फोहोरबाट बनेको दाना मलले माटोको उर्वराशक्ति बढाउँदै

  वास खबर सम्वाददाता  309 पटक हेरिएको

भरतपुर : रासायनिक मलको अधिक प्रयोगले माटोमा अम्लीयपना बढाउँदै उर्वराशक्तिमा ह्रास हुँदै गएको छ । परम्परागत रूपमा प्रयोग हुने गाईभैँसीको गोबर, बाख्राको जुतो, कुखुरा र हाँसको सुलीको प्राङ्गारिक मलले माटोको उर्वराशक्तिलाई बचाउने भए पनि त्यसको प्रयोग कम हुँदै गएको छ ।

गोबर र सोत्तरको मलको प्रत्यक्ष प्रयोगमा फोहोरको अनुभूति हुने भएकाले किसानले त्यस्तो मलको प्रयोग कम गर्न थालेका छन् तर अब यो समस्या निराकरण हुनेछ, किनकि गोबर, जुतो, सुली आदिको प्रयोग गरेर प्राङ्गारिक मलको उत्पादन सुरु भएको छ ।

प्राङ्गारिक मलमा नाइट्रोजन, फस्फोरस, पोटासको मात्रा मिलाएर माटो र बालीका लागि उपयोगी रासायनिक मलका जस्तै देखिने काला र सेता दाना तथा धुलोमल लोकप्रिय बन्न थालेका छन् ।

चितवनको भरतपुरमा रहेको कमर्सियल अर्गानिक एग्रिकल्चर कन्सेप्ट प्रालिले चार वर्षदेखि गोबर, गहुँत, बाख्राको जुतो, कुखुराको सुली, पिना, चुनालगायतका वस्तु मिसाएर त्यस्तो प्राङ्गारिक मल उत्पादन गरिरहेको छ । १० करोड रुपियाँको लगानीमा सुरु भएको यो उद्योगले अहिले दैनिक १० टन धुलो र गेडा मल उत्पादन गरिरहेको छ । कम्पनीका सञ्चालक राजन गौतमले झट्ट देख्दा रासायनिक मल जस्तै देखिने भए पनि दाना वा धुलो प्राङ्गारिक मल नै रहेको बताउनुभयो ।

उहाँका अनुसार गोबर लगायतका कच्चा पदार्थलाई नौ महिनासम्म कुहाएर प्रशोधन गरेर धुलो बनाउने र त्यही धुलोलाई रासायनिक मल जस्तै ससाना डल्लामा मल उत्पादन गरिन्छ । गौमन्त्र कृषि शक्ति र जैविक शक्ति ब्रान्डमा उत्पादन भइरहेको मलले माटोलाई उर्वर बनाउन नाइट्रोजन, फस्फोरस, पोटास, अर्गानिक कार्बन जस्ता तत्व दिने गरेको छ । यसरी उत्पादन गरिएको मल सरकारी प्रयोगशालामा परीक्षण गरिएको र विभिन्न विश्वविद्यालयका शोधार्थीले गरेको अध्ययनबाट पनि गुणस्तरीय रहेको पुष्टि भएको उहाँको दाबी छ । नेपाल सरकारको स्वामित्वमा रहेको १० र निजी क्षेत्रबाट सञ्चालित एउटा ल्याबमा त्यसको गुणस्तर परीक्षण गरिएको छ ।

यस्तो प्राङ्गारिक मलले रासायनिक मललाई विस्थापन गर्न सक्ने विज्ञले औँल्याएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्वरजिस्ट्रार डा. सूर्यकान्त घिमिरेले रासायनिक मलले माटोको उर्वराशक्ति घटाइरहेका बेला यस्तो प्राङ्गारिक मलले माटोलाई जीवन दिने बताउनुभयो । “रासायनिक मलकै कारण माटोमा रहेको अम्लीयपना घटाउन पनि प्राङ्गरिक मलको प्रयोग बढाउनु जरुरी छ,” उहाँले भन्नुभयो, “उर्वर माटोका लागि ‘पिएच भ्यालु’ सात हुनु पर्छ तर अहिले रासायनिक मलले त्यो मात्रा घटाइरहेको छ । माटोमा हुने उत्पादन क्षमता बढाएर सदाबहार उत्पादन दिने बनाउन जरुरी छ ।”

चितवनका विभिन्न स्थानमा ५३ बिघा जग्गामा केरा खेती गर्नुभएका व्यावसायिक किसान यज्ञ सुवेदीले पछिल्लो समय आफूले रासायनिक मलको मात्रा घटाउँदै प्राङ्गारिक मल बढाउँदै लगेको बताउनुभयो । “बोटबिरुवाको वृद्धि र फल लाग्ने कुरामा राम्रो भएको छ । नतिजा राम्रो छ । अरू मलभन्दा प्रभावकारी पनि छ,” गौमन्त्र कृषि शक्ति र जैविक शक्ति मल नियमित प्रयोग गर्दै आउनुभएका किसान सुवेदीले भन्नुभयो ।

नेपाल सरकारका पूर्वसहसचिव दुर्गादत्त दवाडीले प्राङ्गारिक मलसँगै कृषिमैत्री जीवाणु मलको एकैपटक प्रयोग गर्न सके त्यसले रासायनिक मललाई विस्थापित गर्ने बताउनुभयो । उहाँले सरकारले प्राङ्गारिक मललाई प्रोत्साहन गरे रासायनिक मललाई विस्थापन गर्न सक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सरकारको दुईधारे नीतिका कारणले नै माटोको स्वस्थता कमजोर बन्दै गएको बताउँदै प्राङ्गारिक मललाई प्रोत्साहन गर्ने भन्ने तर रासायनिक मलको कारखाना खोल्ने निर्णयले किसानलाई आकर्षण गर्न नसक्ने बताउनुभयो ।

कमर्सियल अर्गानिक एग्रिकल्चर कन्सेप्ट प्रालि मात्र होइन, नेपालमा प्राङ्गारिक मल उत्पादन गर्ने कारखाना २१ वटाभन्दा धेरै छन् । स्थानीय उद्योगको उत्पादन मात्र नभई विदेशबाट पनि प्राङ्गारिक मल आयात हुने गरेको छ तर सङ्घीय सरकारबाट प्राङ्गारिक मल कारखानालाई कुनै पनि अनुदान दिइएको छैन ।

प्राङ्गारिक जीवाणु मल निर्देशिका, २०७८ अनुसार स्वदेशमा रहेका प्राङ्गारिक मल कारखानालाई तीन तहमा वर्गीकरण गरेर स्वीकृति दिइन्छ । वार्षिक पाँच सय मेट्रिक टनभन्दा कम उत्पादन हुने उद्योगको दर्ता तथा अनुगमनको जिम्मेवारी स्थानीय तहले पाएका छन् । पाँच सय मेट्रिक टनभन्दा माथिलाई प्रदेश सरकारको अनुगमनको अधिकार छ । सोही निर्देशिकाले स्थानीय र प्रदेश सरकारसँगै सङ्घीय सरकारले पनि अनुगमनको बाटो खुला गरेको छ ।

हाल सङ्घीय सरकारले आठ वटा त्यस्ता उद्योगको अनुगमन, प्रोत्साहनको जिम्मेवारी रहेको कृषि विभागका प्रवक्ता तिलकराज चौलागाईंले जानकारी दिनुभयो । उहाँले नेपालमा आयात गरिने प्राङ्गारिक मललाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले कम्तीमा दुई बालीमा परीक्षण गरेपछि मात्रै आयातको स्वीकृति दिने गरेको बताउनुभयो । त्यस अनुसार यस वर्षका लागि आयातकर्तालाई सूचीकृत हुन विभागले आवेदन माग गरेको छ । स्वदेशमा उत्पादित प्राङ्गारिक मललाई पनि नार्कसँगै माटो परीक्षण गरिने प्रयोगशालामा प्रयोग गरेपछि मात्रै प्रयोगको अनुमति दिने गरिन्छ । यो खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ।

बागमती प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख जनार्दन खड्काले प्राङ्गारिक मल कारखानालाई अनुदानको व्यवस्था नभए पनि कृषकलाई प्राङ्गारिक मल प्रयोगमा प्रोत्साहन गर्न अनुदानको व्यवस्था गरेको बताउनुभयो । उहाँले बागमती प्रदेश निर्देशनालय मातहतमा रहेका सात वटा कृषि ज्ञान केन्द्रमार्फत अनुदानको रकम उपलब्ध गराउने जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार