बेनीघाट रोराङ खानेपानी व्यवस्थापन बोर्डद्वारा पानी परिक्षण प्रयोगशाला सन्चालन

  वास खबर सम्बादाता  565 पटक हेरिएको

धादिङ : धादिङ जिल्लाको १३ वटा स्थानीय तह मध्ये बेनीघाट रोराङ गाउँपालिकामा पहिलो पटक पानी परीक्षण प्रयोगशालाको शुरुवात भएको छ।

अक्सफाम नेपाल र बेनीघाट रोराङ गाउँपालिकाको आर्थिक सहयोगमा फोकस नेपाल धादिङद्वारा सञ्चालित वैकल्पिक व्यवस्थापन पद्दति परियोजनाको सहयोगमा ग्रामीण खानेपानी व्यवस्थापन बोर्डले संचालन तथा व्यवस्थापन गर्ने गरी बोर्डको कार्यालयमा परिक्षण प्रयोगशालाको शुरुवात भएको हो ।

आज (सोमबार) ग्रामीण खानेपानी बोर्डको कार्यालयमा कार्यक्रमको आयोजना गरी प्रयोगशालाको उद्घाटन गरिएको हो। बेनीघाट रोराङ गाउँपालिका तथा बेनीघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष कृष्ण बहादुर थपलिया (बिबेक) ले प्रयोगशालाको उदघाटन गर्नुभयो।

सोमबार खानेपानीको शुद्धता जाँच गर्न पानीको गुणस्तर परीक्षण प्रयोगशालाको शुभारम्भ गरिएको हो। धादिङको १३ वटा स्थानीय तहहरुमा आफ्नै स्थानीय स्तरमा ल्याब स्थापना गर्ने पहिलो गाउँपालिका रहेको बोर्डका कार्यकारी निर्देशक अर्चिता उप्रेतीले जानकारी दिनुभयो।

‘आजबाट हामीले गाउँपालिकामै पानीको शुद्धता परीक्षण गर्न ल्याब स्थापना गरेका छौं,’ उहाँले भन्नुभयो ‘अब हामीले गाउँपालिका लगायतका खानेपानीको शुद्धता जाँच गर्न अन्यन्त्र पठाउनुपर्ने समस्या समाधान भएको छ।’

गाउँपालिका क्षेत्रमा खानेपानी तथा सरसफाइ सेवालाई व्यवस्थित, नियमित तथा गुणस्तरयुक्त बनाई गाउँपालिकाको भौगोलिक क्षेत्र भित्रका खानेपानी आयोजनाहरुलाई दिगो र ब्यबस्थित ढंगबाट सुसंचालन गराई उपभोक्ताहरुलाई सफा, स्वच्छ र सुरक्षित पानी पिउन पाउने संबिधान प्रदत्त मौलिक हकको समेत प्रत्याभूति गराउने उद्देश्यले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम बेनीघाट रोराङ गाउँपालिकामा “बेनीघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्ड ऐन, २०७८” तर्जुमा भई सोहि आधारमा गाउँपालिकामा मिति २०७९ श्रावण ५ गते बेनिघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्डको गठन भई कार्य भईरहेको छ ।

यही क्रममा बोर्डले खानेपानी योजनाहरुलाई नियमित रुपमा बोर्डमा हस्तान्तरण गरेर लिने र बोर्ड मार्फत नै खानेपानी सेवा संचालन गर्दै आईरहेको छ ।

‘दिगो विकास लक्ष्य ६.१ मा सबैका लागि समतामुलक रुपमा सुरक्षित खानेपानी पुर्‍याउने उल्लेख छ तर यो लक्ष्य हासिल गर्ने विधि, तौरतरिका र गरिने क्रियाकलापका बारेमा धेरैजसो बेखबर छन्’ कार्यकारी निर्देशक श्रेष्ठ भन्नुहुन्छ ‘खानेपानी सुरक्षित बन्नका लागि पानीमा कुनै पनि जैविक,भौतिक र रासायनिक प्रदुषण हुनुहुदैन तर तपाई हामीले पिउदै आएको पानीमा यी प्रदुषणहरु भए नभएको कसरी थाहा पाउने त ? जबसम्म खानेपानी गुणस्तरका बारेमा थाहा पाउदैनौ,तबसम्म उक्त पानीमा भएको प्रदुषण नियन्त्रण गर्ने उपाय पनि आउँदैन त्यसैले सुरक्षित खानेपानीको सुनिश्चितता लागि पानी परिक्षण प्रयोगशाला र त्यसको संचालन अनिवार्य छ ।’

ग्रामीण भेगको खानेपानीमा रासायनिक तथा भौतिक प्रदुषणमा खासै समस्या नभए पनि जैविक प्रदुषण (कोलिफर्म, ईकोली) हुने गरेको कुरा विभिन्न माध्यम तथा अनुसन्धानबाट थाहा भए पश्चात गाउँपालिका स्तरमा खानेपानी गुणस्तर परिक्षण प्रयोगशालाको आवश्यकता भएको महसुस भएर अक्सफाम नेपालको आर्थिक सहयोगमा फोकस नेपाल धादिंग मार्फत संचालित वैकल्पिक ब्यबस्थापन मोडेल परियोजनाको र बेनीघाट रोराङ गाउँपालिकाको आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरेका हो।

प्रयोगशालामा गाउँपालिका भित्रका सबैखाले खानेपानी आयोजनाहरुको साथसाथै वरपर रहेका अन्य स्थानीय तह भित्रका खानेपानी आयोजनाहरुले समेत सशुल्क परिक्षण गराउन सक्नेछन । भने बोर्डमा हस्तान्तरण भएका आयोजनाहरुको भने संस्था स्वयमले आवश्यकता अनुसार निशुल्क परिक्षण गरेर उपभोक्ताहरुमा पानी वितरण गरिनेछ ।

गाउँपालिका भित्र हाल १५० वटा खानेपानी प्रणालीहरु रहेका छन् जसमा १३५ वटा ग्राभीटी प्रणालीका, १२ वटा लिफ्ट प्रणालीको र ३ वटा मिश्रित प्रणालीको रहेको छ। बोर्डमा हाल सम्म २४ वटा खानेपानी आयोजना बोर्डमा हस्तान्तरण भै १६०५ घरधुरीमा बोर्ड मार्फत नियमित रुपमा सेवा प्रवाह भईरहेको छ ।

राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड निर्देशिका २०७९ मा अनिवार्य परीक्षण गर्नुपर्ने र जोखिम तथा सान्दर्भिकताका आधारमा थप परीक्षण गर्नुपर्ने पारामिटर विभाजन गरिएको छ । मापदण्डमा भौतिक, रासायनिक र सूक्ष्म जैविक छुट्याइएको छ । मापदण्डमा १९ वटा पारामिटर अनिवार्य परीक्षण गर्नुपर्ने र ९ वटा आवश्यक र जोखिमको आधारमा गर्न सकिनेछ ।

जसमध्ये बेनिघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्डको खानेपानी गुणस्तर परीक्षण प्रयोगशालामा धमिलोपना,हाईड्रोजन विभव, तापक्रम, फलाम, क्लोराईड,नाईट्रेट, कडापन, एमोनिया,फोस्फेट,क्लोरिन अवशेष, ईकोली, कोलिफर्म लागायतका १२ वटा पारामितिहरु परिक्षण गरिनेछ ।

कार्यक्रममा बेनीघाट रोराङ गाउँपालिकाका वडा अध्यक्षहरु, राजनीतिक दलका पार्टी प्रतिपदाधिकारी तथा प्रतिनिधि, फोकस नेपाल पदाधिकारी, पत्रकार महासंघ धादिङका अध्यक्ष लगायत पत्रकार, रेडियोकर्मी,गाउँपालिकाका शाखा प्रमुखहरु, उपभोक्ता समितिका पदाधिकारी तथा उपभोक्ता लगायतको उपस्थिति रहेको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार