लहानले यसरी बनाउँदैछ CWIS Plan, ६ हजार घर नमुनाको रुपमा छानिए, गणकहरु परिचालन

  वास खबर सम्वाददाता  635 पटक हेरिएको

सिरहा : सिरहाको लहान नगरपालिकाले नगरव्यापी समावेशी सरसफाइ योजना (City Wide Inclusive Sanitation Plan) बनाउन सुरु गरेको छ। नगरव्यापी समावेशी सरसफाइ ढाँचालाई समाहित गरी वित्तिय लागत र उपयुक्त प्रविधि अवलम्बन गर्न मार्गदर्शन गर्ने उद्देश्यले लहान नगरपालिकाले नगरव्यापी समावेशी सरसफाइ योजना बनाउन सुरु गरेको हो।

यसै बिषयमा जानकारी गराउन नगरपालिकाले नगरव्यापी समावेशी सरसफाइ योजना, प्रारम्भिक कार्याशाला गोष्ठीको आयोजना गरेको छ। गोष्ठीमा नगरव्यापी समावेशी सरसफाइ योजनाको आवश्यकता, निर्माण प्रक्रिया, बजेट तथा उपयुक्त प्रविधि अबलम्बनका लागि अपनाईने रणनीति र कार्यान्वयनका बिषयमा व्यापक छलफल गरिएको छ।


समावेशी सरसफाइ योजना बनाउन नगरपालिका र इको कन्सर्न प्रा.लि.ले घरघरमा सर्वेक्षकहरु खटाईसकेको इको कन्सर्न प्रा.लि.का कार्यकारी निर्देशक कृष्ण एण्डोले बताउनुभयो।

उहाँका अनुसार १७ जना गणकहरुलाई तालिम दिएर तथ्याङ्क संकलनका लागि घरघरमा पठाईसकेको छ । गणकहरुले लहान नगरपालिकाको २४ वटै वडाको ६ हजार ३ सय १८ घरको तथ्याङ्क संकलन गर्नेछ। यो लगभग कुल घरधुरीको ३० प्रतिशत हो।

जनगणना २०७८ को नतिजा अनुसार लहान नगरपालिकामा कुल २१ हजार ३६४ घर परिवारको बसोबास छ । परिवारको औसत आकार करिब ५ जना रहेको छ।

गणकहरुले शौचालयको अवस्था, ढल प्रणाली, फोहोर व्यवस्थापन, खानेपानीको स्रोत लगायत बिषयको तथ्याङ्क संकलन गर्ने कार्यकारी निर्देशक एण्डोले बताउनुभयो।


कार्यशाला गोष्ठीमा विभिन्न वडाका अध्यक्षहरुले डाटा संकलन गर्दा वडा सँग समन्वय गरेर मात्र संकलन गर्नुपर्ने र डाटा वस्तुनिष्ठ हुनुपर्नेमा जोड दिनुभयो। तथ्यपरक डाटा संकलन गर्न सके मात्र योजना पनि तथ्यपरक बन्ने भएकाले तथ्याङ्क संकलनमा नै ध्यान दिनुपर्नेमा उहाँहरुको जोड थियो।

१ हजार ९०७ घरमा शौचालय अभाव, जग्गा नभएको बस्तीमा सामुदायिक शौचालय

सिरहा जिल्ला मधेस प्रदेशको पहिलो खुला दिसामुक्त जिल्ला हो। यसै जिल्लाको लहान नगरपालिकाको ९.३ प्रतिशत घरपरिवारमा अझै शौचालय अभाव छ। जनगणना २०७८ को नतिजाले नगरपालिका भित्रको १ हजार ९०७ घरपरिवारमा शौचालय नभएको देखाएको हो।

नतिजा अनुसार थप २ सय ९९ घरपरिवारको पनि शौचालय नरहेको देखाएको छ। नगरपालिकाको ९.५ प्रतिशत घरपरिवारले सार्वजनिक शौचालय प्रयोग गर्दै आएको तथ्याङ्क छ।

शौचालय नभएका घरधुरीहरु पहिचान गरी शौचालय बनाउने जग्गा समेत नभएको बस्तीमा सामुदायिक शौचालय निर्माण गरिने नगर प्रमुख महेश प्रसाद चौधरीले बताउनुभयो। नगरपालिकाको विभिन्न वडामा यस अघि नै निर्माण गरिएको सामुदायिक शौचालयको प्रभाव राम्रो भएकाले थप बस्तीमा समेत सामुदायिक शौचालय निर्माण गरिने उहाँले बताउनुभयो।


वाटर एड नेपालको आर्थिक सहयोगमा सञ्चालित विकन परियोजनाले सामुदायिक शौचालयको अवधारणा विकास गरी जग्गा नभएको समुदायको लागि यस्ता शौचालय निर्माण गरेको उहाँले बताउनुभयो।

यस्तै ढल प्रणालीमा जडान भएको फ्लस हुने शौचालय भएको २.९ प्रतिशत अर्थात ५९७ घरपरिवार, सेप्टिक ट्याङ्क जडित फ्लस शौचालय भएको ३६.५ अर्थात ७ हजार ५१५ घरपरिवार छन् । सबैभन्दा धेरै अर्थात आधा घरपरिवारसँग खाल्डे साधारण चर्पी रहेको छ। जनगणनाको नतिजा अनुसार २० हजार ५७७ घरपरिवार मध्ये १० हजार २ सय ५९ घरपरिवारसँग साधारण किमिसको (खाल्डे चर्पी) रहेको देखाएको छ।

