सुर्खेत : खानेपानी सेवा सहायता केन्द्र संचालन मार्गदर्शन कार्यान्वयन गर्न कर्णाली प्रदेशका २५ वटा पालिकासँग समझदारी भएको छ । सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता आयोजना (सुस्वा) सञ्चालित पालिकाहरुसँग यस सम्बन्धी समझदारी भएको हो ।
समझदारी पत्रमा खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागको तर्फबाट संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना प्रमुख मनिष कुमार राज, जलस्रोत तथा उर्जा विकास मन्त्रालय, कर्णाली प्रदेशका प्रतिनिधि, सम्बन्धित गाउँपालिका/नगरपालिकाका अध्यक्ष/ प्रमुख र सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) को तर्फबाट डेपुटी टिम लिडर एवं अनुगमन तथा मूल्यङ्कन विज्ञ बिमल शर्माले हस्ताक्षर गर्नुभयो।
समझदारी पत्र (MOU) ले खानेपानी सेवा सहायता केन्द्र संचालन मार्गदर्शन २०८० मा उल्लेखित प्रावधान बमोजिमको कार्य सञ्चालन सम्बन्धी बुँदाहरूमा सहमत रहेको र सबै साझेदारहरु बीच समझदारीको शर्तहरु निर्धारण तथा कार्यगत प्रतिवद्धता रहेको जनाउँछ ।
‘ग्रामीण नेपालमा सुधारिएको खानेपानी सेवा र खानेपानी प्रणालीहरुको आधारभूत सुचारुपन (कार्यक्षमता) को स्तर घट्दै गएपछि पूर्वाधारको आयु बढाउन र सेवा स्तरमा सुधार गर्न खानेपानी पूर्वाधारको थप प्रभावकारी सञ्चालन र मर्मतसम्भार (O&M) मा केन्द्रित हुनु जरुरी छ । यस समझदारी पत्रमा सूचीबद्ध साझेदारहरू कर्णाली प्रदेशमा खानेपानी सेवा सहायता केन्द्रको कार्यान्वयनमा साझेदारी गर्न सहमत भएका छन् ।
यस सेवा सहायता केन्द्रको स्थापनाले सुधारिएको मर्मत सम्भार पद्दतिको स्थापनाका साथै स्पष्ट नीतिगत ढाँचा, पूर्वाधारको नियमित अनुगमन र आवश्यकता अनुसार मर्मत सम्भार कार्यमा तिव्रता (Improved Response) सुनिश्चित गर्नेछ’ समझदारी पत्रको पृष्ठभूमिमा भनिएको छ।
खानेपानी सेवा सहायता केन्द्र संचालन मार्गदर्शन २०८० लाई विभिन्न चरणमा छलफल गरी यस अघि नै अनुमोदन गरिसकेको छ।
समझदारी पत्रमा हस्ताक्षरकर्ता साझेदारहरुले निम्न कामहरु सम्पन्न गर्ने उल्लेख छ ।
√ कर्णाली प्रदेश स्तरिय खानेपानी सेवा सहायता केन्द्र (SSC) को स्थापना गर्ने।
√ खानेपानी सेवा सहायता केन्द्र सञ्चालन मार्गदर्शनमा उल्लेखित मर्मतसम्भार (O&M) का लागि प्रस्तावित अवधारणाको अबलम्बन गर्ने ।
√ खानेपानी सेवा सहायता केन्द्र संचालन मार्गदर्शनमा उल्लेखित सबै नीति, नियम तथा शर्तहरू पालना गर्ने।
√ यस समझदारी पत्र (MOU) मा हस्ताक्षर गरी सबै साझेदारहरूले आफ्नो क्षेत्राधिकार भित्रका सबै खानेपानी आयोजना पूर्वाधारहरूको सञ्चालन र मर्मत सम्भारको सम्बन्धमा आ-आफ्ना सम्पूर्ण जिम्मेवारीहरू पालना गर्ने।
खानेपानी सेवा सहायता केन्द्र (SSC) ले आयोजनाको प्रगति अनुगमन (Trac) गर्नेछ । यस अवधारणाको असर र प्रभावकारिता बारे मूल्याङ्कन गर्ने र सबै साझेदारहरुद्वारा सम्झौताको पालना भए नभएको अनुगमन गर्ने सम्झदारी पत्रमा उल्लेख छ ।
प्रगति तथ्याङ्क मासिक रूपमा सबै सरोकारवालाहरुबीच अदानप्रदान गरिने र वार्षिक प्रगति रिपोर्ट प्रत्येक वर्ष सबै साझेदारहरूसँग पारस्परिक रूपमा सहमति भएको मितिमा समीक्षा सत्रमा आदानप्रदान गरिनेछ उल्लेख छ ।