अटोक्लेभ मेसिन खरिदका लागि गरिएको टेण्डर विरुद्ध उजुरी

ठूलो आर्थिक घोटाला भएको आशंकमा लेखा समितिले देखायो चासो

  वास खबर सम्वाददाता  324 पटक हेरिएको


धनगढी : अस्पतालको फोहोर व्यवस्थापन गर्न अटोक्लेभ मेसिन खरिदका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले गरेको टेण्डर विरुद्ध उजुरी परेको छ ।

सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिमा सो मेसिन खरिदबारे उजुरी परेपछि समितिले छानविन शुरु गरेको छ । अस्पतालमा आवश्यक नपरेको उपकरण खरिद गर्न जवरजस्ती अस्पताललाई माग फाराम भर्न लगाई खरिद गर्न लागिएको उजुरी परेको सामाजिक विकास समिति तथा प्रदेश सभा सदस्य प्रकाश बमले बताउनुभयो ।

‘अस्पतालमा जुन उपकरण छदैछ र थप चाहिएको छैन भन्दा पनि खरिद गर्न जोड तोडका साथ बल लगाइएको छ,’उहाँले प्रदेश सभा बैठकमा भन्नुभयो, ‘बजार मा त्यो मेसिन ५१ देखि ५२ लाखको बीचमा पाइन्छ । तर ९ करोडमा खरिद गर्न टेण्डर गरिएको छ । एउटा मात्रै कम्पनीको कागजपत्रको छलफलमा टेण्डर आव्हान गरिएको छ। उजुरी परेपछि अस्पताललाई चाहिदैन भन्दा भन्दै लिखित रुपमा माग गर्न लगाइएको छ।’

उहाँले समितिमा छानविन भइरहेकै समयमा केन्द्रले ठेक्का सम्झौता गर्न नहुने भए पनि सप्लायर्ससंग सम्झौता समेत गरेको बताउनुभयो । ‘हाम्रो समितिले त्यस विषयमा छानविन गरिरहेको छ,’ सांसद् बमले भन्नुभयो ‘तर आपूर्ति व्यवस्थापन केन्द्रले यसै बीचमा ठेक्का सम्झौता गरेको छ’

केन्द्रले चार वटा अस्पतालका लागि खरिद गर्न लागेको फोहोरमैला व्यवस्थापन उपकरणमा आर्थिक अनियमितता भएको उहाँको आरोप छ । उहाँले यसभित्र ठूलो घोटाला भएको र लेखा समितिले पनि चासो लिएकोले प्रदेश सरकारले पनि यस विषयमा छानविन गर्नुपर्ने बताउनुभयो । ‘उपकरण खरिदका लागि छ वटा टेण्डर परेका थिए,’ उहाँले भन्नुभयो ‘पाँच वटाको कागजपत्र नमिलेको भन्दै फालिएको छ र एउटाले सोझै ठेक्का पाउने गरी काम गरिएको छ । यसमा मिलोमतो पनि देखिन्छ । ठेक्का सम्झौता ३ प्रतिशत विलोमा मात्रै गरिएको छ।’

केन्द्रका प्रमुख डा. निरज अर्यालले अन्तराष्ट्रिय मापदण्ड अनुसार नै लागत अनुमान गरी बोलपत्र आव्हान गरिएको बताउनुभयो । उहाँले एक उपकरणमा दुई करोड देखि दुई करोड ५० लाखसम्म लागत लाग्ने दावी गर्नुभयो। केन्द्रले महाकाली प्रादेशिक अस्पताल, टीकापुर, बैतडी र बझाङ जिल्ला अस्पतालका लागि सो उपकरण खरिद गर्न टेण्डर गरेको जनाएको छ ।

टीकापुर अस्पताल र महाकाली अस्पतालले सो उपकरण गतवर्ष नै खरिद गरी सञ्चालनमा रहेको र थप उपकरण आवश्यक नरहेको बताएका छन् । टीकापुर अस्पतालमा २०७९ कात्तिकदेखि अटोक्लेभ मेसिन सञ्चालनमा छ । टीकापुरमा फोहोर निर्मलीकरण गर्नका लागि कोइकाले झण्डै आठ वर्षअघि एउटा एक सय ५२ लिटर क्षमताको अटोक्लेभ मेसिन अस्पताललाई दिएको थियो । विश्व स्वास्थ्य संगठनबाट थप अर्को २ सय लिटर क्षमताको अटोक्लेभ मेसिन ल्याएर फोहोर व्यवस्थापन गरिरहेको टीकापुर अस्पतालले जनाएको छ ।

‘दुई महिनादेखि हामीले अटोक्लेभ मेसिन जडान गरेर फोहोरको वर्गीकरण गर्ने, निर्मलीकरण गरेर जम्मा गरेका छौं’ अध्यक्ष झपटबहादुर सोडारीले भन्नुभयो ‘अहिले प्रदेश सरकारले हामीलाई आवश्यक नहुने उपकरण उपलब्ध गराउने तयारी गरेको छ ।’ महाकाली प्रादेशिक अस्पतालमा पनि गत वर्ष नै फोहोरमैला व्यवस्थापन उपकरण जडान भई फोहोरको व्यवस्थापन गरिरहेको जनाएको छ ।

केन्द्रका प्रमुख डा.अर्यालले चालु आर्थिक वर्षको बजेटमै अस्पतालको नाम किटान गरी फोहोरमैला व्यवस्थापन उपकरण खरिद गर्ने कार्यक्रम आएको हुनाले खरिद गरिरहेको बताएको खबर कारोबार दैनिकले प्रकाशन गरेको छ। उहाँले बोलपत्र आव्हान भई प्राविधिक मूल्यांकन समेत गरी सप्लाईको ठेक्का काठमाडौंको बानेश्वरमा रहेको एमएस लाइभ लाइन ट्रेड इन्टरनेश्नल प्राइभेट लिमिटेडलाई दिइएको बताउनुभयो।

सामाजिक विकास मन्त्रालयले चार वटा सो उपकरण खरिद गर्न नौ करोड बजेट विनियोजन गरेकोमा कम्पनीसंग सात करोड ३१ लाख ७२ हजारमा ठेक्का सम्झौता भएको डा. अर्यालले बताउनुभयो। उहाँले कुनै अस्पतालले आवश्यक नभएको पत्र पठाएमा अन्य अस्पतालमा सो उपकरणहरु जडान गरिने बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार