सामुदायिक वनको आम्दानीबाट खानेपानी योजना, ४२ घरपरिवार लाभान्वित

  वास खबर सम्वाददाता  388 पटक हेरिएको

दाङ : दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिका–३ लेकतापा निवासी ३० वर्षीया गमला पुनलाई खानेपानी भर्न बिहान ४ बजे उठ्नु पर्थ्यो। अझ सुक्खा समयमा त मध्यरातमै खोलामा लाइन लागिसक्थ्यो । गमला पनि गाउँले सँगै आधा रातमा खोला झर्नु पर्थ्यो ।

सरस्वती सामुदायिक वन उपभोक्ता समूहको लगानीमा खानेपानी आयोजना निर्माण भएपछि लेकतापाको ४२ घरपरिवारको खानेपानीको दुःख हटेको हो । अरुङखोलादेखि लेकतापासम्म पानी ल्याउन वन उपभोक्ता समूहको २१ लाख, बंगलाचुली गाउँपालिका–३ कार्यालयको तीन लाख ५० हजार लगानी भएको र उपभोक्ताले करिब चार लाख ८० हजार बराबरको श्रमदान गरेको निगलेनी खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाका अध्यक्ष शिवराज पाण्डेले बताउनुभयो ।

गाउँमा खानेपानी आयोजना निर्माणसँगै घरमा धारा आएपछि वषौँदेखिको खानेपानी समस्या हटेको पुनले बताउनुभयो । एक छोरा र दुई छोरीसहित परिवारको जिम्मेवारी सम्हाल्दै आउनु भएकी पुनलाई घरमै खानेपानीको धारा आएपछि राहत मिलेको छ । ‘श्रीमान् कमाउन इन्डियामा हुनुहुन्छ, घरमा छोराछोरी सानै छन्,’ उहाँले भन्नुभयो ‘त्यही भएकाले घरको सम्पूर्ण काम आफैले गर्नुपर्ने बाध्यता छ । त्यसैमाथि अँध्यारोमै उठेर खानेपानी ल्याउन खोला जानुपर्ने बाध्यता थियो तर अहिले घरमै धारा आएपछि सहज भएको छ ।’

गाउँमा खानेपानीको धारा नआउँदासम्म बिहान ३र४ बजे नै उठेर आधा घण्टा टाढा रहेको निगलेनीस्थित खानेपानीको मुहानमा पुग्नुपर्ने बाध्यता रहे पनि अहिले हटेको उहाँले बताउनुभयो । ‘वर्षौंपछि अहिले घरमै खानेपानीको धारा आएको छ । जसले गर्दा खानसँगै घरको काममा सहज भएको छ,’ उहाँले भन्नुभयो ‘खानेपानी नहुँदा एक गाग्रो पानी ल्याउनकै लागि एक घण्टा हिँड्नुपर्ने बाध्यता हटेको छ ।’

घरमै खानेपानीको धारा आएपछि खानेपानी भर्न बिहानै उठ्नुपर्ने स्थानीयको बाध्यतासँगै समयको बचत हुने गरेको लेकतापाकै ४३ वर्षीया विमला खत्रीले बताउनुभयो। पहाडको ठाउँमा घरदेखि टाढा रहेको अरुङखोलाको छेउमा खानेपानी ल्याउन जाँदा अँध्यारोमा कहिलेकाहीँ पानीको गाग्रोसँगै लड्नुपर्ने समस्या समेत टरेको उहाँले बताउनुभयो।

वर्षौँदेखि भोगेको खानेपानीको समस्या सम्झँदै खत्री भन्नुहुन्छ, ‘वर्षौंपछि गाउँमा खानेपानीको धारा आउँदा आधा दुस्ख हटेजस्तो भएको छ, अहिले खानेपानीमात्र होइन, सरसफाइसँगै गाई बाख्रालाई पानी खुवाउन समेत सजिलो भएको छ ।’ पुरुषहरू कमाउन इन्डिया जाने र घरको काम महिलाले गर्नुपर्ने बाध्यताका कारण महिलालाई धेरै दुस्ख हुने गरे पनि अहिले हटेको उहाँले बताउनुभयो।

‘अहिले एक दिन बिराएर धारामा आधा घण्टा पानी आउँछ, त्यो पानीलाई दुई दिनसम्म बचाएर राख्नु पर्छ,’ उहाँले भन्नुभयो ‘दुई दिनमा आधा घण्टा आउने पानीले पनि ठूलो राहत मिलेको छ ।’ गाउँमा खानेपानी नहुँदा भान्साको प्रयोगदेखि सरसफाइमा समस्या हुने गरेको थियो तर अहिले घरमै धारा आएपछि समस्या हटेको निगलेनी खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाका अध्यक्ष शिवराज पाण्डेले बताउनुभयो।

नेताहरूलाई पटक–पटक भन्दा पनि गाउँमा खानेपानीको व्यवस्था हुन नसकेपछि स्थानीयले जनश्रमदानसँगै सामुदायिक वनको २१ लाख रुपैयाँ लगानी गरेर खानेपानीको धारा ल्याएको संस्थाका अध्यक्ष पाण्डेले बताउनुभयो । ‘गाउँमा खानेपानीको समस्या भएकाले समस्या समाधानका लागि पटक–पटक यस क्षेत्रका जनप्रतिनिधिसँगै नेतालाई भन्यौं तर पूरा भएन,’ उहाँले भन्नुभयो ‘त्यही भएर सम्पूर्ण गाउँबासी मिलेर खानेपानीका लागि सरस्वती सामुदायिक वन समूहको पैसा लगाएर पानी ल्याउने योजना बनाएका हौँ ।’

अध्यक्ष पाण्डेका अनुसार वडा कार्यालयले पानी तान्नका लागि मोटर किनिदिएको र पोल र विद्युत जडानका लागि गाउँपालिका उपाध्यक्षले पहल गरिदिनु भएको हो । ‘गाउँमा खानेपानीको समस्या हुँदा सामूहिक कामका लागि भनेर आकाशेपानी संकलन गर्ने टयांकी बनाएका थियौँ । त्यसले थोरै भए पनि सहज भएको थियो,’ उहाँले भन्नुभयो ‘तर खानेपानी व्यवस्थापन तथा नुहाउन भने खोला नै जानुपर्ने बाध्यता थियो, घर–घरमा धारा आएपछि अहिले त्यो समस्या हटेको छ ।’

योजना सम्पन्न गर्न करिब चार महिना बढी समय लागेको उहाँले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार