दार्चुला : पहिरोले पानीको मुहान बगाएपछि खानेपानीको समस्या भएको छ । चार दिन अघिको वर्षाले मालिकार्जुन गाउँपालिका–४ स्थित कोटिला लिफ्टिङ खानेपानीको मुहानमा पहिरो गएपछि खानेपानी सेवा अवरुद्ध भएको हो ।
स्थानीय पवनसिंह धामीका अनुसार पहिरोले ट्याङकीमा जडान गरिएको पाइप र सोलार प्यानल पूर्ण रूपमा क्षति गरेको छ । खानेपानीको मुहानमा माथिबाट पहिरो खसेपछि खानेपानी ट्याङकी, सोलार प्यानल, मोटरमा समेत क्षति पुर्याएको छ ।
सोलार लिफ्टमार्फत गाउँमा खानेपानी पुगेको बेला एक्कासी पहिरो गएपछि खानेपानीको समस्या भएको उनको भनाइ छ । पहिरोले खानेपानीका विभिन्न संरचनामा क्षति गरेपछि कोटिला बस्तीका ३५ घरपरिवारलाई समस्या भएको हो । खानेपानीको मुहानमा पहिरो गएपछि त्यहाँका स्थानीयहरु फेरी अब डेढ/दुई घण्टा टाढाको मछाइन मुहानबाट पानी ल्याउनुपर्ने बाध्यतामा पुगेका छन् ।
गाउँमा लिफ्टमार्फत खानेपानी पुगेपछि अहिलेसम्म खानेपानीको लागि भोग्दै आएको दुःख केही सहज भएको भएपनि पहिरोले क्षति गरेपछि पानी भर्नुपर्ने दुःखका दिन सुरु भएको अर्का स्थानीय लक्ष्मणसिंह धामीले बताए । पहिरोले ५० मिटर पाइप लाइन, सोलार प्यानलमा पूर्ण क्षति गरेको छ । कोटिला बस्तीसंगै बालिचन आधारभुत विद्यालय चडेखानका विद्यार्थीहरुलाई खानेपानीको समस्या भोग्नुपरेको खबर कान्तिपुर दैनिकले प्रकाशन गरेको छ।
शौचालयको प्रयोगमा अहिले वर्षात्को समयमा आकाशे पानी जम्मा गरेर प्रयोग गरिएपनि खानेपानीको लागि धेरै समस्या भएको स्थानीयको भनाइ छ ।