नेपाल−बंगलादेश मेन्टर सिटी क्रस लर्निङ भ्रमण, सहरी सरसफाइ सिकाईको पूल निर्माण

  वास खबर सम्वाददाता  335 पटक हेरिएको

मेन्टर सिटी क्रस लर्निङ भ्रमणको क्रममा बांग्लादेश र नेपालका सहभागीहरू

काठमाडौ : एक महिना अगाडि बंगलादेशका विभिन्न शहरबाट प्रतिनिधित्व गर्दै १५ जनाको टोलीले नेपाल भ्रमण गर्‍यो । नेपालमा उनीहरु अन्य पर्यटक जस्तो हिमाल हेर्न आएका थिएनन् । न त ट्रेकिङ गरी अन्य प्राकृतिक सम्पदा नै हेरे ।

बंगलादेशको म्युनिसिपल एसोसिएसन अफ बंगलादेश, बंगलादेश युनिभर्सिटी अफ इन्जिनियरिङ् एण्ड टेक्नोलोजी (ITN-BUET) सँगै कुष्टिया, फरीदपुर, झेनैदह, सखीपुर र लक्ष्मीपुर नगरपालिकाबाट आएको टोलीले ललितपुरको महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधी एवं कर्मचारीहरु सँगको छलफलमा भाग लिए । टोलीले लुभुमा सञ्चालित दिसाजन्य लेदो प्रशोधन केन्द्र, एरोसान सार्वजनिक शौचालयका साथ साथै, गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रको अवलोकन एवं छलफल गरे । साथै सिकाई आदानप्रदान गोष्ठीमा सहभागी भएर आफ्ना नगरपालिकाका सरसफाइ सम्बन्धि अनुभवहरु बाँडे ।

वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) को निमन्त्रणामा मेन्टर सिटी क्रस लर्निङ भिजिटका लागि बंगलादेशको टोली नेपाल आएको थियो । मेन्टर सिटी बन्ने क्रममा रहेका बंगलादेश र नेपालका नगरपालिकाहरु बीचको सहकार्यत्मक सिकाइ आदानप्रदान गर्ने र मेन्टर सिटीहरुको उपलब्धी र मेन्टर सिटी बन्ने क्रममा सामना गर्नुपर्ने चुनौतीहरूका बिषयमा छलफल गर्ने उद्देश्यले यही जुन १ देखि ३ तारिखसम्म भ्रमणको आयोजना गरिएको थियो ।

भनिन्छ कुनै कुराको बारेमा हजार पटक सुन्नु भन्दा एक पटक हेर्नु राम्रो हुन्छ । यस क्रस लर्निङ भ्रमणलाई प्रभावकारी उपकरणको रूपमा लिन सकिन्छ जसले सरसफाइको क्षेत्रमा भएका विभिन्न पहलहरूको अन्वेषणलाई जान्न मद्दत गर्दछ । यसबाहेक, भ्रमणले समय सापेक्षा शिक्षा, नेटवर्किङ सुदृढीकरण र ज्ञान वृद्धिको अवसर प्रदान गर्दछ ।

मेन्टर सिटी अवधारणा के हो ?

विश्वको ३० वटा भन्दा बढी देशहरुमा नगरव्यापी समावेशी सरसफाइ (CWIS) अवधारणा लागु भैरहेको छ । दक्षिण एसियामा बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसन (BMGF) को आर्थिक सहयोगमा नेपाल र बंगलादेशमा नगरव्यापी समावेशी सरसफाइ प्रबर्द्वन र सरसफाइमा नवीनता (Citywide Inclusive Sanitation Scaling and Sanitation Innovation) परियोजना कार्यान्वयन भैरहेको छ ।

यही परियोजनाको एउटा अंशको रुपमा मेन्टर सिटीको अवधारणा विकास गरिएको हो । यस अवधारणाले नगरव्यापी समावेशी सरसफाइका सूचकहरूद्वारा निर्देशित सरसफाइ सेवाहरू उत्कृष्ट एवं नमूना सरसफाइ सहरको रुपमा विकास गर्दछ र साथै, अन्य सहरहरूलाई यो प्रणाली अपनाउन प्रोत्साहित र प्रेरित गर्दछ । नेपाल र बंगलादेशका केही नगरपालिकाहरूमा यस्तै असल सरसफाइ अभ्यासहरू भैरहेका छन् ।

महालक्ष्मी नगरपालिकामा औपचारिक बैठकको समयमा छलफलमा संलग्न सहभागीहरू

ललितपुरको महालक्ष्मी नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका मेन्टर सिटीको रुपमा विकास भैरहेका नेपालका दुई नगरपालिका हुन् । जहाँ नगरव्यापी समावेशी सरसफाइको क्षेत्रमा देश तथा विदेशका लागि समेत प्रदर्शन एवं अनुकरणयोग्य नमुना कामहरु भैरहेका छन् । यी दुवै नगरपालिकामा सेप्टिक ट्याङ्कको मानक तयार गरी अनिवार्य लागु गरिएको छ भने दिसाजन्य लेदोलाई प्रशोधन गरी व्यवस्थापन गर्ने सुविधा पनि उपलब्ध गराएको छ ।

महालक्ष्मी नगरपालिकाले भने नगरक्षेत्रलाई ढल रहित र ढल सहितको क्षेत्रमा विभाजन गरी सोही अनुसार कार्यक्रम कार्यान्वयन गरिरहेको छ । साथै नगरपालिकाका इन्जिनियरहरुलाई तालिम प्रदान गरी क्षमता विकास गरिएको छ । यसरी यी दुवै नगरपालिकाले नगरव्यापी समावेशी सरसफाइको क्षेत्रमा मेन्टर सिटीको पहिचान बनाईरहेको छ ।

यस परियोजनाले बंगलादेश र नेपाल दुबैमा मेन्टर सिटीहरू विकास गर्दैछ । दुबै देशमा प्रबर्द्वन गरिदैं गरेको अवधारणामा समानतालाई ध्यानमा राख्दै यो क्रस लर्निङ भ्रमणको आयोजना गरिएको थियो । यस भ्रमणको उद्देश्य सहभागीहरूलाई सरसफाईको क्षत्रमा भएका सफल रणनीतिहरू र अभ्यासहरूबाट सिक्ने, दक्षता र सञ्जाल निर्माण गर्ने, प्रत्येक देशको सन्दर्भसँग सान्दर्भिक समस्याहरू र तिनीहरूको समाधानहरू बारे अन्तर्दृष्टि प्राप्त गर्ने अवसर प्रदान गर्नु हो।

एन्फोका प्रोग्राम म्यानेजर आश कुमार खाईतु भन्नुुहुन्छ, ‘दुबै देशमा मेन्टर सिटीको विकास भइरँहदा हाम्रोमा भएका उत्कृष्ट अभ्यासहरु उनीहरुले सिकेर आफ्नो नगरपालिकामा अबलम्बन गर्न सक्छन् र बंगलादेशमा भएका राम्रा कुराहरु हामीले पनि सिक्न सक्छौं। यसरी आपसी सिकाई आदान प्रदान गर्ने उद्देश्यले मेन्टर सिटी क्रस लर्निङ भिजिट आयोजना गरिएको हो ।’

वालिङ र महालक्ष्मीले समावेशी सरसफाइको अग्रसरता लिँदै

मेन्टर सिटी बन्ने यात्रामा रहेको महालक्ष्मी नगरपालिकाले समावेशी सरसफाइमा धेरै फड्को मारिसकेको छ । सेप्टिक ट्याङ्की निर्माणको अनुगमनका लागि भौगोलिक सूचना प्रणाली (GIS) मा आधारित सरसफाइ एप र एकीकृत नगरपालिका स्तरिय सूचना प्रणाली (IMIS) प्रयोगमा ल्याईसकेको महालक्ष्मी नगरपालिकाबाट अबलम्बन गर्न सकिने अन्य धेरै नमुना सरसफाइ अभ्यासहरु छन् ।

दिसाजन्य लेदो व्यवस्थापनका लागि नगरपालिकाले कानुनी रुपमा ‘मानव मलमूत्रीय फोहोर व्यवस्थापन विनियम २०७६’ र स्टाण्डर्ड सेप्टिक ट्याङ्क सम्बन्धी निर्देशिका निर्माण गरी कार्यान्वयन गरिरहेको नगरपालिकाका इन्जिनियर रवीन्द्र उप्रेतीले जानकारी गराउनुभयो ।

ई. रविन्द्र उप्रेतीद्वारा महालक्ष्मी नगरपालिकाको सरसफाइ अवस्था प्रस्तुत गर्दै

इन्जिनियर उप्रेतीले महालक्ष्मी नगरपालिकाले मेन्टर सिटी बन्ने क्रममा गरेको सरसफाइ पहल, सामना गरेका चुनौतीहरू र उपलब्धीहरुका बिषयमा लर्निङ भिजिटमा आएका बंगलादेशको टोली सामु प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा बंगलादेश युनिभर्सिटी अफ इन्जिनियरिङ् एण्ड टेक्नोलोजीका प्रोजेक्ट म्यानेजर अलाउद्दिन अहमदले सरसफाइको प्रगतिमा नेपाल र बंगलादेश बीचको समानता र नेपालको सफल अभ्यासहरू अपनाउने सम्भावनामा जोड दिनुभयो ।

‘अधिकांश नगरपालिकाले ठोस फोहोर व्यवस्थापनको काम मात्र सरसफाइ सेवा हो भन्ने बुझाइका कारण दिसाजन्य लेदो व्यवस्थापनमा चुनौती थपिएको छ’ उहाँले भन्नुभयो । बंगलादेश र नेपाल भौगोलिक तथा हावापानीका हिसाबले पनि मिल्दाजुल्दा भएकाले नेपालमा सफल भैसकेको प्रविधि बंगलादेशमा पनि अबलम्बन योग्य हुने उहाँको धारणा थियो ।

छलफल तथा सिकाई आदानप्रदान कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठले मेन्टर सिटीहरु बीचको सिकाई आदानप्रदान कार्यक्रमले दुई देशका स्थानीय सरकारहरु बीच मात्र नभई दुई देश बीचको सम्बन्ध थप सुमधुर बन्ने बताउनुभयो ।

उहाँले यो भ्रमणबाट महालक्ष्मी नगरपालिकाले गरिरहेको सरसफाइ अभ्यासबाट बंगलादेशले पनि केही नयाँ कुरा सिक्न सक्ने र बंगलादेशले अबलम्बन गरेका सरसफाइका अभ्यासहरु पनि आफ्नो नगरपालिकाले सिक्ने अवसर मिलेको बताउनुभयो । मेयर श्रेठले यो सिकाईको क्रम भविश्यमा समेत निरन्तर हुने विश्वास व्यक्त गर्नुभयो ।

राजधानीको एक मात्र दिसाजन्य लेदो प्रशोधन केन्द्रको अवलोकन

लुभु दिसाजन्य प्रशोधन केन्द्रको प्रवेशद्धार खुल्ने वित्तिकै लटरम्म फलेका गोलभेडा देखेपछि भ्रमण टोली त्यतै झुम्मिए । दिसाजन्य लेदोलाई प्रशोधन गरेर निकालिएको मल र पानीको प्रयोगबाट गोलभेडा फलाएको बताए पछि टोलीका सदस्यहरु अझ जिज्ञासु बने ।

प्रशोधन केन्द्र सञ्चालक सूर्य प्रसाद घिमिरेले बायाँ तर्फको जानकारीमूलक बोर्डमा देखाउँदै प्रशोधन केन्द्रले कसरी काम गर्छ भन्ने बारेमा बताउनुभयो । त्यसपछि उहाँले प्रशोधन केन्द्रको हरेक भागको अवलोकन गराउँदै त्यसले गर्ने कामका बारेमा समेत बर्णन गर्नुभयो ।

FSTP अपरेटर सूर्य प्रसाद घिमिरेद्वारा ँक्त्ए सञ्चालन प्रक्रिया व्याख्या गर्दै

प्रशोधन केन्द्रबाट खाना पकाउन बायोग्याँस, बालीनालीका लागि कम्पोष्ट मल र सिँचाईका लागि पानी उत्पादन भैरहेको छ । हप्तामा ६ हजार लिटर अर्थात २ ट्याङकर दिसाजन्य लेदो प्रशोधन गर्ने क्षमता रहेको प्रशोधन केन्द्रबाट बार्षिक ७९९ घनमिटर बायोग्यास उत्पादन भैरहेको छ भने ६९ घनमिटर प्राङ्गरिक मल र ५२४ घनमिटर प्रशोधित पानी निस्कन्छ । जुन पानी बोटविरुवाका लागि अति पोषणयुक्त हुन्छ ।

लुभु स्थित दिसाजन्य लेदो प्रशोधन केन्द्र स्रोत पुनर्लाभ गर्न मिल्ने प्रणालीको सानो क्षमताको प्रदर्शन केन्द्र हो ।

एरोसान टोइलेट टुर

मेन्टर सिटी क्रस लर्निङ भिजिटमा आएको टोलीले एरोसान सस्टेनेबल स्यानिटेसन प्रा.लि. ले सञ्चालन गरेको शौचालयको विशेष चासो दिएर अवलोकन गरे । उनीहरुले प्रश्न पनि सोधे ‘यो कसरी सम्भव भयो ?’

एरोसानकी प्रोग्राम म्यानेजर अर्चना श्रेष्ठले एरोसानले सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणामा शौचालय निर्माण र सञ्चालन गरिरहेको बताउनुभयो । उहाँका अनुसार यही अवधारणामा काठमाडौ र ललितपुर महानगरपालिकाका विभिन्न १० स्थानमा यस्ता शौचालयहरु सञ्चालन भैरहेका छन् ।

टोलीको जिज्ञासालाई अझ प्रष्ट पार्दै श्रेष्ठले भन्नुभयो ‘सुरुमा जग्गा प्राप्तिका लागि वडा कार्यालय र महानगरपालिकाको कार्यालयसँग छलफल हुन्छ । जग्गा प्राप्त भएपछि निर्माण र निश्चित अवधिसम्म सञ्चालनको जिम्मा हामीले नै लिने गरी सम्झौता गरिन्छ । सम्झौता अवधि सम्पन्न भएपछि शौचालयको सबै संरचना सम्बन्धित पालिकालाई जिम्मा दिन्छौं ।’

सार्वजनिक शौचालयमा सार्वजनिक, निजी साझेदारी अवधारणाले शौचालयको दिगोपना, नियमितता र सरसफाइमा टेवा पुगेको उहाँले बताउनुभयो ।

एरोसान सार्वजनिक शौचालय, पाटनको भ्रमण

एरोसानका सार्वजनिक शौचालयहरु महिला, पुरुष, बृद्धबृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु सबैले प्रयोग गर्न सक्छन् । महिलामैत्री, बालबालिकामैत्री, अपाङ्गतामैत्री र प्रविधिमैत्री यी शौचालयहरु सबैका लागि पहुँचयोग्य रहेको उहाँले बताउनुभयो । नगरव्यापी समावेशी सरसफाइको यो एउटा उत्कृष्ट उदाहरण रहेको उहाँले बताउनुभयो ।

सार्वजनिक शौचालयमै आकाशेपानीको संकलन, भूमिगत पानीको रिचार्ज, दिसाजन्य लेदोबाट बायोग्याँस उत्पादन, शौचालयमै क्याफे सञ्चालन र प्रविधियुक्त यो शौचालय आर्थिक रूपमा सक्षम उद्यमको रूपमा विकास गरिएको छ । बंगलादेशको टोली एरोसानको मोडेलबाट प्रेरित भएको छ । ‘हामी यो अवधारणाको शौचालय हाम्रै नगरपालिकामा पनि निर्माण गर्नेछौं’ उनीहरुले शौचालयको अवलोकन गरेपछि भनेका छन् ।

फोहोरपानी प्रशोधनको दिगोपनामा चासो

गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रमा भ्रमण

मेन्टर सिटीहरु बीच आपसी सिकाईका लागि तीन दिने नेपाल भ्रमणमा आएको बंगलादेशी टोलीले गुहेश्वरी स्थित फोहोरपानी प्रशोधन केन्द्रको पनि अवलोकन गर्‍यो । प्रशोधन केन्द्रको बारेमा प्रशोधन केन्द्रका प्रोजेक्ट म्यानेजर योगेन्द्र चित्रकारले प्रस्तुतीकरण गरी प्रशोधन केन्द्रको बारेमा जानकारी गराउनुभयो ।

टोलीले फोहोरपानी प्रशोधन केन्द्रको दिगोपनाको बिषयमा प्रश्न गरेका थिए । प्रोजेक्ट म्यानेजर चित्रकारले १० बर्षसम्म सञ्चालन गर्ने जिम्मेवारी पनि निर्माण कम्पनीकै भएकाले हाल निर्माण कम्पनीबाटै सञ्चालन भैरहेको र अवधि सकिँदा सम्म जनशक्ति तयार हुने भएकाले दिगोपनामा समस्या नआउने बताउनुभयो ।

बंगलादेशको टोलीले आर्थिक दिगोपनामा पनि प्रश्न गरेका थिए । जवाफमा चित्रकारले हाल ढल प्रणालीमा जोडिएका घरधुरीलाई ढल शुल्क नलगाएको र निकट भविश्यमै ढल शुल्क उठाइने र सरकारले पनि फोहोरपानी व्यवस्थापनका लागि नियमित बजेट विनियोजन गरिने बताउनुभयो ।

प्रोजेक्ट म्यानेजर चित्रकारले दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा ५० प्रतिशत फोहोरपानी प्रशोधन गर्न ठूला क्षमताका फोहोरपानी प्रशोधन केन्द्रहरु निर्माण गर्न आवश्यक रहेको र यसका लागि बालकुमारी, धोबीघाट, सल्लाघारी, हनुमानघाट, गोकर्ण लगायत स्थानमा प्रशोधन केन्द्र निर्माण भैरहेको जानकारी गराउनुभयो ।

अझ केही गर्ने उत्साह जाग्यो : उपप्रमुख गैरे

उप–प्रमुख गैरेद्वारा आफ्नो टिप्पणी प्रस्तुत गर्दै

मेन्टर सिटीहरु बीचको आपसी सिकाई आदानप्रदान कार्यक्रममा स्याङजाको वालिङ नगरपालिकाका उपमेयर कविता तिवारी गैरेले सरसफाइको क्षेत्रमा थप केही गर्ने उत्साह मिलेको बताउनुभयो । उहाँले वालिङको फोहोर व्यवस्थापनमा महिलाको भूमिकाबारे प्रष्ट पार्दै वालिङमा भएका २०७ वटा टोल विकास संस्थाहरु मध्ये धेरैजसो महिलाले नै नेतृत्व गरिरहेको र जसले गर्दा फोहोरलाई स्रोतमै छुट्याउन पनि सजिलो भएको बताउनुभयो।

उपप्रमुख गैरेले बंगलादेशको नगरपालिकाहरुले अबलम्बन गरिरहेको राम्रो अभ्यासको अनुशरण आफ्नो नगरपालिकामा पनि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसअघि बंगलादेशबाट प्रतिनिधित्व गरेर आएका पाँच वटै नगरपालिकाले मेन्टर सिटीहरुको उपलब्धी र सामना गर्नुपरेका चुनौतीहरूका बिषयमा कार्यशालामा पालैपालो प्रस्तुतीकरण गरेका थिए ।

उपमेयर गैरले बंगलादेशका नगरपालिकाहरुले सरसफाइकर्मीका लागि गरेको स्वास्थ्य बीमा, स्वास्थ्य कार्ड, अनिवार्य पिपीईको व्यवस्था जस्ता पक्ष निक्कै अनुकरणीय रहेको बताउनुभयो । साथै बंगलादेशी नगरपालिकाहरूको सफल अभ्यासहरू कार्यान्वयन गर्न समर्पित रहेको पनि जानकारी गराउनु भयो ।

मेन्टर सिटी, सिक्ने र सिकाउने थलो : कार्यकारी निर्देशक शर्मा

श्री शर्माद्वारा आफ्नो टिप्पणी प्रस्तुत गर्दै

वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक भावना शर्माले सरसफाइको क्षेत्रमा विकास हुँदै गरेको मेन्टर सिटीहरु बीचको परस्पर सिकाई आदानप्रदान निक्कै फलदायी भएको बताउनुभयो । उहाँले वालिङ नगरपालिकामा भैरहेका सरसफाइको नवीन अभ्यासबारे प्रस्तुतीकरण र महालक्ष्मी नगरपालिकासँग भएको छलफलबाट नगरपालिकाले समावेशी सरसफाइको क्षेत्रमा गरिरहेको कामका बारेमा बंगलादेशको टोलीले धेरै कुरा थाहा पाएको आफ्नो बुझाई रहेको बताउनुभयो ।

‘छलफलमा भाग लिँदा, दिसाजन्य लेदो प्रशोधन केन्द्र तथा फोहोरपानी प्रशोधन केन्द्रको अवलोकनका क्रममा पनि उहाँहरुले गरेको प्रश्नोत्तरले उहाँहरु धेरै कुरा सिक्न तत्पर हुनुहुन्छ भन्ने देखिएको थियो’ कार्यकारी निर्देशक शर्माले भन्नुभयो ‘उहाँहरु आफैले पनि धेरै कुरा सिकेको बताउनु भएको छ, यसबाट पनि दुई देशका मेन्टर सिटीहरु बीचको अध्ययन, अवलोकन भ्रमण तथा प्रस्तुतीकरण र प्रश्नोत्तरले गर्दा एक आपसमा नयाँ कुरा सिक्न सक्छौं भन्ने प्रमाणित गरेको छ ।’

अन्तरदृष्टि अनुभव दियो : परिमल कुमार

श्री देवद्वारा तीन दिने भ्रमणबारे आफ्नो अनुभव प्रस्तुत गर्दै

क्रस लर्निङ भ्रमणमा सहभागी बंगलादेश नगरपालिका संघका सीईओ परिमल कुमार देवले सरसफाइको क्षेत्रमा अन्तरदृष्टि अनुभव प्रदान गरेको प्रतिक्रिया दिनुभयो ।

भ्रमणको अन्तिम दिन आफ्नो अनुभव व्यक्त गर्दै उहाँले तीन दिने क्रस लर्निङ भ्रमण अत्यन्तै फलदायी भएको बताउनुभयो । ‘हामीले दिसाजन्य लेदो प्रशोधन केन्द्रको अवलोकन गर्‍यौं, फोहोरपानी प्रशोधन प्लान्ट पनि अवलोकन गर्ने मौका मिल्यो, पीपीपी मोडलको अत्याधुनिक शौचालय देखेर दंग भयौं ।

अनि वालिङ नगरपालिकाको गरेका सरसफाइ पहलका बिषयमा पनि थाहा पायौं, हाम्रो देशमा फर्केर गएपछि यसले हाम्रो काम गराईमा कहीं न कहीं सहयोग पुर्‍याउने नै छ’ उहाँले भन्नुभयो ।

बहुमुल्य सिकाइ : मेयर फरिदपुर नगरपालिका

प्रमुख वोस, फरिदापुरद्वारा आफ्ना समापन मन्तव्य प्रस्तुत गर्दै

भ्रमणमा सहभागी फरिदपुर नगरपालिकाका मेयर अमितब बोसले मेन्टर सिटी क्रस लर्निङ भिजिटबाट बहुमूल्य सिकाइ भएको बताउनुभयो । स्वास्थ्यका कारण सबै कार्यक्रममा सहभागी हुन नपाए पनि सहभागी भएका कार्यक्रमहरु अति नै फलदायी भएको बताउनुभयो ।

सिकाइको उद्देश्यले नेपाल आउन पाउँदा धेरै गर्व लागेको बताउँदै उहाँले बंगलादेशमा समेत यस्तै पहलहरू भैरहेको बताउनुभयो । ‘यस भ्रमणबाट दिसाजन्य लेदो प्रशोधनको प्राविधिक पक्ष र यसको सञ्चालन प्रक्रियाबारे गहिराईमा बुझ्ने मौका मिल्यो’ उहाँले भन्नुभयो।

सबैभन्दा राम्रो पक्ष त ठूला क्षमताको फोहोरपानी प्रशोधन केन्द्र सञ्चालनका लागि आवश्यक पूर्वाधार, मानवीय जनशक्ति, आर्थिक पक्ष र यसको फाइदाका बिषयमा जानकारी हासिल गरेको उहाँको भनाइ थियो । बंगलादेशले समेत फोहोरपानी व्यवस्थापनमा समस्या झेल्दै आएको र यसको समाधानका लागि गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रको अवलोकन गरेपछि धेरै आईडिया मिलेको बताउनुभयो ।

सिकाई आदानप्रदान कार्यशालाको समापन सत्रमा उहाँले भन्नुभयो ‘बंगलादेशका सबै नगरपालिकाहरूको तर्फबाट हामी नेपाली टोली र एन्फो टोलीलाई क्रस लर्निङको भ्रमणको लागि बंगलादेशमा आमन्त्रण गर्न चाहन्छौं ।’

उपसंहारः

जनसंख्या वृद्धि र दु्रत शहरीकरणबाट उत्पन्न सरसफाइ समस्याहरू समाधान गर्न ‘नगरव्यापी समावेशी सरसफाइ’ नयाँ अवधारणा हो । यस नयाँ अवधारणालाई विस्तार गर्न विभिन्न तहमा दक्ष जनशक्तिको आवश्यकतालाई मध्यनजर गर्दै एन्फोले विभिन्न तहमा सरोकारवालाहरूको क्षमता अभिवृद्धिको लागि सक्रिय रूपमा संलग्न रहेको छ । सरसफाइमा समान चुनौतीको सामना गरिरहेका देशहरूलाई यसको सफलताले सरसफाइको अवस्था सुधार गर्न राम्रो अवसर प्रदान गर्नेछ । यसका लागि नगरव्यापी समावेशी सरसफाइको प्रबद्र्धनमा जोड दिनुपर्छ । मेन्टर सिटी क्रस लर्निङ भिजिटले यसको प्रबद्र्धनमा बढावा दिने निश्चित छ ।

एउटा नगरपालिकामा भएका सरसफाइ अभ्यासहरु प्रत्यक्ष अवलोकन गर्दा आफ्नो नगरपालिकाका लागि समेत कत्तिको उपयोगी छ भनेर मनन गर्न, दोहोरो अन्तरक्रियाबाट चुनौतीहरु पहिचान गर्न र आफ्नो नगरपालिकामा कार्यान्वयन गर्नुअघि अपनाउनुपर्ने पूर्व तयारीहरु बारे ज्ञात हुनेछ । यसले चुनौतीहरुको सामना गर्न, जोखिमहरु न्यूनीकरण गर्न र सफल रुपमा कार्यान्वयन गर्न ज्ञान प्रदान गर्दछ ।

एउटै परियोजना अन्तर्गत दुई फरक फरक देशका नगरपालिकाहरुमा समान अवधारणा विकास गरी मेन्टर सिटी बनाउने यात्रामा प्रतिस्पर्धाको भावना जागृत हुने र सहरी सरसफाइ अभ्यासहरुको थप प्रबद्र्धनमा टेवा पुग्ने देखिन्छ ।

यो भ्रमण अन्तरदेशीय मेन्टर सिटीहरु बीचको सिकाई आदानप्रदानमा मात्र सीमित नभई दुवै देशका अन्य नगरपालिकाहरुका लागि समेत अनुकरणीय बन्नेछ । हालका लागि मेन्टर सिटीहरु बीच मात्र गरिएको क्रस लर्निङ भिजिट भविश्यमा अन्तर नगरपालिकाहरु बीच पनि हुने र यसले अन्य नगरपालिकाहरुलाई समेत पाठ सिकाउने पक्का छ ।

आपसी छलफल, अन्तरक्रिया र सम्वादहरुको माध्यमबाट आफ्नो नगरपालिकामा भैरहेका सरसफाइ अभ्यासहरुलाई अझ बढावा दिन उत्साह भर्ने र नगरपालिकामा केही गरिरहेका रहेछौं भन्ने आत्म सन्तुष्टिको बोधले भावी दिनमा केही गर्न थप प्रेरणा मिल्ने निश्चित देखिन्छ । अन्तरदेशीय भ्रमणको अवसरले सहरी सरसफाइको क्षेत्रमा आफ्नो क्षेत्रमा केही न केही गर्ने नैतिक दबाब समेत पर्ने हुँदा यस प्रकारका क्रस लर्निङ भ्रमणको उपदेयता अझ बढेर जानेछ ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार