बर्षातको पानी संकलन गर्ने यही हो उत्तम समय

  वास खबर सम्वाददाता  2348 पटक हेरिएको

काठमाडौ : बढ्दो जनसंख्या, शहरीकरण तथा वस्ती विस्तार सँगै विश्वव्यापी रुपमा नै पानीको माग बढिरहेको छ । आधुनिक जीवनशैलीले पनि पानीको खपत अझ बढाइरहेको छ । त्यसैले पानीको सम्बर्धन अर्थात पानीको किफायती सदुपयोगलाई ध्यान दिन जरुरी छ । यसका लागि पहिलो काम पानीको उपार्जन बढाउनुपर्छ । दोस्रो पानीको किफायती खपत गर्नुपर्छ र पानीको पुनःप्रयोग गर्नुपर्छ ।

पानीको स्रोत सुक्दै र कम हुँदै गएको अवस्थामा आफ्नो घर आँगनमा पानीको कसरी उपार्जन गर्न सकिन्छ भनेर हेर्नु बुद्धिमानी हुन्छ । यसको लागि सन्तुलित रुपमा भूमिगत पानीको उपयोग वा बर्षातको पानी प्रयोग गर्न सकिन्छ ।

भूमिगत पानी उपयोगकर्ताले प्रकृतिप्रति न्याय गर्न आफूले जति भूमिगत पानी उपयोग गरिएको हो ? त्यो भन्दा बढी पानी पुनर्भरण गर्नुपर्दछ । बर्षातको समयमा परेको पानी जमीनमा पुनर्भरण गर्नु उपयुक्त हुन्छ । पोखरा जस्ता कतिपय ठाउँहरुमा यस्तो काम भूबनोटलाई ध्यानमा राखेर मात्र गर्नुपर्दछ ।

बर्षातको पानी संकलन 

नेपालमा मनसुनका करिब ३ महिना प्रशस्त पानी पर्दछ भने बाँकी महिना सामान्यतः सुख्खा हुन्छ । तर राम्ररी नियाल्ने हो भने अन्य महिनाहरुमा पनि पानी परिरहेको हुन्छ । यसरी पर्ने पानी सामान्यतः सफा हुन्छ जसलाई सबै घरेलु काममा प्रयोग गर्न सकिन्छ भने सामान्य प्रशोधन पछि पिउन पनि सकिन्छ ।

यसरी आफ्नै घरको छानामा परेको पानी संकलन गरेर पानीको जोहो गर्न सकिन्छ । यो अत्यन्तै सरल र वातावरणमैत्री तरिका हो । नेपालमा पर्ने पानीको परिमाण हेर्दा पानीलाई संकलन गर्न सके बाह्य पानीको आवश्यकता पर्दैन ।

तर यसरी पर्ने पानी संकलन गर्न निक्कै ठूलो ट्याङ्की चाहिने हुनाले यो खर्चिलो हुन जान्छ । त्यसैले बर्षभरिलाई पुग्ने पानी संकलन गर्नुभन्दा पानीको माग, बर्षातको परिमाण र आफनो आर्थिक क्षमता हेरेर उपयुक्त पानी ट्याङ्की बनाउन सकिन्छ । धेरै मानिसहरु आंशिक रुपमा भए पनि बर्षातको पानीमा निर्भर भएको पाइन्छ ।

हाल ठूला ठूला प्लाष्टिकका ट्यांकहरु समेत बजारमा पाइने भएकाले बर्षातको पानी संकलन सजिलो र किफायती पनि हुँदै गएको छ ।

पानीको किफायती उपयोग

पानीको किफायती उपयोग गर्ने उपायको रुपमा बजारमा कतिपय उपकरणहरु उपलब्ध छन् । यी उपकरणहरुले मूलतः पानीको बहाव कम गरी पानीको खपत घटाउँदछ । यस्ता उपकरणहरुले पानीको खपत ३५ प्रतिशत सम्म कम गर्न सकिन्छ भने पानी प्रयोगको खर्च स्वभाविक रुपमा कम हुन्छ । यस बाहेक पानीको खपत कम गर्न निम्न उपायहरु पनि अपनाउन सकिन्छ ।

१. पानी चुहावट भएको समयमा नै मर्मत गर्ने र चुहावट भए नभएको नियमित जाँच गर्ने

२. वाटर मिटर जडान गर्ने । यसले गर्दा आफूले कति पानी खपत गरिरहेको थाहा हुन्छ । पानी खेर गइरहेको भए के कति चुहावट भएको छ ? त्यो पनि थाहा पाउन मद्दत मिल्छ ।

३. नुहाउँदा कम पानी खपत गर्ने सावर जडान गर्ने ।

४. बाथरुममा कमोड जडान गर्दा डबल फ्लस भएको कमोड प्रयोग गर्ने ।

५. दाँत माझ्दा, तरकारी पखाल्दा, लुगा धुँदा वा बगैंचामा पानी हाल्दा पानी खेर नफाल्ने, पानीको पुनः प्रयोग गर्ने र आफ्ना नानीबाबुहरुलाई सानै देखि पानीको महत्वबारे सिकाउने ।

फोहोर पानी प्रशोधन

हामीले प्रयोग गरेको पानीको ८० प्रतिशत भन्दा बढी पानी फोहोर पानीमा परिणत हुन्छ । यसरी निष्कासित फोहोर पानी दुई किसिमका हुन्छन् । कालो पानी (दिसापिसाब सहितको चर्पीको फोहोरपानी) र कैलो पानी (भान्छा र बाथरुमबाट निस्कने फोहोर पानी) ।

यी दुवैथरी पानीलाई सरल तरिकाबाट प्रशोधन गरी पुनः प्रयोग गर्न सकिन्छ । सामान्यतः कैलो पानी प्रशोधन गर्न कृत्रिम सिम्सार जस्ता तरिका अपनाउन सकिन्छ भने कालो पानी प्रशोधन गर्न सेप्टिक ट्याङ्क, बायोग्यास रियाक्टर र कृत्रिम सिम्सार जस्ता प्राकृतिक र सरल तरिकाहरु अपनाउन सकिन्छ । यसरी प्रशोधित पानी सरसफाइ तथा सिंचाईको लागि उपयोग गर्न सकिन्छ । संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रमको हाते पुस्तिकाबाट ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार