करोडौंको योजनामा लाखको बजेट, सम्पन्न नहुँदै खण्डहरमा परिणत

  वास खबर सम्वाददाता  371 पटक हेरिएको

प्यूठान : खानेपानी आयोजना सुरु हुने तर समयमै सम्पन्न नहुने समस्याको उल्झनमा फसेको छ— प्यूठान । जिल्लामा साना–ठूला गरी १ सय ५० भन्दा बढी आयोजना निर्माणाधीन छन्, जसमध्ये प्रदेश सरकारअन्तर्गतका मात्रै २० भन्दा बढी खानेपानी आयोजना लामो समयदेखि अलपत्र छन् । जिल्लामा सञ्चालित यी आयोजना सम्पन्न भए मात्रै पनि ४ हजार ४ सय बढी घरधुरीमा पिउने पानी पुग्नेछ ।

आयोजना सुरु गर्ने तर पर्याप्त बजेट विनियोजन नगर्ने परिपाटीले लुम्बिनी प्रदेश सरकार गठन भए यताका आयोजना निर्माणाधीन छन् । जुन निर्माण सम्पन्न नहुँदै जीर्ण हुने अवस्थामा पुगेका छन् । झिमरुक खोला, पाण्डेडाँडा–बुढाचौर लिफ्ट खानेपानी आयोजनाको काम आर्थिक वर्ष ०७७/७८ बाट सुरु भएको हो । लुम्बिनी प्रदेश सरकार अन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्यूठानले उक्त आयोजना निर्माणको ठेक्का मार्फत काम गरिरहेको छ ।

३ करोड ६५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ४ आर्थिक वर्षमा ५३ लाख मात्रै बजेट विनियोजन भएको छ । १ सय ४६ घरधुरी लाभान्वित हुने गरी सुरु भएका आयोजना ३ तहको लिफ्ट प्रविधिमा निर्माण सुरु गरिएको आयोजना हो । बहुवर्षीय योजनाअन्तर्गतको उक्त आयोजना सम्पन्न गर्न अझै ३ करोड ११ लाख रुपैयाँ आवश्यक पर्छ । यही दरमा बजेट विनियोजन भए यो आयोजना बनिसक्न अझै २३ वर्ष कुर्नुपर्छ ।

९ करोड ३२ लाख ५८ हजार रुपैयाँमा काम सुरु भएको माझकोट घाय झुलेनी खानेपानी आयोजना पनि लुम्बिनी प्रदेश सरकारको सघन खानेपानी कार्यक्रमअन्तर्गत सुरु भएको आयोजना हो । ०७६/७७ बाट सुरु भएको यो आयोजना सम्पन्न भए ६ सय ८५ घरधुरी लाभान्वित हुनेछन् । तर आयोजनामा पछिल्ला पाँच आर्थिक वर्षमा १ करोड ८३ लाख रुपैयाँ मात्रै बजेट विनियोजन भएको छ । खानेपानी आयोजनाको हाल ट्यांकी निर्माणको काम मात्र सकिएको छ ।

लुम्बिनी प्रदेश  प्यूठानमा यस्ता २० वटा आयोजना छन्, जसलाई खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्यूठानले जटिल प्रकृतिका आयोजनाका रूपमा औंल्याएको छ । आयोजना सुरु गर्ने तर पर्याप्त बजेटको व्यवस्था नगर्ने परिपाटीको चपेटामा यी आयोजना परेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्यूठानका सूचना अधिकारी राजकिशोर मण्डल बताउँछन् ।

जिल्लाभर पुराना २० वटा आयोजना प्रदेश सरकार अन्तर्गत सुरु भएका छन्, जसको लागत करोडमा छ । तर बर्सेनि लाखमा बजेट विनियोजन हुने गरेको छ । करोडका आयोजनाका लागि प्रदेश सरकारले पाँच/दस लाख रुपैयाँ बजेट विनियोजन गर्ने गरेको मण्डलले जनाए । ‘आयोजनालाई जीवित मात्रै राख्ने काम भयो, सम्पन्न गर्ने गरी कुनै पनि आयोजनाका लागि बजेट विनियोजन हुँदैन ।’ यी २० आयोजना सम्पन्न गर्न अहिलेकै अवस्थामा बजेट विनियोजन भए २० वर्षभन्दा बढी समय लाग्नेछ । ‘पछिल्लो समय त झनै यी आयोजनाका लागि बजेट नै कटौती हुँदै गएको छ,’ उनले भने ।

प्यूठानमा ०७५/७६ सालदेखिका आयोजना निर्माणाधीन छन् । ती आयोजना सम्पन्न गर्न अहिलेको अवस्थामा ६१ करोड ७३ लाख ५० हजार रुपैयाँ लागत लाग्ने कार्यालयको अनुमान छ । कुल ८४ करोड २० लाख ५३ हजार रुपैयाँ बराबरका आयोजनामा हालसम्म २२ करोड ४७ लाख ३ हजार रुपैयाँ मात्रै विनियोजन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्यूठानका सूचना अधिकारी मण्डलले जानकारी दिए । कार्यालयलाई आर्थिक वर्षको सुरुमा १२ करोड हाराहारीमा बजेट सिलिङ पठाइने गरेको छ । त्यसमध्येबाट जिल्लाभरका निर्माणाधीन १ सय ५० बढी आयोजनालाई बजेट बाँडफाँट गर्नुपर्ने हुन्छ, थप बजेटको व्यवस्था नहुँदा र आयोजना धेरै हुँदा बजेट कनिका छरेजस्तो हुने गरेको मण्डलको भनाइ छ ।

‘बजेट थोरै छ, आयोजना धेरै छन्,’ उनले भने, ‘सबैलाई थोरै–थोरै बाँड्दा दुईरचार लाख मात्रै पुग्ने गरेको हो ।’ निर्माणाधीन आयोजनाको काम समयमै सम्पन्न नहुँदा उपभोक्ताले भने सास्ती खेप्नुपरेको छ । पिउने पानीकै लागि बर्खाको समयमा सास्ती खेप्नुपरेको गुनासो मल्लरानी गाउँपालिका–४ की पातलदेवी सुनारले सुनाइन् । ‘सदरमुकाम खलंगा नजिकैको गाउँमा पनि पानीको समस्या छ,’ उनले भनिन्, ‘अरू गाउँको अवस्था कस्तो होला ?’

बुढाचौरमा बर्खाको समयमा समेत पिउने पानीको समस्या छ । गाउँमा लिफ्ट खानेपानी आयोजना सुरु भए पनि लामो समयदेखि थप काम नहुँदा निर्माण भएको ट्यांकी नै पुरानो हुँदै गएको स्थानीय कमला विकले बताएको खबर कान्तिपुर दैनिकले प्रकाशन गरेको छ। ‘पानीको समस्या कस्तो छ, यहाँका जनतालाई सोधे पुग्छ,’ उनले भनिन्, ‘झेल्ने समस्या हामीले झेलेका छौं, अरू कसलाई पो हाम्रो वास्ता रह्यो र ।’ गाउँको लिफ्ट खानेपानी आयोजना सम्पन्न भए आफूहरूको दैनिकी नै फेरिने उनको भनाइ छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार