स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनका लागि अत्याधुनिक इन्सिनेरेटर सञ्चालन

फोहोर जलाउँदा निस्किने धुँवालाई पानीमा परिणत गर्ने

बिर्तामोड : स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन गर्न झापाको बिर्तामोड स्थित मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालले इन्सिनेरेटर सञ्चालनमा ल्याएको छ । यसअघि अस्पतालजन्य फोहोर जमिनमुनि गाड्दै आइरहेको मनमोहन मेमोरियल अस्पतालले बिर्तामोड–२ स्थित सहिद स्मृति प्रतिष्ठान क्षेत्रमा इन्सिनेरेटर सञ्चालन गरेको हो ।

पूर्वाधार सहित २० लाख लागतमा फोहोर जलाउने मेसिन (इन्सिनेरेटर) प्रयोगमा ल्याएको मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल व्यवस्थापन समितिका सचिव रोमणी भट्टराईले जानकारी दिनुभयो । भारतको सोलिडटेक वेस्ट एण्ड डिस्पोजल प्रालिद्वारा निर्मित उक्त इन्सिनरेटर वातावरणमैत्री रहेको बताउँदै उहाँले उक्त मेसिनमा फोहोर जलाउन इन्धन वा विद्युतको आवश्यकता नपर्ने बताउनुभयो।

इन्सिनरेटरमा फोहोर राखेर आगो सल्काए मात्र पुग्ने हुँदा शून्य लागतमा फोहोर जलाउन सकिने उहाँको भनाइ छ । यो प्रविधि सफल भए अस्पताललाई चुनौतीको रूपमा रहेको फोहोर व्यवस्थापन सहज हुने बताउनुभयो । इन्सिनरेटेरमा धातुजन्य र सिसा बाहेकका फोहोर जलाउन मिल्ने अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष रविन कोइरालाले जानकारी दिनुभयो ।

कम लागतमा फोहोर व्यवस्थापन गर्न सकिने देखेर इन्सिनेरेटर जडान गरिएको उहाँको भनाइ छ । अस्पतालले जडान गरेको उक्त इन्सिनेरेटरमा एक पटकमा एक सय किलो फोहोर हाल्न सकिने र उक्त फोहोर जल्न एक घण्टा लाग्ने उहाँले बताउनुभयो । इन्धन र विद्युतबिना नै सञ्चालन हुने इन्सिनरेटरबाट एक घण्टामा एक क्विन्टल फोहोर व्यवस्थापन गर्न सकिने बताउनुभयो । अस्पतालमा हप्ताको दुई ट्रयाक्टर फोहोर उत्पादन हुँदै आएको छ ।

प्रदुषणयुक्त धुँवालाई पानीमा परिणत गर्ने

भारतको सोलिड टेक वेस्ट एण्ड डिस्पोजल प्रालिका सञ्चालक पप्पु सरकारले इन्सिनरेटरबाट उत्सर्जन हुने धुँवामा कार्बन मोनोअक्साइड ०.२ प्रतिशत र कार्बनडाइअक्साइड ०.४ प्रतिशत मात्र हुने भएकाले वायु प्रदूषण कम हुने बताउनुभयो ।

इन्सिनरेटरमा पानीको प्रयोग हुने र त्यहाँ जडित प्रविधिले पानीको सहारामा प्रदूषित धुँवालाई छानेर फोहोर पानीसँगै बाहिर पठाउने उहाँले जानकारी दिनुभयो ।

एक वर्षसम्म मेसिनको ग्यारेण्टी हुने र तीन वर्षसम्म कुनै सर्भिसिङ गर्नु नपर्ने उहाँको भनाइ छ । तीन वर्षपछि सामान्य सर्भिसिङ गर्दा हुने र त्यसका लागि एक डेढ लाख खर्च हुने उहाँले जानकारी दिनुभयो । ४५ फिट उचाइ भएको इन्सिनेरेटरको क्षमता प्रति घण्टा एक सय केजी फोहोर जलाउने रहेको छ ।

कम्पनीका प्रतिनिधीले बताए अनुसार २४ घण्टा सञ्चालन हुने इन्सिनरेटरले जलेको फोहोरबाट धुवाँ प्रशोधन गरेर प्रदूषण नहुने धुवाँ मात्रै बाहिर निकाल्छ भने प्रदूषणजन्य धुवाँलाई पानीमा परिणत गरेर पाइप मार्फत बाहिर निकाल्छ ।

फोहोर जलाउनका लागि एक जना व्यक्ति भए पुग्ने र एक सय केजी फोहोरबाट दुई केजी खरानी बाहिर आउने कम्पनीले जनाएको छ । खरानीलाई खेतबारीमा प्रयोग गर्न सकिन्छ ।

खरानीको ल्याब परीक्षण गरेर कृषि उत्पादनका लागि मलको रूपमा प्रयोग गर्न सकिने र उक्त खरानीलाई बालुवा र सिमेन्ट मिसाएर इँटा बनाउन पनि सकिने कम्पनीकाप्पु सरकारले बताउनुभयो ।

अस्पतालले जडान गरिएको इन्सिनरेटरको प्रभावकारिता अध्ययन गरेर पालिकाले पनि जडान गर्ने निर्णय गर्ने बिर्तामोड नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईंले बताउनुभयो ।

नगर प्रमुख प्रसाईंले उक्त प्रविधिको सहयोगबाट बजारको फोहोर समेत व्यवस्थापन गर्न सकिने बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार