ललितपुर : ललितपुरको गोदावरी नगरपालिका वडा नं. ११ मा निर्माण हुन लागेको दिसाजन्य लेदो प्रशोधन केन्द्र स्थल अवलोकन गर्न विदेशी विज्ञ टोली पैदल यात्रामा निस्किए ।
वडा नं. ११ को कार्यालयबाट थोरै परतिर पुगेपछि विदेशीले नाक छोपे । जहाँ राँगा भैसी बध गरेर लादी जत्ति त्यही फालिएको थियो भने ठोस फोहोरमैला पनि त्यही ल्याएर थुपारिएको थियो। उक्त ठाउँ डम्पिङ साईट भन्दा कुनै फरक थिएन ।
विदेशी विज्ञले फोहोर फालिएको ठाउँबाट दुईचार पाइला परतिरको डिलबाट दिसाजन्य लेदो प्रशोधन केन्द्रस्थल नियाले । पागाल सामुदायिक बनभित्रको उक्त ठाउँमा यस अघि नै फोहोरपानी प्रशोधन केन्द्र निर्माण गरी सञ्चालनमा ल्याईएको थियो ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
२०७२ साल वैशाखको भूकम्पले क्षति पुर्याएपछि त्यसयता उक्त फोहोरपानी प्रशोधन केन्द्र पूर्ण रुपमा बन्द छ । सोही ठाउँमा गोदावरी नगरपालिकाले दिसाजन्य लेदो र फोहोरपानी प्रशोधन केन्द्र निर्माण गर्ने योजना अनुरुप स्वीडेनको भ्याकिन नामक संस्थाका पदाधिकारी उक्त स्थान पुगेको थियो।
दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गर्न लागेको स्थान हेरेपछि वडा कार्यालयमा यसको डिजाइन र बन्ने संरचनाका बिषयमा नगरपालिकाका इन्जिनियर सीताराम कार्कीले प्रशोधन केन्द्रको सम्पूर्ण रुपरेखाबारे प्रस्तुतीकरण गर्नुभयो ।
प्रस्तुतीकरण सकेपछि जब प्रश्नोत्तर गर्ने चरण आयो, विदेशी विज्ञको जिज्ञासा ट्रिटमेन्ट प्लाण्टको बिषयमा भन्दा पनि बाटैमा फालिएको ठोस फोहोरमैलामा केन्द्रित भयो ।
टोलीका सदस्यहरु मध्येका एक मर्मत सम्भार प्राविधिक Jimmy Solander ले वडाध्यक्ष निल बहादुर देसारलाई फोहोरलाई किन व्यवस्थापन गर्न नसकेको भनेर प्रश्न सोध्नुभयो।
जवाफमा वडा अध्यक्ष निल बहादुर देसारले फोहोर व्यवस्थापनका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गरे पनि वडाध्यक्ष आफै कसले फोहोर फालिरहेको छ भनेर हेरिरहन नसक्ने बताउनुभयो। ‘मैले लगाउनुपर्ने सबै उपाय लगाईसकें, तर वडाध्यक्ष आफै फोहोरको ड्यूटी बस्न सकिदैन’ उहाँले भन्नुभयो।
चम्पापुर ढल तथा वातावरण समितिकी अध्यक्ष प्रेमदेवी देसारले भने उक्त स्थानमा त्यहीको समुदायले भन्दा पनि बाहिरी मानिसहरु आएर फोहोर फाल्ने गरेको बताउनुभयो। फोहोर व्यवस्थापन गर्न आउने कम्पनीको सदस्य नबन्ने र फोहोर जत्ति त्यहाँ ल्याएर फाल्ने परिपाटीले दुर्गन्धित भएको बताउनुभयो।
उक्त फोहोर फालिएको स्थानको दुर्गन्ध वडा कार्यालयसम्म आउने गरेको कार्यपालिका सदस्यहरु नै बताउँछन् ।अन्य ठाउँबाट बाइकमा फोहोर ल्याएर फालेको कयौं पटक आफैले देखेको गोदावरी नगरपालिकाको कार्यपालिका सदस्य समेत रहेकी लक्ष्मी देवी महर्जनले बताउनुभयो। ‘त्यो बाटो हिँड्दा मेरै आँखाले कतिपटक बाइकमा फोहोर ल्याएर फालेको देखेको छु, तर के गर्ने त ?’ उहाँले भन्नुभयो।
करिब डेढ घण्टाको छलफलमा वडाध्यक्ष निल बहादुर देसारले भने फोहोर व्यवस्थापनका लागि गर्न सकिने काम भन्दा पनि आफ्नो तर्फबाट विगतमा भएका केही प्रयासका कुरा मात्र दोहो¥याई रहनु भयो।
गोदावरी नगरपालिकाको वातावरण शाखाका प्रमुख इन्जिनियर अनिता बोहोराले भने यसको लागि कार्यपालिकाबाट बैठक बाटै निर्णय हुनुपर्ने र योजना बनाएर काम गर्नुपर्ने बताउनुभयो। उहाँले आफ्नो तर्फबाट योजनाको खाका पनि बनाईसकेको र यसका लागि कार्यपालिका बैठकले तदारुकता देखाउनुपर्ने बताउनुभयो।
गोदावरी प्राबल्य वास परियोजनाका प्रमुख आनन्द गौतमले भने सुरुमा फोहोर फाल्न निषेध गरिएको र फोहोर फालेमा कानुन बमोजिम कार्वाही हुने व्यहोराको होर्डिङ बोर्ड राख्ने, सिसी क्यामेरा जडान गरी फोहोर फाल्ने व्यक्तिको पहिचान गर्ने प्रस्ताव गर्नुभयो।
लामो छलफल पछि अन्त्यमा फोहोरमैला व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको संघसंस्था, निजी क्षेत्र, स्थानीय अगुवा बुद्धिजीवी, गोदावरी प्राबल्य वास परियोजना, नगरपालिकाको वातावरण शाखा सहितको संयुक्त बैठक बस्ने र उक्त बैठकले कार्ययोजना बनाई फोहोरमैला व्यवस्थापनका लागि अगाडि बढ्ने निष्कर्ष निकालियो।
गोदावरी नगरपालिकामा विगत १५ महिनादेखि वाटर एड नेपाल, गोदावरी नगरपालिका र स्वीडेनको भ्याकिन नामक संस्थाको साझेदारीमा गोदावरी प्राबल्य वास परियोजना सञ्चालन भैरहेको छ। भ्याकिनको टोलीले परियोजना अन्तर्गत सञ्चालित विभिन्न कार्यक्रमहरुको अवलोकन र सरोकारवालाहरुसँग छलफल गरिरहेको छ।
साथै प्राविधिक ज्ञान आदान प्रदान गर्न परियोजना अन्तर्गत निर्माण हुने संरचनाको बिषयमा टोलीले नगरपालिकाका इन्जिनियरहरुसँग पनि नियमित छलफल गरिरहेको छ ।