नगर उपप्रमुख राम चलितर महतोले नगरव्यापी समावेशी सरसफाइ योजना निर्माण भएपछि कहाँ कस्तो खालको सरसफाइ सुविधाको आवश्यक छ, सोही अनुरुप योजना कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले नगरव्यापी समावेशी सरसफाइ योजना चाँडो निर्माण हुनुपर्नेमा जोड दिनुभयो । यसका लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको उहाँको प्रतिबद्धता थियो।

वास प्लानमा छैन पर्याप्त तथ्याङ्क

लहान नगरपालिकाले सन् २०२३ मै खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) निर्माण गरिसकेको छ। तर उक्त योजनामा सरसफाइ सेवा श्रृंखलाको तथ्याङ्क अर्पाप्त रहेको वाटर एड नेपालका सिनियर वास पोलिसी एडभाइजर गोविन्द श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार वास प्लानमा निम्न बिवरणहरुको कमी छ ।


√ प्रतिनिधिमूलक तथ्याङ्क माथि प्रश्न

√ सरसफाइ सेवाका चरण सम्बन्धी अर्पाप्त तथ्याङ्क

√ न्यून आय भएका घरधुरी वा समुदायिको अपर्याप्त तथ्याङ्क

√ वडाको आधारमा तथ्याङ्कको अभाव

√ प्रणाली सम्बन्धी तथ्याङ्कको अभाव

√ बार्षिक खर्चको अनुमान नगरपालिकाको क्षमता भन्दा धेरै देखिएको ।

वाटर एड नेपालले काम गरिरहेको नगरपालिकामा खानेपानी, सरसफाइ र स्वच्छता योजनाको अंगको रुपमा नगरव्यापी समावेशी सरसफाइ योजना तयार गर्न सहयोग गर्ने खानेपानी मन्त्रालय र वाटर एड बीच यस अघि नै समझदारी भैसकेको छ । सोही समझदारी मुताबिक लहान नगरपालिकामा समेत नगरव्यापी समावेशी सरसफाइ योजना (CWIS Plan) निर्माण गर्न लागेको हो ।

राष्ट्रिय खानेपानी तथा सरसफाइ नीतिले समेत नगरव्यापी समावेशी सरसफाइ योजनालाई खानेपानी, सरसफाइ तथा स्वच्छता योजनाको अभिन्न अंगको रुपमा स्वीकार गरी (CWIS Plan) प्लान तयार तथा कार्यान्वयन गर्ने उल्लेख गरेको छ ।’


यसरी बन्नेछ समावेशी सरसफाइ योजना

तथ्याङ्क संकलनका लागि नमुना तोकिएका घरधुरीसम्म पुगेर सर्वेक्षकहरुले डाटा संकलन गरिरहेका छन्। सर्वेक्षकले शैक्षिक संस्था, व्यवसायिक भवन, स्वास्थ्य संस्था, होटेल तथा रेष्टुरेन्टको समेत नमुना निर्धारण गरी सोही अनुरुप तथ्याङ्क संकलन गर्नेछन्।

उनीहरुले तोकिएको नमुना क्षेत्रबाट खानेपानी आपूर्तिको विवरण, फोहोरपानी व्यवस्थापन, दिसाजन्य लेदो व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, ढल तथा बर्षातको पानीको व्यवस्थापन लगायतको तथ्याङ्क लिनेछन्।


यस्तै डाटा संकलनको क्रममा मेयर तथा उपमेयर, वडा अध्यक्षहरु, मधेस प्रदेशको खानेपानी हेर्ने मन्त्रालय, प्रमुख प्रशासकीय अधिकृत, वास युनिट, खानेपानी उपभोक्ता समितिहरु, सार्वजनिक शौचालय सञ्चालक, यान्त्रिक रुपमा सेप्टिक ट्याङ्क सफाइकर्ताहरु, हातले नै सेप्टिक ट्याङ्क सफाइ गर्ने सफाइकर्मीहरु, शैक्षिक संस्थानहरु, व्यापारिक संस्थान, स्वास्थ्य संस्था र होटल तथा रेष्टुरेन्ट सञ्चालकहरुसँग पनि मुख्य जानकारी हासिल गर्न साक्षात्कार गर्नेछन्।

यस्तै राष्ट्रिय स्तरको परामर्श बैठक, नगरस्तरीय परामर्श बैठक, सरसफाइकर्मीहरु र निम्न आय भएका समुदायसँग लक्षित समूह छलफल गर्नेछन्।

यसरी प्राथमिक तथ्याङ्कहरु सर्भेक्षणकर्ताको माध्यमबाट र द्धितिय तथ्याङ्कहरु राष्ट्रिय जनगणनाको नतिजा, एनवास एमआइएस÷वास प्लान बाट भेला पार्ने र परिमाणात्मक तथा गुणात्मक तथ्याङ्क समेत संकलन गरेर विश्लेषण गरेपछि ‘नगरव्यापी समावेशी सरसफाइ योजना बन्नेछ।


यसरी बन्ने नगरव्यापी समावेशी सरसफाइमा तत्काल गर्नुपर्ने, मध्यकालीन समयमा गर्नुपर्ने र दिर्घकालीन समयमा गर्नुपर्ने योजनाको समेत प्राथमिकीकरण हुने इको कन्सर्न प्रा.लि.का कार्यकारी निर्देशक कृष्ण एण्डोले जानकारी दिनुभयो।

लहान नगरपालिकाको समावेशी सरसफाइ योजनाले नगरपालिकामा सरसफाइलाई सुरक्षित रुपमा व्यवस्थापन गर्न लाग्ने लागत, लागत जुटाउने रणनीति र अपनाउने प्रविधि समेतलाई मार्गदर्शन गर्नेछ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार