धुलिखेल : धुलिखेल अस्पताल क्षेत्रको भूगोल शीरमा सानो थुम्को जस्तो, बीचमा भिरालोपन र तल धाप परेको सम्म ठाउँ छ । प्रवेशद्धारबाट भित्र प्रवेश गर्न साथ बायाँ पट्टि ओपिडी भवन र दायाँतिर इमर्जेन्सी वार्ड तथा आईसियू भवन आउँछ । त्यसकै अघिल्तिर भिडियो एक्सरे भवन र अलि अगाडि बढेपछि थोरै भिरालो ठाउँमा बाल रोग केन्द्र भवन भेटिन्छ ।
बाल रोग केन्द्रबाट केही खुड्किलाहरु पार गरेपछि सुरु हुन्छ सम्म भुभाग, त्यहीँ सम्म परेको भुभागको बीचैमा छ हेलिप्याड । त्यस भन्दा बायाँतिर माथिपट्टिको लाइनमा दन्त केन्द्र, स्किल ल्याब भवन, डिएमआई लगायत भवनहरु छन् भने बायाँ पट्टि प्रसुती केन्द्र छ ।
प्रसुती केन्द्रतिर जाने बाटोको अघिल्तिरबाटै सुरु हुन्छ ‘फोहोरपानी प्रशोधन केन्द्र’ उल्लेखित सबै भवनबाट निस्किने फोहोरपानीलाई एकत्रित गरी एउटै क्यानलबाट ल्याएर प्रशोधन केन्द्रको मुखसम्म पुर्याईएको छ । जसलाई इन्लेट भनिन्छ ।
इन्लेट बाट प्रशोधन केन्द्रमा भित्रिएको फोहोरपानी कसरी प्रशोधन हुन्छ त ? इन्जिनियर राजाराम पराजुली भन्नुहुन्छ ‘फोहोरपानी इन्लेटबाट छिरेपछि त्यहाँ स्क्रीन च्याम्बर छ । ठोस पदार्थहरु त्यही स्क्रीनमा छानिन्छन् र हातको सहायताले बाहिर निकालिन्छ ।
स्क्रीन च्याम्बरबाट फोहोरपानी साईक्लोनमा प्रवेश हुन्छ । त्यहाँ ठोस पदार्थलाई थिग्रिन दिने र तैरिने चीज विस्तारै त्यसैमा अड्याएर पानी जत्ति सेटलर भन्ने च्याम्बरमा पठाईन्छ । सेटलरमा ४ वटा च्याम्बरहरु छन् ।
सेटलरको काम एक पछि अर्को च्याम्बरमा जाँदा थिग्रिनुपर्ने वस्तु जत्ति थिग्रिन दिनु हो । यसले अघिल्तिरको प्रणालीमा ठोस वस्तुहरु प्रवेश गर्न नदिई सेटलरमै थिग्राउने काम गर्छ ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
त्यसपछिको चरण हो, एनारोबिक ब्याफल रियाक्टर । त्यहाँ पुग्दा फोहोरपानीमा ठोस वस्तुको कुनै पनि अवशेष हुँदैन । यो ब्याक्टेरिया पाल्ने ठाउँ जस्तै हो । जहाँ २६ वटा साना साना च्याम्बरहरु बनाईएका हुन्छन् । त्यहाँ ब्याक्टेरियाहरु आएर बसोस् भनेर पोलिथिन पाइपहरुलाई टुक्रा टुक्रा पारेर राखिएको हुन्छ । ब्याक्टेरियाले फोहोरपानीमा भएको अर्गानिक कम्पोनेन्टहरुलाई डिकम्पोज गर्ने काम गर्छ ।
त्यहाँ डिकम्पोज भएको पानी त्यसपछि आफ्नै बहावमा विस्तारै होरिजेन्टल बेटमा जान्छ । यसमा नर्कट रोपिएको छ । नर्कटको जराले तल अक्सिजन दिन्छ र अक्सिजनको उपस्थितिमा त्यहाँ पनि क्याक्टेरियाले बाँकी अर्गानिक कम्पोनेन्टलाई डिकम्पोज गर्छ ।
अब त्यहाँ छानिएको पानी भर्टिकल बहावबाट भर्टिकल सिमसारमा जान्छ । त्यसपछि छानिएको पानी पोलिसिङ पोण्डमा पुग्छ । यसरी प्रशोधन गरिएको सफा पानी प्रशोधन केन्द्रको आउटलेट बाट नगरपालिकाको ढल हुँदै बाहिरिन्छ ।’
फोहोरपानी त सफा बनाएर नगरपालिकाको ढलमा बगाईने भयो । ठोस पदार्थको प्रशोधन चाहिं कसरी हुन्छ त ? इन्जिनियर राजाराम पराजुली भन्नुहुन्छ ‘फोहोरपानी प्रशोधनको क्रममा साईक्लोन र सेटलरमा थिग्रिएर बसेका ठोस पदार्थलाई बेला बेलामा फ्लस गरेर स्लज् ड्राईङ बेडमा पठाईन्छ । पानीको प्रेसरले ठोस पदार्थ जत्ति स्वाट्टै तानेर स्लज् ड्राईङ बेडमा पुग्छ ।’
प्रशोधन केन्द्र बन्यो रमणीय पार्क
प्रशोधन केन्द्रको बीच भागमा पानीको फोहोरा छ । वरपर विभिन्न जातका फूलहरु फूलिरहेका हुन्छन् । वरपर हिडडुल गर्नका लागि चौडा बाटो बनाईएको छ । बाटोमा ढुङ्गा तथा ईटा विछ्याईएको छ ।
प्रशोधन केन्द्रको अघिल्तिर पर्दछ प्रसुती भवन । गर्भवती महिलाहरु बिहान बेलुकी प्रशोधन केन्द्रलाई दुई÷चार फन्का मार्छन् । थकाई लागेमा टुसुक्क बस्नलाई ठाउँ ठाउँमा बेच्न पनि राखिएको छ ।
फोहोरपानी प्रशोधन केन्द्रलाई पार्कको रुपमा विकास गरेपछि सबैको आकर्षणको केन्द्र बनेको इन्जिनियर पराजुली बताउनुहुन्छ । पार्कमा एउटा टेन्ट पनि टाँगिएको छ । गर्मी भएमा टेन्ट भित्र बस्नलाई बेञ्च पनि राखिएको छ ।
उक्त ठाउँ फोहोरपानी प्रशोधन केन्द्र हो भन्ने कुरा जो कोहीले थाहै पाउँदैनन् । किनकि यसलाई सौन्दर्यीकरण गरेर पार्कको रुपमा विकास गरिएको छ । उहाँका अनुसार बेला बखत अस्पतालका प्रमुख समेत उक्त पार्कमा आएर समय विताउने गर्नुहुन्छ ।
अस्पतालले प्रशोधन केन्द्रको नियमित रेखदेख तथा हेरचाह गर्दै आएको छ । निश्चित समयको अन्तरालमा लेदोहरु ड्राईङ बेडमा पठाउने र बेडमा टाँसिएका लेउहरुलाई हटाउने, गिट्टी, बालुवालाई जालीले छानेर पुनः हाल्ने जस्ता कामहरु गरिदै आएको इन्जिनियर पराजुलीले बताउनुभयो ।
‘सबै प्रणालीले राम्रो सँग काम गरेपछि प्रशोधन केन्द्रमा कुनै गन्ध पनि आउँदैन । मानिसहरु यसलाई फोहोरपानी प्रशोधन केन्द्र होइन, पार्क सम्झिन्छन् र हामीले पनि त्यसरी नै विकास गरेका छौं’ इन्जिनियर पराजुलीले भन्नुभयो ।
के अन्यत्र अबलम्बन गर्न सकिन्छ ?
प्राकृतिक प्रणालीमा आधारित फोहोरपानी प्रशोधन केन्द्र अन्यत्र पनि निर्माण गरेर सञ्चालन गर्न सकिन्छ । यसमा कुनै पनि यान्त्रिक प्रणाली जडान नहुने भएकाले कम खर्चिलो र वातावरणमैत्री हुन्छ । तर भू–वनावट मिलेको र पानी बहने किसिमको थोरै भिरालो जस्तो हुुनुपर्छ ।
यसको लागि निर्माण हुने संरचनाले निक्कै जग्गा ओगट्ने हुनाले जग्गा पनि पर्याप्त हुनुपर्ने इन्जिनियर पराजुलीको सुझाव छ । उहाँ भन्नुहुन्छ ‘फोहोरपानी प्रशोधन केन्द्र बनाएर मात्र पनि हुँदैन, अन्तिममा पानी डिस्चार्ज गर्ने ठाउँ छ कि छैन त्यो पनि हेर्नुपर्छ ।’
उहाँका अनुसार आउटलेट नजिकै खोला, खोल्सी वा नगरपालिकाले ढल विछ्याएको छ भने त्यहाँ पठाउन सजिलो हुन्छ ।
प्रशोधन प्रणालीमा बर्षातको भल छिर्न दिनुहुँदैन । क्षमता भन्दा धेरै पानीको बहाव हुने भएकाले यसले प्रशोधन केन्द्रको संरचनालाई बिगार्छ । यसरी बनाएको प्रशोधन केन्द्रलाई खुल्ला क्षेत्र वा पार्कको रुपमा समेत विकास गर्न सकिने भएकाले प्राकृतिक प्रणालीमा आधारित फोहोरपानी प्रशोधन केन्द्रलाई सरकारले समेत प्रोत्साहन गर्नुपर्ने उहाँको सुझाव छ ।