गोरखा : पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले साउन १ गतेदेखि लागु हुने गरी खानेपानीको महसुल घटाएको छ । संस्थाको साउन १५ गते बसेको कार्यसमिति बैठकले महसुल घटाउने निर्णय गरेको संस्थाका ब्यवस्थापन प्रमुख सुशील अर्यालले जानकारी दिनुभयो।
‘गण्डकी प्रदेश सरकारबाट विद्युत महसुलमा आएको अनुदानबाट उपभोक्तालाई राहत दिएका हौंं,’ उहाँले भन्नुभयो ‘पानी खपतका आधारमा लिइने महशुल घटाएका हौं । अघिल्लो वर्ष पनि हामीले उपभोक्तालाई छुट दिएका थियौ । यो वर्ष महसुल नै घटाउने निर्णय गरिएको हो ।’
यस अघि ६ युनिटसम्म पानी खपत गर्ने ग्राहकले मासिक २५० रुपैयाँ तिर्दै आएकोमा अब दुई सय रुपैयाँ कायम गरिएको उहाँले बताउनुभयो । यस्तै सात देखि १० युनिटसम्मको मासिक चार सय रुपैयाँ रहेकोमा अब तीन सय रुपैयाँ कायम गरिएको छ। यस्तै ११ देखि २० युनिट सम्मको प्रति युनिट ८० रुपैयाँ रहेकोमा ६० रुपैयाँ कायम गरिएको अर्यालले जानकारी दिनुभयो। २१ देखि ३० युनिट सम्मको प्रति युनिट १५० रुपैयाँ रहेकोमा एक सय रुपैयाँ तथा ३१ युनिट भन्दा माथिको प्रति युनिट दुई सय रुपैयाँ रहेकोमा अब १५० रुपैयाँ कायम गरिएको उहाँले जानकारी दिनुभयो। आर्थिक वर्ष २०७९/०८० मा प्रदेश सरकारबाट विद्युत महशुलमा नौ लाख ७१ रुपैयाँ छुट पाएपछि सो बेला पनि समग्रमा ५० रुपैयाँका दरले महशुल घटाइएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ मा पनि करिब १० लाख रुपैयाँ छुट पाउनु पर्नेमा हालसम्म चार लाख ६२ हजार रुपैयाँ भुक्तानी भइसकेको संस्थाका ब्यवस्थापन प्रमुख अर्यालले जानकारी दिनुभयो। पृथ्वीनारायण खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वितरण गर्ने पानी उपभोग गर्ने ग्राहकको संख्या १३ सय ८५ पुगेको छ । हाल दैनिक १० लाख लिटर पानीको माग रहेकोमा माग अनुसार नै पानी वितरण भइरहेको संस्थाले जनाएको छ ।
केन्द्रीय खानेपानी परिक्षण प्रयोगशालाले परिक्षण गरेको रिपोर्ट अनुसार संस्थाले वितरण गर्ने पानी गुणस्तरीय रहेको पाइएको अर्यालले बताउनुभयो। दैनिक परीक्षणका लागि पाँच लाख रुपैयाँ बराबरको परीक्षण किट पनि प्राप्त भएको उहाँको भनाइ छ । संस्थाका प्रतिनिधिले चार दिनको तालिम लिएपछि अहिले दैनिक गुणस्तर परीक्षण गरेर मात्रै खानेपानी वितरण गर्ने गरिएको पृथ्वीनारायण खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ ।