काठमाडौं : काठमाडौं महानगरपालिकाले पिउनका लागि प्रयोग हुने पानीको जार परीक्षण गर्दा अक्वा त्रिदेव कम्पनीको जारको पानीमा कोलिफर्म भेटिएको छ । महानगरले २५ साउनमा ५ वटा जार कम्पनीको पानीलाई नमुना परीक्षणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ल्याबमा पठाएको थियो ।
मंगलबार आएको ल्याब रिपोर्टमा उक्त जारको पानीमा कोलिफर्मको मात्रा अत्याधिक भेटिएको छ । कोलिफर्म दिसामा हुने सुक्ष्म जीवाणु हो । यसले के पुष्टि गर्छ भने यो जार कम्पनीले विना प्रशोधन बजारमा पानी बेचिरहेको छ,’ महानगरका एक अधिकारीले भने । सो कम्पनीलाई जरिबाना र कारबाही भने हुन बाँकी रहेको छ । यसअघि महानगरले अनुगमन गरेर फुटेको, कुच्चिएको, फोहोर जार बेच्ने कम्पनीलाई कारबाही गरेको थियो ।
यस्तै सिटी मिनरल वाटर एन्ड बेबरेज प्रालिले उत्पादन गरेको बोत्तलको पानीमा किरा भेटिए पछि सो पानी बेच्ने अनामनगरको किम्ची रेस्टुरेन्ट एन्ड फास्ट फुडलाई महानगरले २ लाख जरिबाना तिराएको थियो।