स्वास्थ्य संस्थामा ६ सय ५५ वटा हात धुने स्टेशन निर्माण

  वास खबर सम्वाददाता  322 पटक हेरिएको

काठमाडौ : कर्णाली र लुम्बिनी प्रदेशका २ सय ४८ वटा स्वास्थ्य संस्थामा ६ सय ५५ वटा हात धुने स्टेशन निर्माण गरिएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को आर्थिक सहयोगमा सञ्चालित स्वच्छता/ युएसएआईडी परियोजनाले यत्ति धेरै हात धुने स्टेशन निर्माण गरेको हो ।

स्वच्छता परियोजना कर्णाली प्रदेशको डोल्पा, जाजरकोट, सल्यान, रुकुम पश्चिम, सुर्खेत, दैलेख र र लुम्बिनी प्रदेशको रुकुम पूर्वमा सन् २०१६ को फेब्रुअरी देखि सुरुवात गरिएको थियो ।

वेस लाइन सर्भेको क्रममा स्वास्थ्य संस्थाहरुमा खानेपानी पर्याप्त नभएको, सेवा दिने वार्डहरुमा हात धुने स्टेसनको व्यवस्था नभएको भेटिए पछि परियोजनाले स्वास्थ्य संस्थाको रहेक वार्डमा हात धुने स्थानको निर्माण गरिएको परियोजना प्रमुख बि.बी. थापाले जानकारी गराउनुभयो।

स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र स्वच्छता सुविधा उपलब्ध गराई स्वास्थ्य सेवाको गुणस्तरमा सुधार गर्ने र सरसफाइ र स्वच्छता व्यवहारमा परिवर्तन ल्याई संक्रमण रोकथाम गराउने उद्देश्यले परियोजना सञ्चालन गरिएको थियो।

स्वास्थ्य संस्थाको हरेक वार्डमा हात धुने स्टेशनको व्यवस्था भएपछि आफूहरुले चाहिएकै समयमा हात धुन पाएको र बिरामीबाट स्वास्थ्यकर्मी समेत संक्रमण हुने जोखिम शून्य भएको स्वास्थ्यकर्मीहरु बताउँछन्।

‘बिरामीको जाँच गर्नु अघि र जाँच गरिसकेपछि स्वास्थ्यकर्मीले अनिवार्य हात धुनुपर्ने भए पनि खानेपानी र हात धुने स्टेशनको अभावमा हात धुन पाएका थिएनौं’ बाहुनाथाना स्वास्थ्य चौकी जाजरकोटका अनमी यौमा वली भन्नुहुन्छ ‘अहिले त हरेक वार्डमा हात धुने स्टेशन भएकाले हामीले चाहिएकै बेला हात धुन पाएका छौं, खानेपानी र स्वास्थ्यचौकीमा उपलब्ध साधनहरुको प्रयोगबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सकेको छौं।’

परियोजना अन्तर्गत ३९४ वटा प्रयोगमैत्री शौचालयको निर्माण गरिएको छ भने ६१ वटा स्वास्थ्य संस्थामा सोलार प्रणाली जडान गरिएको छ ।

परियोजना प्रमुख थापाले स्वास्थ्य संस्थामा चौबीसै घण्टा निरन्तर सुरक्षित र सफा खानेपानी, अपाङ्गता भएका व्यक्ति र लैंगिकमैत्री चर्पीको निर्माण, स्तरोन्नति र सञ्चालन, नियमित खोप मार्फत स्वच्छता प्रवर्द्धन जस्ता काम गरिएको उहाँले बताउनुभयो।

यस्तै संक्रमण रोकथाम तथा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन, स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको सरसफाई व्यवहार, स्वास्थ्य संस्थाका सेवाग्राहीलाई सरसफाई व्यवहार परामर्श रसामुदायिक सरसफाईमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयं सेविकालाई संलग्न गराई कार्य गरिएको बताउनुभयो। २०१६ फेब्रुअरी बाट सुरु भई एक पटक थप भएको स्वच्छता परियोजनाको अवधि यही अगष्ट महिनादेखि समाप्त हुँदैछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार