सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधानका लागि सुरुवात भएको ‘भेरी पम्पिङ खानेपानी आयोजना’ को ठेक्का सम्झौता हुने भएको छ। ठेक्काको मूल्यांकन प्रक्रिया टुङ्ग्याईसकेको र केही दिनमै ठेक्का सम्झौता हुने वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले बताउनुभयो।
‘चिनियाँ निर्माण कम्पनी छनौट भएको छ, अब केही दिनमै वीरेन्द्रनगर परियोजना कार्यान्वयन इकाई र निर्माण कम्पनी बीच आयोजना निर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर हुनेछ’ उहाँले भन्नुभयो।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक, खानेपानी मन्त्रीका प्रमुख सल्लाहकार अवधेश कुमार दास र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतका आयोजना प्रमुख मनिष कुमार राज तथा नगरपालिका प्रमुख ढकाल बीच उहाँकै कार्यकक्षमा भेरी पम्पिङ खानेपानी आयोजनाको पछिल्लो प्रगतिबारे छलफल भएको हो ।
छलफलमा नगर प्रमुख ढकालले वीरेन्द्रनगर परियोजना कार्यान्वयन इकाईबाट भैरहेका कामहरुका बिषयमा जानकारी गराउनु भएको थियो ।
यस्तै महानिर्देशक श्रेष्ठले खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना मार्फत भैरहेका कामका बिषयमा अवगत गराउनुभयो। उहाँले यो आयोजनाको अवधारणा निर्माणको चरणदेखि नै आफूले हेर्दै आएको र यसको सफलताका लागि विभागले गर्नुपर्ने काममा कुनै कमी हुन नदिने बचनबद्धता जनाउनुभयो।
विभागको टोलीले सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका पदाधिकारीहरुसँग समेत छलफल गरेको छ । भेरी पम्पिङ खानेपानी आयोजना सम्पन्न नहुँदासम्म सुर्खेत उपत्यकामा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्थाका बिषयमा उपभोक्ता समितिका पदाधिकारीहरुसँग छलफल गरेको हो ।
छलफलमा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले खानेपानी अभावका कारण आपूर्ति व्यवस्थापनमा जटिलता सिर्जना भएको जानकारी गराउनुभयो । उहाँले पाँच बर्षदेखि नयाँ धारा जडानको काम ठप्प रहेको र पुरानै उपभोक्तालाई समेत माग बमोजिम खानेपानी आपूर्ति गर्न नसकेको जानकारी गराउनुभयो।
महानिर्देशक श्रेष्ठले यसको समाधान के हुन सक्छ त ? भनेर प्रश्न गर्नुभएको थियो। जवाफमा अध्यक्ष देवकोटाले दुई चार ठाउँमा डिपबोरिङको परिक्षण पनि गरिएको जानकारी गराउँदै ती ठाउँमा डिप बोरिङ गरी हालको संरचनाबाट आपूर्ति गर्न सके समस्या समाधान हुने बताउनुभयो।’
उहाँले सेनाको व्यारेक भित्र निर्माण गरिएको ट्याङ्कीमा त्यही नजिकै बोरिङ गरेर पानी वितरण गर्न सक्यौं भने पनि केही हदसम्म समाधान हुने बताउनुभयो।
महानिर्देशक श्रेष्ठले यस कार्यका लागि नगरपालिकासँग समन्वय गरी खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना मार्फत नै कार्य अगाडि बढाउन सुझाव दिनुभयो।
२०७९ भदौ १६ गते योजना कार्यान्वयनका लागि नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग र वीरेन्द्रनगर नगरपालिका बीच सम्झौता भएको थियो। सोही अनुसार वीरेन्द्रनगर नगरपालिकामा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना, परियोजना कार्यान्वयन इकाई कार्यालय स्थापना गरी काम अगाडि बढाईएछ।
भेरी पम्पिङ आयोजना कस्तो आयोजना हो ?
सुर्खेत उपत्यकाको तीन दशक पछिको जनसङ्ख्यालाई मध्यनजर गरी खानेपानी समस्या समाधान गर्न भनेर अघि बढाइएको योजना हो– ‘भेरी पम्पिङ खानेपानी आयोजना’ ।
भेरीको पानी पम्पिङ गरेर वीरेन्द्रनगर ल्याउन संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत भेरीको पानी पम्पिङ गरी सुर्खेत उपत्यकामा ल्याईनेछ ।
दुई चरणमा सम्पन्न हुने आयोजनाका लागि पहिलो चरण अन्तर्गत ४ अर्ब ६५ करोड ३० लाख ६६ हजार बराबरको बजेट सुनिश्चित भइसकेको छ ।
पहिलो चरणमा नदीबाट पानी पम्पिङ गर्ने, ट्याङ्की बनाउने देखि पानी वितरणसम्मको काम हुनेछ । आयोजनाले भेरी नदीमा तयार गरिने इन्टेकबाट ७ किलोमिटर दुरीमा पम्पिङ गरी वीरेन्द्रनगर नगरपालिका–११, अमृत डाँडामा पानी ल्याउनेछ ।
पहिलो चरणमा भेरी नदीमा इन्टेक निर्माण, पानी प्रशोधन प्रणाली, रिजर्भ ट्याङ्की निर्माण र अमृत डाँडादेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारण लाइन विस्तार गर्ने योजना छ ।
भेरीको पानी ४०० मिटर उचाइमा ल्याएर त्यहाँ निर्माण गरिने प्रशोधनशाला (ट्रिटमेन्ट प्लाण्ट) मा प्रशोधन गरी त्यहाँबाट करिब ७ किलोमिटर लामो पाइपका माध्यमबाट अमृत डाँडामा निर्माण गरिने रिजर्भ ट्याङ्कीमा खसालिने छ ।
अमृत डाँडामा रहने ट्याङ्की १२ हजार घनमिटरको हुनेछ । दोस्रो चरणमा उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार गरिनेछ ।
आयोजना सम्पन्न नहुञ्जेलसम्म अहिलेकै संरचनाबाट खानेपानी वितरण गरिनेछ ।