कुहिने र नकुहिने फोहोर संकलन गर्न रङ्ग संकेत सहितको गाडी

  वास खबर सम्बाददाता  242 पटक हेरिएको

काठमाडौ : स्रोतमा वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्न काठमाडौँ महानगरपालिकाले रङ्ग संकेत सहितको गाडी तयार पारेको छ । फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्याउने र छुट्टिएको फोहोर छुट्टै संकलन, ढुवानी तथा व्यवस्थापन गर्ने कार्यक्रम कार्यान्वयनका लागि गाडीको व्यवस्था गरिएको हो ।

वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार ३.५ क्युविक मिटर क्षमता भएको गाडीको विचबाट २ खण्ड बनाइएको छ । हरेक खण्ड (कोठा) १.५ क्युविक मिटर क्षमताका छन् । ती कोठाको पछाडि र बिचमा गरी २ वटा ढोका छन् । यसमध्ये बिचमा राखिएको ढोकाबाट फोहोर संकलन गरिन्छ ।

बाहिरबाट हेर्दा गाडी २ रङ्गको देखिन्छ । कुहिने फोहोर संकलन गरिने कोठातिर हरियो छ भने नकुहिने तथा अन्य फोहोर संकलन गरिने कोठातिर नीलो रङ्ग राखिएको छ । श्रेष्ठका अनुसार कुहिने फोहोर संकलन हुने कोठामा करिब १ हजार ५ सय किलो फोहोर संकलन गर्न सकिन्छ । नकुहिने फोहोरको आकार ठूलो देखिए पनि तौल कम हुन सक्छ । त्यसैले यसमा चाहिँ सामानको प्रकृति हेरेर मात्र तौल अनुमान गर्न सकिन्छ ।

वडा नं. २७ बाट फोहोर वर्गीकरण 

फोहोर वर्गीकरणको नमूना कार्यक्रम वडा नं. २७ बाट कार्यान्वयन गर्ने तयारी थालिएको छ । यस क्रममा शनिबार सचेतनामूलक प्रभातफेरी निकालियो । वडाका जनप्रतिनिधि, सहरी योजना आयोगका सदस्य तथा पदाधिकारी, कर्मचारी, नगर प्रहरी, स्थानीय क्लव तथा टोल सुधार समितिका पदाधिकारी सहितको प्रभातफेरीले कमलाछी, असन, तँलाछि, ज्याथा, ठमेल, जमल, ग्वसिँफ लगायतका स्थानमा पुगेर घरदैलो कार्यक्रम गरिएको थियो । यस क्रममा भेटिएका स्थानीयले महानगरपालिकाको कार्यक्रमको प्रशंसा गर्दै आफूहरुले छुट्याएर मात्र फोहोर बाहिर निकाल्ने दायित्व पूरा गर्ने बताउनुभयो ।

यो वडाको जनसंख्या ५ हजार हो । यहाँ १ हजार ४ सय घरधुरी छन् । आवासीय र व्यापारिक क्षेत्र भएकोले कुहिने र नकुहिने दुवै प्रकारको फोहोर उत्पादन हुन्छ ।

फोहोर वर्गीकरणका विषयमा वडाध्यक्ष योगेश खड्गी भन्नुहुन्छ, ‘घरघरमा पुगेर फोहोर छुट्याउने विधि सिकाउँछौँ । फोहोर संकलन गर्न जाने कर्मचारीलाई छुट्टिएको फोहोर गाडीमा राख्ने प्रभावकारी तरिका सिकाउँछौँ । वडाबासीबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ । सहभागिताका लागि उहाँहरु इच्छुक हुनुहुन्छ । यी सबैकारणले कार्यक्रम सफल हुन्छ ।’

आउँदो एक हप्ता वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, छुट्याइएको फोहोरको नमूना संकलन गर्ने अभ्यास गरिनेछ । यसपछि कार्यक्रम पूर्ण कार्यान्वयनमा ल्याइनेछ । यो वडाको कार्यक्रम सफल बनाएर वडा नं. १२, ५, ६ लगायत वडामा विस्तार गर्दै लगिने विभागले योजना बनाएको छ ।

के हो, फोहोर वर्गीकरण

भान्छामा कुहिने र नकुहिने गरी २ खालको फोहोर जम्मा हुन्छ । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाडाँमा राख्नु वर्गीकरण हो । नकुहिने फोहोर उत्पादक आफैँले बेच्न सक्छन् । कुहिने फोहोर आफैँले पनि मल बनाउन सकिन्छ । मल बनाउन सकिएन भने महानगरपालिकाबाट फोहोर संकलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ ।

तरकारी (साग सब्जी), बढी धएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफुलका बोक्रा, खानेकुरा केलाउँदा आएको बस्तु, रुखका पात कुहिने फोहोर हुन् ।

यस्तै प्लाष्टिक, शिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको व्याग, बोतलहरु, फलाम आदि नकुहिने फोहोर हुन् ।

यससँगै सेनेटरी प्याड, डाइपर, बिषादिको खाली बोटल, म्यान नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोशाक (पीपीइ), पञ्जा, फुटेका सिसा, घर आँगल बढार्दा आएको धुलो तथा माटो पनि फोहोरका रुपमा संकलन हुन्छ । हिजो आज सहरी क्षेत्रमा सेनटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहोरको मात्रा बढ्दै गएको छ । यस्तो फोहोर कुहिने र नकुहिने फोहोर राख्ने भाँडाको नराखी अर्को छुट्टै भाँडामा राख्नुपर्छ ।

विभागले हरेक घर दैलोमा पुगेर फोहोर संकलन गर्ने रुट निर्धारण गर्ने, साधन तथा उपकरणको प्रबन्ध गर्ने, जनशक्ति परिचालन गर्ने, संकलन तथा व्यवस्थापन विधि सिकाउने, समुदायको सहभागिता बढाउने र कामको अनुगमन मूल्याङ्कनको योजना बनाइरहेको छ ।

यो खबर मेट्रो न्यूजबाट साभार गरिएको हो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार