा अगाडि बढेको छ, यसका लागि लगानी जुटाउने प्रयास भईरहेको छ’ उहाँले भन्नुभयो ।

पेट्रोल तथा डिजेलका गाडीहरुको आयात क्रमशः कम हुँदै गएको र सरकारले नवीकरणीय उर्जाबाट चल्ने सवारी साधनलाई प्राथमिकता दिन थालेकाले सवारी साधनलाई लक्षित गरी कार्य योजना बनाएको प्रबन्ध निर्देशक खतिवडाले बताउनुभयो ।


कुल २२ करोड लागत अनुमान गरिएको बायोग्यास प्लाण्टका लागि विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण लागत बढेर ३० करोड नाघिसकेको प्रबन्ध निर्देशक खतिवडाले बताउनुभयो । विभिन्न उपकरण खरिदका लागि अझै ७/८ करोड रुपैयाँ लगानी गर्नुपर्नेछ ।

प्लाण्ट एण्ड मेसिनरी खरिदमा लागेको १४ करोड ६९ लाख रुपैयाँ मध्ये ४० प्रतिशत रकम बैकल्पिक उर्जा प्रबर्द्वन केन्दको अनुदान बाहेक सबै लगानी कम्पनीको रहेको उहाँले बताउनुभयो ।

सुर्खेतको केपी व्यवसायिक सेवा प्रा.लि. र धरानको भेन्चर वेस्ट टु इनर्जी प्रा.लि.द्धारा उत्पादित ग्यासबाट यस अघि नै टेम्पो चलाईरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार