काठमाडौ : काठमाडौँ ठूला अस्पतालमध्येको वीर अस्पतालबाट मासिक २७ हजार ५ सय किलो फोहोर उत्पादन हुने गरेको छ । जस मध्ये संक्रमणजन्य फोहोर ८ हजार १५३ केजी, सुइबिनाको सिरिञ्ज ६३९ केजी, तिखो सिसा १२० केजी, धारिलो तथा तीखो धातु १०४ केजी, डाइपर र सेनिटरी प्याड २ हजार १४४ केजी, कागज २ हजार २२३ केजी, प्लाष्टिक र प्लाष्टिकजन्य बोतल ७ हजार ७०२ केजी, नफुटेका सिसा १ हजार ४४० केजी उत्पादन हुने गरेको छ । जसमध्ये ५ हजार ३६ किलो कुहिने फोहोर छन्।
ट्रमा सेन्टरमा मासिक ९ हजार किलो फोहोर उत्पादन हुन्छ । जसमा संक्रमित फोहोर २ हजार ४ सय केजी छ । बाँकी जैविक फोहोर हुन्।
अस्पतालहरुले संक्रमित फोहोरलाई सामान्य बनाउन थालेको प्रयास सन्तोषजनक छ । सानातिना त्रुटि र छुटेका प्रक्रिया छन् । यी प्रक्रियालाई सुधार गरेर उत्कृष्ट र नमूना बनाउनु पर्छ । उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा गएको अनुगमन टोलीले सुझाव दिएको छ ।
अनुगमनका बारेमा जानकारी दिदै उपप्रमुख डंगोलले भन्नुभयो, ‘सामान्य वेडहरु, सघन कक्ष र आकस्मिक कक्षहरु, चिकित्साबाट उत्पादन हुने फोहोर वर्गीकरणको प्रक्रिया, स्रोतमा वर्गीकरण भएको फोहोर ढुवानी गरेर निर्मलीकरण तथा भण्डारणसम्म पुर्याउने विधि, यस क्रममा अपनाइने सुरक्षाका उपाय हेरेका थियौँ । अभ्यास सन्तोषजनक नै छ । सुधारका केही ठाउँ पनि देखिएका छन् ।’
यसलाई सुधार गर्न स्रोतमा फोहोर मिसिन सक्ने, ढुवानी तथा प्रशोधन कार्यमा सहभागी हुने व्यक्तिको सुरक्षा, भण्डारण कक्षको उचित प्रबन्ध र बाहिर निकाल्ने फोहोरमा धारिलो तथा जोखिमयुक्त फोहोर मिसिन सक्ने खतराबाट बचाउन अस्पताललाई सुझाव दिएको बताउनुभयो।