दिसाजन्य लेदोको व्यवसायिकता, निजी क्षेत्रको लगानीमा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण

कुखुरा, गाईवस्तु र मानव मलमूत्र पेलेर मल उत्पादन

  पी.टी.लोप्चन  604 पटक हेरिएको


रुपन्देहीको बुटवल उपमहानगरपालिका १० का याम थापाले सेप्टिक ट्याङ्क सफाइ व्यवसाय गर्न थालेको २५ बर्ष भयो । बीस बर्षभन्दा बढी समय खोला किनारमै बिसर्जन गर्नु भएका थापा र उहाँका सहकर्मीहरु मिलेर अहिले दिसाजन्य लेदोलाई प्रशोधन गरी जैविक मल उत्पादन गरिरहनु भएको छ ।

छरिएर रहेका सफाइ व्यवसायीहरुलाई एकत्रित गरी थापाकै अध्यक्षतामा बुटवल सेनेटरी प्रा.लि.नामक कम्पनी स्थापना भएपछि दिसाजन्य लेदो, कुखुराको सुली र गाईवस्तुको गोबरलाई प्रशोधन गरी जैविक मल उत्पादन गर्न थालेको हो ।

यसका लागि कम्पनीले बुटवल उपमहानगरपालिका १० रामनगरमा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गरेको छ । प्रशोधन केन्द्रमै मल उत्पादनका लागि चाहिने संरचना निर्माण र मेसिन जडान गरी मल उत्पादन गर्न थालेको कम्पनीका अध्यक्ष याम थापाले बताउनुभयो । । कम्पनीले हाल दैनिक ८० हजार देखि १ लाख लिटर दिसाजन्य लेदो संकलन गरी एक देखि डेढ टन मल उत्पादन गर्दैै आएको छ ।


मानव मलमूत्रलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने र यसबाट केही प्रतिफल पनि लिने उद्देश्यले दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण एवं मल उत्पादनको काम थालेको उहाँको भनाइ छ ।

अध्यक्ष थापाका अनुसार दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण, मेसिन खरिद, केन्द्रसम्म जाने पहुँच मार्ग निर्माण, विद्युत जडान लगायतमा गरी डेढ करोड भन्दा बढी लगानी भैसकेको छ । कम्पनीले बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका क्षेत्रको सेप्टिक ट्याङ्क खाली गरी दिसाजन्य लेदोको प्रशोधन गर्दै आएको छ ।

प्रतिबन्धले बन्यो प्रशोधन केन्द्र

याम थापा र उहाँको समूहले सेप्टिक ट्याङ्कबाट निकालेको दिसाजन्य लेदो शिवनगर सामुदायिक बन हुँदै बग्ने सुकौरा खोलामा फ्याँक्दै आएको थियो । समुदायिक बनले व्यवसायीबाट प्रति गाडी मासिक ५ हजार रुपैयाँ रोयल्टी लिन्थ्यो ।

आफ्नो व्यवसाय चले यसबाट अरुलाई जस्तो सुकै असर पुगोस् व्यवसायीले यसप्रति वास्ता गरेकै थिएनन् । निर्वाध रुपमा सरसफाइ व्यवसाय चलिरहेकै बेला सामुदायिक बनले आफूहरु विरुद्ध मुद्दा परेको भन्दै दिसाजन्य लेदो फ्याँक्न नदिने निर्णय सुनायो । यो २०७८ सालको कुरा हो ।


कम्पनीका अध्यक्ष थापा भन्नुहुन्छ ‘सामुदायिक बनले आफ्नो व्यवस्था आफै गर्नुस् भने पछि सफाइ व्यवसायीहरुको भेला बस्योे । त्यो भेलामा कम्पनी गठन गरी व्यवसाय सञ्चालन गर्ने बारे छलफल भयो ।’

यो समस्या आफूहरुको तहबाट मात्र समाधान हुन नसक्ने देखेपछि सफाइ व्यवसायीहरु ज्ञापन पत्र बोकेर बुटवल उपमहानगरपालिका कार्यालयको ढोका ढक्ढक्याउन पुगे । व्यवसायीले जग्गाको व्यवस्था मिलाए अन्य प्राविधिक सहयोग मात्र गर्न सकिने नगरपालिकाको जवाफले अरुको मुख ताकेर बस्ने होइन भन्ने लागेर ‘बुटवल सेनेटरी प्रा.लि.स्थापना भएको अध्यक्ष थापा बताउनुहुन्छ ।

त्यसपछि जग्गाको खोजी हुन थाल्यो । अध्यक्ष थापाले सामुदायिक बन महासंघको विभिन्न भुमिकामा काम गरिसक्नु भएकोले सामुदायिक वनहरुसँग नै सघन छलफल हुना थाल्यो । अन्त्यमा बुटवल १० मा रहेको रामनगर सामुदायिक वनको विद्युत प्रसारण लाइन मुनिको खुला ठाउँ उपयोग गर्ने सहमति भयो ।

जग्गा प्राप्ति भएपछि समस्या समाधान हुने अपेक्षा गरेका व्यवसायीले एक पछि अर्को समस्याको सामना गर्नु परेको कम्पनीका अर्का सेयर होल्डर धर्मेन्द्र राना बताउनुहुन्छ ।

प्राविधिक ज्ञान नहुँदा लगानी बढेको बढ्यै

धर्मेन्द्र राना, न उहाँ प्राविधिक बिषयको ज्ञाता हुनुहुन्छ न त त्यसभन्दा अगाडि निर्माणको क्षेत्रमा नै काम गर्नुहुन्थ्यो । तैपनि युट्युब हेरेकै भरमा दिसाजन्य लेदो प्रशोधनका विभिन्न मोडलहरु निर्माण गर्नुपर्ने बाध्यता आईलाग्यो ।


‘सेप्टिक ट्याङ्क खाली गरेर त ल्याईयो, अब कसरी फाल्ने ? चिन्ता त्यहाँ भयो’ राना भन्नुहुन्छ ‘जंगलको बीचमा छौं, त्यत्तिकै खुला ठाउँमा फाल्न पनि भएन, त्यसपछि युट्युबमा सर्च गर्न थालें ।’

एउटा समस्याले अर्को सिकाइको बाटो तय भए पनि परिक्षण सफल नहुँदा लगानी बढेको उहाँको अनुभव छ । सुरुमा २०×३० फिटका ५ वटा खाडलहरु खन्ने र त्यसैमा लेदो खन्याउने सल्लाह बमोजिम ५ वटा खाडल खनेर लेदो विसर्जन गर्न थालेको उहाँले सुनाउनुभयो । ‘एउटा पोखरीले एक महिना थेग्नेछ, पाँचौ पोखरीमा पुग्न पाँच महिना लाग्नेछ र पाँच महिनामा पहिलो पोखरीको मल तयार भईसक्छ भन्ने अपेक्षा थियो, तर त्यसो भएन ।’

उहाँ दिसाजन्य लेदो व्यवस्थापनको फरक फरक प्रणालीका बिषयमा सुनाउँदै हुनुहुन्छ । ‘एउटा पोखरीले दश दिन पनि नथेगे पछि त्यसलाई पुरेर अर्को प्रविधि अपनाउने सल्लाह भयो ।’ त्यत्तिबेला पाँच वटा खाडल खन्न भन्दा पुर्न बढी रकम लागेको उहाँले सुनाउनुभयो ।

पोखरीले काम नगरेपछि दिसाजन्य लेदो खन्याउन ड्राइङ बेड र तरल पदार्थ प्रशोधन हुने गरी संरचना निर्माण गरियो । यसपटक निर्माण गरेको संरचनाले काम त ग¥यो तर दिसाजन्य लेदोको परिमाणको तुलनामा प्रशोधन केन्द्रको क्षमता कम भयो ।

हाल कम्पनीसँग भएका सात वटा ट्याङ्कर मार्फत दैनिक ८० हजार देखि १ लाख लिटर दिसाजन्य लेदो संकलन हुँदै आएको छ ।

राना भन्नुहुन्छ ‘इन्जिनियरिङ बिना निर्माण गरिएको संरचनाले पनि काम त गरेकै थियो, १५×२० फिटको ड्राईङ बेटले कति पो धानोस् र ?’ त्यसै बीचमा समाजबाट समेत विरोध आएको उहाँले सुनाउनुभयो ।


अब व्यवसाय यसरी चल्दैन भन्ने सबैलाई लागिसकेको थियो । समुदायबाट टाढा भएपनि समुदायले विरोध गर्न थालिसकेका थिए । दिसाजन्य लेदो प्रशोधनको एक पछि अर्को मोडेल पनि फेल खाएपछि अन्य उपयुक्त प्रविधिको खोजीमा पुनः जुट्न थाले । यत्तिञ्जेलसम्म दैनिक सात वटा ट्याङ्करले कमाएको रकमले मात्र नपुगेर थप लगानी समेत भईसकेको थियो ।

युट्युबमै खोजी गर्ने क्रममा गोबर मल र सुली पेलेर कम्पोष्ट मल उत्पादन गर्ने (डिवाटरिङ) मेसिनमा दृष्टि पुग्यो । जसले गोबर र सुली घोलेर बनाएको लेदोलाई पानी जत्ति एकातिर र मल जत्ति अर्को तिर छुटाउँथ्यो । यो देखेपछि दिसाजन्य लेदो, कुखुराको सुली र गोबरलाई घोल्दा कसो नहोला त भनेर मेसिन मगाउने निधो भयो । कम्पनीका अध्यक्ष याम थापा भन्नुहुन्छ ‘भए हुन्छ, नभए जान्छ भनेर १०/१२ लाखको बाजी लगायौं । मेसिन जडान गर्दा १२ लाख रुपैयाँ लाग्यो ।’


मल बनाउने मेसिन जडान गरेपछि दिसाजन्य लेदो व्यवस्थापनको पाटोमा सफल भईसकेको अध्यक्ष थापाको दाबी छ । उहाँ भन्नुहुन्छ ‘हामीलाई अब मल बनाउँदा निस्किने तरल पदार्थ व्यवस्थापन र मलको बजारीकरण मात्र गर्नुछ । मलको बजारीकरण हुनेमा म आशावादी छु । हामीले नमुनाको लागि फिल्ड प्रदर्शनी गरेका छौं । त्यसले राम्रै प्रतिफल दिनेछ ।’

दैनिक एक देखि डेढ टन मल कसरी उत्पादन हुन्छ ? भोलिको अंकमा …………..


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार