काठमाडौ : राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा खानेपानी मन्त्रालय अन्तर्गतका निकायहरुले सम्पादन गरेका काम कार्वाहीका बिषयमा छलफल गरिएको छ । समिति सभापति माया प्रसाद शर्माको सभापतित्वमा बसेको बैठकमा आर्थिक बर्ष २०७८/०७९ र २०७९/०८० को बजेट वक्तव्यमा खानेपानी मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन कार्यान्वयनको अवस्थाको प्रगति एवं सो सँग सम्बन्धित बिषयमा छलफल गरिएको हो ।
समितिको बैठकको शुरुमा आर्थिक बर्ष २०७९/८० को बजेट वक्तव्यको बुँदा नं. १७५ को कार्यान्वयनको स्थितिका बिषयमा छलफल गरिएको थियो ।
आर्थिक बर्ष २०७९/८० को बजेट वक्तव्यको बुँदा नं. १७५ मा ‘राज्यको अभिभाराः एक घर एक धारा अभियान साकार पार्न प्रदेश र स्थानीय तहसँगको सहकार्यमा खानेपानी आयोजना सञ्चालन गरिनेछ । यो कार्यक्रम दलितहरुको उच्च घनत्व रहेको बस्तीहरुमा प्राथमिकताका साथ सञ्चालन गरिनेछ भन्ने उल्लेख छ ।
बजेट वक्तव्यको उक्त बुँदाको कार्यान्वयन अवस्थाका बिषयमा जवाफ दिदै खानेपानी मन्त्री महिन्द्र राय यादवले एक घर एक धारा अभियान निरन्तर रुपमा कार्यान्वयन हुने अवधारणा भएकाले यस अघि सामुदायिक धाराको अवधारणमा खानेपानी आयोजनाहरु सञ्चालन भैरहेको अवस्थामा हाल विभाग तथा प्रदेश अन्तर्गत सञ्चालित खानेपानी आयोजनाहरु सबै एक घर एक धारा नीतिमा निर्माण भैरहेको जानकारी गराउनुभयो । ‘आयोजना निर्माण गर्दा आयोजना भित्रका सबै दलित, गैह्र दलित बस्ती समेटिने गरिएको छ। आयोजना सम्पन्न हुँदा दलित लगायतको तथ्याङ्क नछुटाइ समग्र लाभान्वित जनसंख्याको लिने गरिएको छ’ मन्त्री यादवले ले भन्नुभयो ।
उहाँले वास प्रणाली मार्फत हालसम्म ११ लाख ३१ हजार ७ सय ९८ घरधुरीको तथ्याङ्क प्रविष्ट भई ती घरधुरीहरुको खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी वितरण अद्यावधिक गरिएको जानकारी गराउनुभयो ।
आर्थिक बर्ष २०७९/०८० कै बजेट वक्तव्यको बुँदा नंं १७६ को कार्यान्वयनका स्थितिका बिषयमा पनि खानेपानी मन्त्री महिन्द्र राय यादवले प्रस्तुत गर्नुभयो। बजेट बक्तव्यको बुँदा नं. १७६ मा मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौमा खानेपानी वितरण कार्य सुरु भैसकेको, मेलम्ची जलाधारको भौगोलिक अध्ययन प्रतिवेदनको आधारमा मेलम्ची खानेपानी आयोजनाको भरपर्दो पानी पथान्तरणको व्यवस्थापन मिलाईने, याङ्ग्री र लार्के खोलाबाट मेलम्ची खानेपानी वितरण प्रणालीमा पानी आपूर्ति गर्ने योजना कार्यान्वयन गरिने उल्लेख थियो ।
सो सन्दर्भमा कार्यान्वयनको स्थितिबारे जानकारी गराउँदै खानेपानी मन्त्री महिन्द्र राय यादवले मेलम्ची खोलामा आएको बाढी पहिरोका कारण अवरुद्ध हुन पुगेको मेलम्ची खानेपानी आयोजनामा २०७९ मंसिर १२ गते देखि अस्थायी रुपमा पानी पथान्तरण गरी प्रशोधन पश्चात काठमाडौ उपत्यकामा वितरणका लागि दैनिक १७ करोड लिटर पानी उपलब्ध गराउँदै आएकोमा यस बर्षको मनसुनको सम्भाव्य जोखिमलाई मध्यनजर राख्दै पानी पथान्तरण गर्ने कार्य रोकिएको, हालसम्म पनि अस्थायी रुपमै पानी पथान्तरण गरिएको, मेलम्ची खानेपानी आयोजनाको दिगो सञ्चालनका लागि एसियाली विकास बैंकको सहयोगमा क्यानेडियन परामर्शदाताबाट अध्ययन कार्य सम्पन्न गराई कन्सेप्ट डिजाइन प्राप्त भएको र उक्त कन्सेप्ट माथि विभिन्न सरोकारवालाहरु सँग छलफल भईरहेको जानकारी गराउनुभयो ।
यस्तै याङ्ग्री र लार्केमा भएको अध्ययनको पुनरावलोकन भइरहेको र यो आयोजनाको निर्माण कार्यमा सहयोग गर्न एसियाली विकास बैंकसँग अनुरोध भईरहेको जानकारी गराउनुभयो ।
बजेट वक्तव्यमा उल्लेख गरिएका बिषयहरुको कार्यान्वयनका स्थितिबारे उठेका जिज्ञासाहरुका बारेमा विभागीय प्रमुखहरुले थप प्रष्ट पार्नुभएको थियो । यस उपर उठेका जिज्ञासाहरुमा खानेपानी मन्त्रालयका सचिव सुरेश प्रसाद आचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र प्रसाद सापकोटा र मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले जवाफ दिनुभएको थियो ।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सरकारलाई राष्ट्रिय सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए, गरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय, सल्लाह दिन समेतका लागि गठन भएको हो ।
समितिले ऐनको उद्देश्य कार्यान्वयन गर्न ऐनद्वारा प्रत्यायोजित अधिकार बमोजिम नियमावली, विनियमावली, निर्देशिका, कार्यविधि, आदेश, मापदण्ड बने/नबनेको, बनेका ती प्रत्यायोजित विधायनहरु सिद्धान्त अनुरुप बने/नबनेको, राष्ट्रिय सभाको बैठकमा सरकारले व्यक्त गरेका आश्वासनहरु समयमै कार्यान्वयन भए,नभएका विषयहरुमा संसदीय भूमिका निर्वाह गर्दै आएको छ ।
राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन समितिमा भएको थप छलफल र त्यस उपर सम्बन्धित जवाफदेही निकायको जवाफ :
२०७९०८०-को-जवाफ २०७८०७९-को-जवाफ