खाद्य स्वच्छता एवम् गुणस्तर : नदेखिएको तर महत्वपूर्ण सूचक

  वास खबर सम्वाददाता  350 पटक हेरिएको


सुनसरी : दुहवी नगरपालिका, वडा नं. ९ की जैनव खातुन (नाम परिवर्तन) ठेलागाढामा खाद्य सामग्रीको व्यापार गर्नुहुन्छ । प्रत्येक दिन विहान ११ बजे घरबाट कच्चा पदार्थ सहित ठेला लिएर घरबाट निस्कनु र दिनभर पानीपुरी, चटपटी, चाउमिन, अमलेट, चना आदि तयार गरी बिक्री गर्नु उहाँको दैनिकी हो ।

“कहिलेकाहीं ग्राहकले स्वादको बारेमा गुनासो गर्ने गर्दथे, तर गुणस्तर मापदण्डको बारेमा अहिलेसम्म कोही कसैले केही सुनाएकै थिएन”, उहाँ भन्नुहुन्छ, “पहिलो पटक ठेलाबाट बिक्री गर्ने बस्तुको पनि गुणस्तर जाँच हुन्छ र पास भएन भने बिक्री गर्न पाइँदैन भन्ने कुराको बारेमा जानकारी पाएँ ।”

यस्तै अनुभव छ, इनरुवा बजारको हस्पिटल रोडमा ठेलामा खाद्य सामग्री तयारी तथा बिक्री गर्ने रघुबीर रायको । “हामीले बनाएको सामानको गुणस्तर पुगेन भने रातो स्टिकर टाँसेर हामीले व्यवसाय सञ्चालन गर्न नै रोक लाग्न भन्ने कुरा यसअघि हामीलाई थाहा नै थिएन”, राय भन्नुहुन्छ, “राजमार्गका होटेलमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा रातो स्टिकर टाँसेको भन्ने सुनिएको थियो, तर हाम्रो नगरपालिकामा समेत यस्तो व्यवस्था भएको थाहा नै थिएन ।”

सुरक्षित खानाको प्रयोग : पूर्ण सरसफाइको एक प्रमुख सूचक

पूर्ण सरसफाइ मार्गदर्शन २०७३ (परिमार्जन २०७६) ले सुरक्षित खानाको प्रयोगलाई पूर्ण सरसफाइको एक प्रमुख सूचकको रुपमा लिएको छ । “कुनै पनि घरधुरी सफा र स्वच्छ क्षेत्रको रुपमा प्रमाणीकरण हुनका लागि त्यस घरधुरीले सुरक्षित खानाको प्रयोग गरेको हुनुपर्छ”, बराहक्षेत्र नगरपालिकामा प्लान इन्टरनेशनल नेपाल र सामुदायिक समाज उत्थान केन्द्रको सहकार्यमा सञ्चालित वास एसडिजी परियोजनाका फिल्ड सुपरभाइजर रेखा धामीको भनाइ छ, “कुनै पनि होटल, रेष्टुरेण्ट तथा खाद्य बस्तु उत्पादन एवम् बिक्री गर्ने ठेला व्यवसायीले समेत यो नियम पालन गरेको हुनुपर्छ ।”

नगरपालिकाले हालै तयार गरेको खाद्य स्वच्छता तथा गुणस्तर अनुगमन मार्गदर्शन २०८० ले यस प्रावधानलाई अनिवाई अनिवार्य गरेको बताउनुहुन्छ, बराहक्षेत्र नगरपालिकाका वास फोकल पर्सन मोतीलाल चौधरी । “नगरपालिकाले हालैमात्र तयार गरी पारित गरेको खाद्य स्वच्छता तथा गुणस्तर अनुगमन मार्गदर्शनमा घरायसी, व्यवसायिक र संस्थागत क्षेत्रमा खाद्य स्वच्छता तथा गुणस्तर कसरी कायम राख्ने र सोको अनुगमन गरी प्रमाणीकरण कसरी गर्ने भन्ने कुरा स्पष्ट रुपमा उल्लेख गरिएको छ”, उहाँको भनाइ छ, “कुनै पनि घरधुरीलाई सफा र स्वच्छ घरधुरीको रुपमा प्रमाणीकरण गर्नुअघि समेत यही मापदण्ड अनुसार अनुगमन र प्रमाणीकरण हुन्छ ।”


अनुगमन मार्गदर्शन अनुसार कुनै पनि घर सफा र स्वच्छ घोषणा हुनका लागि सो घरधुरीले दुई वटा सूचक (सुरक्षित चर्पीको प्रयोग र जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुने अभ्यास) मा सत प्रतिशत अंक हासिल गर्नुका साथै बाँकी सूचकमा कम्तिमा ९० प्रतिशत अंक हासिल गरेको हुनुपर्छ ।

“बाँकी अंक सो घरधुरीले पूर्ण सरसफाइउन्मुख प्रमाणीकरण हुँदा प्राप्त गर्दछ”, बराहक्षेत्र नगरपालिकामा वास एसडिजी परियोजनाको तर्फबाट फिल्ड सुपरभाइजर रेखा धामीको भनाइ छ, “त्यसैले, खाद्य स्वच्छता र गुणस्तरलाई पूर्ण सरसफाइको पहिलो चरणमा समेत प्राथमिकताका साथ समावेश गरी अनुगमन गर्ने गरिएको छ ।”

खाद्य स्वच्छता तथा गुणस्तर अनुगमन मार्गदर्शन २०८० ले कुनै पनि घरधुरी, व्यवसाय वा खाद्य बस्तु उत्पादन गर्ने स्थानका लागि मापदण्ड निर्धारण गरेको छ । मापदण्ड पूरा गरेको व्यवसायिक खाद्य बस्तु उत्पादक तथा बिक्रेताले हरियो स्टिकर प्राप्त गर्नेछ ।

यसैगरी, न्यूनतम मापदण्ड पूरा भएको, तर सुधारात्मक कुराहरु बाँकी रहेको उत्पादक तथा बिक्रेताले क्रमशः निलो तथा पहेंलो स्टिकर प्राप्त गरी सुधारका लागि मौका पाउने छ । “तर, रातो स्टिर प्राप्त गरेको व्यवसायले माथिल्लो तहको स्टिकर पप्त नगरुञ्जेल सम्मका लागि आफ्नो व्यवसाय सञ्चालन गर्न पाउँदैन”, पालिकाले तयार गरेको खाद्य स्वच्छता तथा गुणस्तर अनुगमन मार्गदर्शन २०८० को बारेमा जानकारी गराउँदै दुहवी नगरपालिकाका वास फोकल पर्सन विमलनारायण चौधरी भन्नुहुन्छ, न्यूनतम मापदण्ड पूरा नगर्नेलाई सुधारका लागि निश्चित समय दिइन्छ, यदि सो पूरा नभएमा व्यवसाय नै बन्द गराइन्छ ।”


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार