म्याग्दी : देशका कतिपय स्थान यत्तिबेला आगोले आक्रान्त छ। आँखै अगाडि दर्जनौ घर जलेर क्षणभरमा खरानी बनेका छन्। मौसम अनुसार आउने यस्तै विपदसँग सामना गर्न म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरेको छ।
विपदको जोखिम घटाउँदै लैजाने, बिपदमा परेकालाई खोज उद्धार, राहत तथा पुनःस्थापना गर्न सहयोग गर्ने र प्रतिकार्य योजना अनुसार काम गर्ने उद्देश्यले आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको वास फोकल पर्सन ई.इश्वर भण्डारीले बताउनुभयो। ‘हामीले विपदमा परेकाको खोज उद्धार र राहत वितरण गर्ने तथा सम्भावित विपद जोखिमलाई न्यूनीकरण गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएको छौं’ उहाँले भन्नुभयो।
आपतकालीन कार्य सञ्चालन केन्द्रमा विपदजन्य घटना भएमा खोज उद्धारका लागि आवश्यक सामग्रीहरुको व्यवस्था मिलाइएको छ। गाउँपालिका अध्यक्ष भारत कुमार पुनका अनुसार केन्द्रमा गोर्खा वेल्फेयर ट्रष्टले उपलब्ध गराएका सामाग्रीहरु, गाउँपालिकाले खरिद गरेका सामाग्रीहरु, शसस्त्र प्रहरी बाट प्राप्त सामग्री र जिल्ला प्रशासन कार्यालयबाट प्राप्त खोज तथा उद्धारका सााग्रीहरु छन्।
अध्यक्ष पुनका अनुसार गाउँपालिकाभित्र हुने गरेका विपदका घटना र त्यस्ता घटनामा परेकाको खोज उद्धार गर्न आवश्यक सामग्रीहरु नै सञ्चालन केन्द्रमा राखिएको हो। ‘हामी कहाँ अग्नि नियन्त्रण, पहिरोमा परेकाको उद्धार, बाढीले बगाएको व्यक्तिको उद्धार, पहिरो नियन्त्रण, घर भत्किएर च्यापिएमा गरिने उद्धार सँग सम्बन्धित उपकरण तथा औजारहरु रहेका छन्’ उहाँले भन्नुभयो।
विपद जोखिम न्यूनीकरणको क्षेत्रमा अन्नपूर्ण गाउँपालिकाले गाउँसभाद्वारा हरेक बर्ष बजेट बिनियोजन गर्ने गरिएको, बिपद सम्बन्धी कार्य गर्नका लागि बिपद प्रतिकार्य योजना, स्थानीय बिपद तथा जलवायू उत्थानशील योजना मार्गदर्शन २०७४ अनुसार स्थानीय बिपद तथा जलवायू उत्थानशील समिति गठन गरी कार्य अगाडि बढाईएको गाउँपालिकाका सूचना अधिकारी एवं विपद फोकल पर्सन हरिकृष्ण आचार्यले बताउनुभयो।
खानेपानी तथा सरसफाइ योजना र विपद पूर्व तयारी कार्यक्रमलाई पनि सँगसँगै लिएर आएको यो मात्र पहिलो कार्यक्रम भएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो। गोर्खा वेल्फेयर ट्रष्टले उत्थानशील खानेपानी तथा विपद पूर्व तयारी कार्यक्रम अन्तर्गत गाउँपालिकालाई आपतकालीन कार्य सञ्चालन केन्द्र निर्देशिका निर्माण, स्थानीय बिपद तथा जलवायु उत्थानशील योजना तर्जुमा र कार्यसञ्चालन केन्द्र स्थापना गर्न सहयोग गरेको हो।
‘हाम्रो गाउँपालिकामा बिपदको प्रकृतिका आधारमा २ वटा समिति, ४ वटा उपसमिति र ४ वटा कार्यदल गठन भएका छन्, यसले गर्दा विपदका घटना भैहालेमा खोज, उद्धार तथा तथ्याङ्क संकलन र राहत वितरण लगायत काममा पनि सजिलो भएको छ’ उहाँले भन्नुभयो।
आपतकालीन केन्द्र मार्फत बिपद सम्बन्धी उद्दार र खोज एबं नमूना अभ्यास सम्बन्धी तालिम समेत सन्चालन गरिएको छ। ‘विपद ब्यवस्थापन समितिका सदस्यहरुलाई २ चरणमा प्रयोगात्मक एबं ब्यबहारिक अभ्यास तालिम दिईएको छ’ उहाँले भन्नुभयो।
यस्तै विपद ब्यवस्थापनका लागि बजेट ब्यबस्थापन, स.साना बिपदको अबस्थामा प्रमाणका लागि प्रहरी मुचुल्काका आधारमा तत्काल राहत वितरण, बर्षातको बेलामा कालीगण्डकीको किनारामा बाढीको जानकारीका लागि भूधरातलीय सतर्कताको सूचना दिने व्यक्तिको ब्यबस्था गरिएको उहाँले बताउनुभयो।
‘मनसुनजन्य बिपदबाट पूर्ण रुपमा घर क्षति भएका लाभग्राहीहरुलाई २ चरणमा अनुदान उपलब्ध गराईएको र धेरैवटा घरहरु निर्माण भैसकेका पनि छन्’ अध्यक्ष पुनले भन्नुभयो।
विपद कहिल्यै पूर्व सूचना दिएर नआउने भएकाले विपदको घटनासँग सामना गर्न पूर्व तयारी जरुरी रहेको उहाँले बताउनुभयो। स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना भएपछि आफूहरुलाई विपदसँग सामना गर्न मात्र नभई विपद जोखिम न्यूनीकरण गर्न निक्कै सघाउ पुगेको गाउँपालिकाले जनाएको छ।