मेलम्ची खानेपानी आयोजनालाई एडीवीले २ अर्ब अनुदान दिने

  वास खबर सम्वाददाता  339 पटक हेरिएको

काठमाडौ :  मेलम्ची खानेपानी आयोजनालाई एशियाली विकास बैक (एडिबी) ले २ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । मेलम्चीको हेडवर्क्स निर्माणका लागि एडिबीले २ अर्ब बढी नेपाली रुपैयाँ अनुदान दिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिनुभयो ।

२०७८ साल असार १ गते आएको बाढीपहिरोले हेडवर्क्सको ९० प्रतिशत भूभाग गेग्रानले पुरेको थियो । त्यस लगत्तै हेडवर्क्स वरपरको गेग्रान सफा गरिसकेपछि फेरि २०८० साउन २७ गते आएको बाढीले गेग्रान थुपारेको थियो ।

गत जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकले आयोजनाको हेडवर्क्स सुरक्षित स्थानमा सार्नका लागि सैद्धान्तिक सहमति दिईसकेको छ । सो निर्णयसँगै मेलम्ची खानेपानी आयोजनाले आयोजनाको हेडवर्क्स सार्नका लागि परामर्शदाता छनौट प्रक्रिया अघि बढाएको छ ।

अहिलेको हेडवर्क्सको क्षेत्र नजिकै सँधै पहिरो बगिरहने ठूलो पहाड रहेको छ । विषय विज्ञहरुबाट गराइएको विभिन्न अध्ययनहरुले हेडवर्क्सलाई पुनः सोही स्थानमा निर्माण गर्नु थप जोखिमयुक्त रहने देखाएकाले हेडवर्क्स सार्ने निर्णयमा पुगेको आयोजनाले जनाएको छ ।

दातृ निकाय एसियाली विकास बैंकले २ वर्षअघि नै हेडवर्क्स सार्न खानेपानी मन्त्रालयलाई सुझाव दिएको भएपनि सरकारले केही दिनअघि मात्रै यसमा सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । हेडवर्क्सका संरचना बगरमुनि नै पुरिएका छन् र गेग्रान निकाल्न सकिने अवस्था छैन । हेडवर्क्सका पुरिएका संरचनालाई खोतलेर इन्टेकमाथि जालीको प्रबन्ध गरी गेग्रान छानेर पानी पठाउन सक्ने अवस्था नभएपछि विज्ञसँगको लामो परामर्शपछि आयोजनाले हेडवर्क्सलाई झन्डै १ किलोमिटर माथि सार्ने भएको हो ।

दुईवटा पहाडका बीच खोंचमा सार्न लागिएको हेडवर्क्स निर्माणको विस्तृत अध्ययनका लागि असार मसान्त भित्र सूचना प्रकाशित गर्ने तयारी आयोजनाले गरेको कार्यकारी निर्देशक लामिछानेले जानकारी दिनुभयो।

‘अहिले हामीले अल्टरनेट डाईभर्सन टनेलबाट हिउँदको समयमा काठमाडौंमा पानी पठाउने काम गरिरहेका छौं । यो २०७८ सालको बाढी पछि सफा गरिसकेपछि फेरि २०८० साउन २७ गते भरिएको हो । यहाँ देखिएको टावर भएको क्षेत्र हेडवर्क्सको क्षेत्र हो । यहाँको पारीपट्टी बगिरहने पहिरो छ । त्यसैले यही स्थानमा हेडवर्क्स बनाएर काठमाडौंमा दीर्घकालीन रुपमा पानी लगिरहने अवस्था देखिँदैनु उहाँले भन्नुभयो।

पुरानो हेडवर्क्स भन्दा झन्डै १ हजार मिटर दूरी अगाडि (माथि) बनाउन लागिएको हेडवर्क्सका लागि झन्डै साढे ३ अर्ब लागत लाग्ने अनुमान आयोजनाले अनुमान गरेको छ । असारभित्रै हेडवर्क्सको डीपीआरका लागि परामर्शदाता छनौट गर्न सूचना प्रकाशित गर्ने तयारी गरेको आयोजनाले समयमै काम सम्पन्न भएमा ४ वर्ष भित्र हेडवर्क्सका सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने प्रक्षेपण गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार