धुलिखेल अस्पतालबाट उत्पादित फोहोरपानी प्राकृतिक तवरबाटै प्रशोधन

झण्डै ७ हजार मानिसले उत्पादन गर्ने फोहोरपानीको प्रशोधन

  पी.टी.लोप्चन  477 पटक हेरिएको


√  धुलिखेल अस्पतालबाट निस्किने फोहोरपानी विगत २६ बर्षदेखि प्राकृतिक तवरले प्रशोधन गरी विसर्जन गर्दै आएको छ । सन् १९९६ मा दैनिक २५ हजार लिटर प्रशोधन क्षमताबाट सुरु गरेको प्रशोधन केन्द्रले हाल दैनिक २ लाख लिटर फोहोरपानी प्रशोधन गर्न सक्छ ।

√  हेटौडा औद्योगिक क्षेत्रभित्रका १ सय १६ वटा उद्योगले उत्पादन गर्ने फोहोरपानी पनि प्राकृतिक प्रशोधन विधिबाटै शुद्धिकरण गर्दै आएको छ । उद्योगहरुबाट निस्किने दैनिक ७ लाख लिटर फोहोरपानी प्रशोधन गरी औद्योगिक क्षेत्रले कर्रा खोलामा विसर्जन गरिरहेको छ । सन् २००३ मा डेनमार्क सरकारले ५४ करोड लागतमा प्रशोधन केन्द्र निर्माण गरेपछि फोहोरपानी प्रशोधन गर्न थालेको हो । त्यसअघि प्रशोधन नगरी सोझै खोलामा पठाउने गरिएको थियो ।

√ अस्पताल तथा औद्योगिक क्षेत्रमा मात्र होइन, प्राकृतिक तवरबाट प्रशोधन गर्ने प्रविधि घरायसी स्तरको फोहोरपानी प्रशोधनको लागि पनि उत्तिकै प्रभावकारी भईरहेको छ ।

रुपन्देहीको सैनामैना नगरपालिकाको वडा नं. ४ अस्नैया डाँडामा यस्तै प्रविधिको फोहोरपानी प्रशोधन केन्द्र निर्माण गरिएको छ । त्यहींको मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाद्धारा सञ्चालित प्रशोधन केन्द्रमा उपभोक्ताहरुको भान्छा, शौचालय तथा वाथ रुमबाट निस्किने फोहोरपानीको प्रशोधन भई घमाहा खोलामा विसर्जन हुने गरेको छ ।

‘प्राकृतिक प्रणालीमा आधारित फोहोरपानी प्रशोधन केन्द्र’ ले दिसा सहितको फोहोरपानी (कालो पानी) वा औद्योगिक फोहोरपानी (खैरो) लाई प्राकृतिक तवरले नै शुद्धिकरण गर्छ । यो प्रविधि मार्फत फोहोरपानी प्रशोधनमा कुनै पनि रसायनहरु प्रयोग नहुने भएकाले यसले वातावरणमा कुनै हानी पु¥याउँदैन । तर यसको भूबनावट भने मिलेको हुनुपर्छ ।

झण्डै ७ हजार मानिसले उत्पादन गर्ने फोहोरपानीको प्रशोधन

धुलिखेल अस्पतालमा विभिन्न पेशाका गरी १४ सय जना कर्मचारी छन् । ती मध्ये ८० प्रतिशत कर्मचारी दिनमा हुन्छन् । दैनिक १५ सय देखि २ हजार जना बिरामी बहिरिङ्ग सेवाका लागि आउँछन् । लगभग त्यत्ति नै संख्यामा विरामीसँग आउने आफन्त हुन्छन् ।

अस्पतालमा ४७५ शैया छन् । ती मध्ये ८० प्रतिशत बेड भरिँदा पनि ३ सय ८० जना भर्ना भएर बसेका बिरामी हुन्छन् । हरेक विरामीको एक जना मात्र कुरुवा गणना गर्दा ७ सय ६० जना हुन्छन् ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

धुलिखेल अस्पताल काठमाडौ विश्व विद्यालयको सम्बन्धन प्राप्त अस्पताल पनि भएकाले यहाँ स्कुल अफ मेडिकल साईन्सको पढाई पनि हुन्छ । यहाँ एमबीबीएस, बिडिएस, वि.एस्सी.नर्सिङ लगायत तहमा गरी दैनिक कम्तीमा पनि १५ सय जना विद्यार्थी अध्ययन गर्छन् ।

यसरी करिब ७ हजार मानिसहरुले शौचालय प्रयोग गर्दा उत्सर्जन हुने फोहोरपानी र दिसापिसाब, कपडा धुँदा निस्किने फोहोरपानी, प्रयोगशालामा उत्पादन हुने रसायन सहितको पानी र भान्छाबाट निस्किने यी सबै पानी प्राकृतिक प्रणालीमा आधारित फोहोरपानी प्रशोधन केन्द्रमै प्रशोधन हुन्छ ।


फोहोरपानी प्रशोधन केन्द्रको निर्माणमा समेत संलग्न धुलिखेल अस्पतालका इन्जिनियर राजाराम पराजुली भन्नुहुन्छ ‘सुरुमा त मलाई पनि विश्वास लागेको थिएन । यो कसरी हुन्छ ? ल्याबको केमिकलयुक्त पानी पनि आउँछ, लाउन्ड्रीको त्यत्ति धेरै पानी पनि आउँछ भन्ने लाग्थ्यो । तर यो सम्भव रहेछ ।’

सबै ठाउँको पानी एउटै पाइपमा जम्मा भएर बग्दै आउँदा दिसा पनि घोलिएर लेदो भैसक्ने र प्रशोधन प्रणालीमा प्रवेश भएपछि क्रमशः प्रशोधन हुँदै अन्त्यमा पानीमा रहेका अर्गानिक म्याटरहरु नर्कटले सोसेपछि पानी सफा हुने उहाँले बताउनुभयो ।


धुलिखेल अस्पतालको पूर्वाधार लगभग २ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । ती मध्ये झण्डै ३ रोपनी क्षेत्रफल फोहोरपानी प्रशोधन केन्द्रले ओगटेको छ ।

वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को प्राविधिक सहयोगमा अस्पतालको करिब डेढ करोड लगानीमा निर्माण भएको प्रशोधन केन्द्रले दैनिक २ लाख लिटर फोहोरपानी प्रशोधन गर्न सक्छ । अहिले दैनिक १ लाख २० हजार लिटर मात्र प्रशोधन गर्दै आएको छ । अस्पतालले यो प्रशोधन केन्द्र आगामी १०/१५ बर्षसम्मको अवस्थालाई धान्न सक्ने गरी निर्माण गरेको जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार