कुहिने फोहरबाट कम्पोस्ट मल उत्पादन

  वास खबर सम्वाददाता  284 पटक हेरिएको

दाङ: दाङको तुलसीपुर उपमहानगरपालिकाले कुहिने फोहरबाट कम्पोस्ट मल उत्पादन गर्न सुरु गरेको छ । फोहरको दिगो व्यवस्थापन गरी फोहरलाई मोहरमा बदल्न तुलसीपुरले बजार क्षेत्रबाट संकलन हुने कुहिने फोहरबाट मल उत्पादन गर्न थालेको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।

दातृ निकायको सहयोगमा प्राप्त मेसिनमा ६ हजार किलो कुहिने फोहर राख्दा दैनिक साढे दुई सय केजी उत्पादन गर्ने सकिन्छ । तर कच्चा पदार्थको अभाव रहेको कर्मचारी कृष्ण चौधरीले बताउनुभयो। अहिले तुलसीपुर उपमहानगरपालिकाले ५, २ र १५ केजीको बोरामा प्याकिङ गरेर बजारमा ल्याएको छ ।

तुलसीपुर बजारमा दैनिक २५ टनभन्दा बढी फोहर संकलन हुने गर्दछ । उपमहानगरपालिका नगरप्रमुख टिकाराम खड्काले कुहिने फोहरबाट कम्पोस्ट मल उत्पादन सुरु भएकाले सबैले सहयोग गर्नुपर्ने बताउनुभयो। ‘हामीले कम्पोस्ट मल उत्पादन गरिरहेका छौं, यसमा विशेष गरी तुलसीपुरका ५ र ६ वडाका टोल विकास संस्थाले सहयोग गर्नुपर्छ,’ नगर प्रमुख खड्काले भन्नुभयो।

उहाँले सरसफाइ अभियान सबैको साझा अभियान भएको बताउँदै यो फोहरलाई मोहर बनाउने अभियानमा सबै लाग्नुपर्ने बताउनुभयो। खड्काले तुलसीपुर बजारमा पहिले प्लास्टिक आतंक भएको भन्दै अहिले प्लास्टिकजन्य फोहरबाट विभिन्न सामग्री बनाउने कार्यक्रम रहेकाले प्लास्टिक नपाइएको बताउनुभयो ।

मल उत्पादनमा प्राविधिक सहयोग गरिरहेको ब्लू वेस्ट भ्यूका कार्यकारी निर्देशक नवीन विकास महर्जनले ल्याब परीक्षण गरी उत्पादन भएको कम्पोस्ट मललाई बीजदेखि बारीसम्म प्रयोग गर्न सकिने बताए । उहाँका अनुसार पालिकाले पाँच सय वटा क्यारेटमा गल्ने फोहोर राखेर दैनिक दुई हजार पाँच सय केजीसम्म मल उत्पादन गर्नसक्ने भौतिक संरचना तयार पारिएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका–६ मा मल उत्पादनका लागि भौतिक संरचना समेत तयार पारिएको छ ।

उपमहानगरपालिकाले नगल्ने फोहोर संकलन गरी कुर्सी, टेबल, डेस्क, बेन्च, गमला समेत बनाउँदै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार