काठमाडौं : गत शुक्रबार अनामनगर स्थित किम्ची रेष्टुरेन्ट एण्ड फास्ट फूड रेष्टुरेन्टको हलमा काठमाडौ महानगरपालिकाको ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयक अभिमुखीकरण कार्यक्रम भैरहेको थियो। कार्यक्रममा महिला सञ्जालका संयोजक, वडा सदस्य, वडा सचिव र न्यायिक सहजकर्ता सहभागी थिए।
कार्यक्रम स्थलमा सिल गरेको प्रशोधित पानी बोतल खोलेर गिलासमा खन्याएर पिउन थालेपछि वडा नं. ११ का वडा सदस्य यशोमती परियारले पानीमा कीरा सल्बलाएको देख्नुभयो। कार्यक्रममा उपस्थित महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई उहाँले उक्त पानीको बोतल देखाइयो।
अनुगमन समितिका संयोजक समेत रहनुभएकी उपप्रमुख डंगोलले दुषित पानी बिक्री गर्नेलाई तत्काल कारबाही गर्न र कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन दिनुभयो। त्यसपछि कार्यक्रम रोकियो।
डंगोलको निर्देशन पश्चात अनुगमन टोली तत्काल रेष्टुरेन्टमा पुगेर नमूना संकलन गरेको थियो। यति प्रक्रिया सकिँदा कार्यालय समय समेत सकिएकाले त्यस दिन कारबाहीको निर्णय हुन सकेन । तर आइतबार भने महानगरपालिकाले दुषित पानी बिक्री गर्नेलाई २ लाख जरिवाना गर्ने निर्णय गरेको छ।
रेष्टुरेन्टबाट बिक्री भइरहेको पानी काठमाडौंको टोखा नगरपालिका वडा नं. ८ बाट उत्पादन भएको सिटी मिनरल वाटर एण्ड वेवरेज प्रा.लि. ले उत्पादन गरेको ‘इको’ ब्राण्डको पानी हो।
खाद्य स्वच्छता कायम गर्न नसक्दा महानगरपालिकाले यस अघि पनि आफ्नै कार्यालयमा सञ्चालन भएको क्यान्टिनलाई २ पटक जरिवाना तिराएको थियो।
‘पानीजन्य संक्रमणका जोखिम रहेको अवस्थामा सिल बोतलभित्र अखाद्य वस्तु देखिनु चरम लापरबाही हो। महानगरपालिकाले खानेकुरा तथा पिउने पानीको स्वच्छतामा लापरबाही नगर्न व्यवसायीहरुलाई अनुरोध गर्दै आएको छ।’ उपप्रमुख डंगोलले भन्नुभयो ‘अनुरोधलाई अटेर गर्नेहरुलाई कानुनी कारवाही गर्नुको विकल्प छैन।’