तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ। गाउँपालिकाले २२ रोपनी आठ आना जग्गा खरिद गरी फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरेको हो।
जग्गा खरिद लगायत गरी फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणमा दुई करोड १५ लाख खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो। फोहरमैला व्यवस्थापन केन्द्रका लागि २१ करोडको गुरुयोजना तयार भएको छ। गाउँपालिकाले २०७८ चैत ९ गते स्थानीयवासीसँग ३३ लाखमा जग्गा खरिद गरेको थियो।
फोहरमैला व्यवस्थापनमा सकस हुँदै आएकाले फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ। अधिकांश स्थानीय तह त्यसमाथि पनि सहरीकरणको गतिमा बढेको पालिकालाई फोहरमैला व्यवस्थापनमा चुनौती हुँदै आएको छ । फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि फोहरमैला व्यवस्थापन धेरै हदसम्म सहज हुने म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो ।
गाउँपालिकाको बजार क्षेत्रमा संकलन हुने कुहिने र नकुहिने दुवै प्रकारका फोहोर उक्त संकलन तथा व्यवस्थापन केन्द्रमा जम्मा गरिने जनाइएको छ। अध्यक्ष श्रेष्ठले फोहर संकलन केन्द्रबाट कुहिने र नकुहिने फोहर छुट्याइने र कुहिने फोहरबाट मल उत्पादन गरिने र नकुहिने फोहरबाट अन्य उत्पादन गरी मोहर बनाइने बताउनुभयो।
गुरुयोजना अनुसार केन्द्रसम्म पुग्ने सडक कालोपत्र गर्न बाँकी छ। उपाध्यक्ष बालकृष्ण घिमिरेका अनुसार करिब पाँच हजार घरधुरीबाट फोहरमैला संकलन गरिनेछ। फोहर संकलनका लागि टिपरसमेत खरिद भइसकेको छ। फोहरमैला व्यवस्थापनका लागि सर्वसाधारणसँग न्यूनतम रु एक सय शुल्क लिइने उहाँले बताउनुभयो । केन्द्रमा तीन जनालाई रोजगारी दिइएको छ।
साप्ताहिक रूपमा सबै वडामा पुगेर फोहरमैला संकलन गरिने जनाइएको छ। छिमेकी पालिका व्यास र शुक्लागण्डकी नगरपालिकासँग समेत रोयल्टी लिएर त्यस ठाउँको फोहर यहाँ व्यवस्थापन गर्न सकिने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।
गाउँपालिकाको आन्तरिक स्रोतबाट उक्त डम्पिङ साइड निर्माण गरिएको हो। उक्त केन्द्र निर्माणको थालनी विसं २०८० वैशाख ३ गतेदेखि भएको थियो। शुक्लागण्डकी नगरपालिका–४ स्थित लाहुरे काइला बिल्डर्ससँग सम्झौता भई व्यवस्थापन केन्द्र निर्माण गरिएको हो।
गाउँपालिकाले हालै आयोजित गाउँसभाबाट वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन ऐन, २०८० पारित गरिसकेको छ। जिल्लाका दश स्थानीय तहमध्ये शुक्लागण्डकी नगरपालिकाले मात्रै यस अगाडि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरेको थियो। तर उक्त केन्द्र पनि सञ्चालनमा आउन सकेको छैन।
तनहुँको स्थानीय तहमा फोहरमैला व्यवस्थापनका लागि फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याईएको हो । जिल्लाका सबैजसो स्थानीय तहलाई फोहरमैला व्यवस्थापन गर्न समस्या हुँदै आएको छ। अधिकांश स्थानीय तहले सङ्कलित फोहरमैला नदी किनारमा विसर्जन गर्दै आएका छन् ।