खानेपानी आयोजनाको विद्युत ट्रान्सफर्मर चोर पक्राउ, डाँका तथा चोरी मुद्दा चलाईने

  वास खबर सम्वाददाता  264 पटक हेरिएको


काभ्रे : काभ्रेको विभिन्न खानेपानी आयोजनाको विद्युत ट्रान्सफर्मर चोरी गरी त्यहाँभित्र रहेको तार भक्तपुरको कवाडी पसलमा लगेर बेच्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले काभ्रेका विष्णुबहादुर सार्की, दोलखाका २२ वर्षीय पल्हाद बस्नेत, सिन्धुपाल्चोकका २२ वर्षीय सन्तोष बिक, दोलखाका ३० वर्षीय दिकुल खत्री, दोलखाका २१ वर्षीय प्रविन बस्नेत, सिन्धुपाल्चोकका ४२ वर्षीय राजेश विक, दोलखाका २७ वर्षीय सुनिल बस्नेत, दोलखाकै २४ वर्षीय जगन्नाथ बस्नेत र सिन्धुपाल्चोकका २४ वर्षीय प्रेम मिजारलाई पक्राउ गरिएको हो । प्रहरीले चोरीमा प्रयोग गरिएको बा १ ज ८७३४ नम्बरको ट्याक्सी पनि नियन्त्रणमा लिएको छ।

उनीहरुले बनेपा नगरपालिका–६, बुडोल खत्रीगाउँमा रहेको खत्रीगाउँ डिप बोरिङ खानेपानी आयोजनाको विद्युत् ट्रान्सफर्मर र नमोबुद्ध नगरपालिका–५ मा रहेको कानपुर खानेपानी आयोजनाको बिजुलीको ट्रान्सफर्मर चोरी गरेका थिए।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार खानेपानी आयोजना लगायत अन्य स्थानमा ट्रान्सफर्मर नै चोरी भएको र त्यहाँभित्रको तार लिएर जान थालेपछि विशेष अप्रेसन गरेर उनीहरूलाई पक्राउ गरिएको बताउनुभयो।

प्रहरी चौकी भकुण्डे र इलाका प्रहरी कार्यालय मंगलटारको विशेष अप्रेसनमा ७ जना र उनीहरूको सूचनाका आधारमा थप तीन जना पक्राउ गरिएको श्रेष्ठले बताउनुभयो । पक्राउ पर्नेहरूलाई डाँका तथा चोरी सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार