सिरहा : सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं. १ स्थित बाल्टीयामा निर्माण गरिएको नन्दबाबा खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ।
बिएमजेड र भिसीएको मुख्य सहयोगमा डब्लुएचएच सँगको साझेदारी तथा कर्जन्हा नगरपालिका सँगको सहकार्यमा सबल नेपालद्धारा सञ्चालित ‘सामाजिक परिवर्तनका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता सुशासन सवलीकरण परियोजना’ अन्तर्गत सम्पन्न भएको खानेपानी आयोजना आज एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो।
बि.सं. २०७६ फागुन २० गतेबाट शुरु भई बि.सं. २०८० चैत्र १७ गते सम्पन्न भएको उक्त संरचना निर्माणको लागि कुल १ करोड ६४ लाख ६८ हजार ८ सय १३ रुपैयाँ लगानी भएको थियो । जसका लागि सबल नेपालले ७० लाख ५ हजार ९ सय ५५, कर्जन्हा नगरपालिकाले ९० लाख ७४ हजार ३ सय ७३ तथा समुदायले ३ लाख ८८ हजार ४ सय ८५ रुपैयाँ खर्च व्यहोरेको सबल नेपालका पालिका संयोजक रोजी श्रेष्ठले जानकारी गराउनुभयो।
कुल १ लाख ५० हजार लिटर पानी भण्डारण क्षमता रहेको ओभरहेड ट्याङ्क सँगै स्वचालित रुपमा पानी शुद्धिकरणका उपकरण समेत जडान भएकोले धारा प्रणाली मार्फत ६ सय १९ घरधुरीमा शुद्ध तथा स्वच्छ खानेपानीको नियमित पहुँच पुगेको छ ।
बिगतमा पानीको लागि ट्युवेल जडान गर्दा लेयर नलाग्ने जस्ता कारणले गर्दा वडा नं. १ का समुदायले ईनारको पानी खान बाध्य भए पछि सबल नेपा सँगको सहकार्यमा निर्माण कार्य सम्भव भएको वडा अध्यक्ष फनिन्द्र पोखरेलले बताउनुभयो।
खानेपानीको दिगोपनाको लागि प्रत्येक घर धुरीबाट न्युनतम १० युनिट प्रयोग गरे वापत ८० रुपैया महसुल संकलन गर्ने गरिएको र थप प्रति युनिट वापत ६ रुपैयाँ महसुल निर्धारण गरिएको नन्दबावा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी गराउनुभयो।
कार्यक्रममा कर्जन्हा नगरपालिकाका उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठले सबल नेपालले निर्माण गरेको संरचनाले गर्दा वडाबासीले स्वच्छ पानी पिउन पाएको बताउनुभयो । उहाँले यसको प्रभावकारिताका लागि नगरले थप कार्य गर्ने र सबल नेपाललाई नगरका अन्य वडा तथा समुदायमा समेत पानीको समस्या रहेकोले साझेदारीको लागि आग्रह गर्नुभयो।
आयोजना हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि एवं नगर प्रमुख भोला पोखरेलले सबल नेपालसँगको साझेदारीमा नगरक्षेत्रभित्र कहीं कतै नभएको खानेपानी वडा नं. १ मा १ घर १ धाराको निर्माण भएकोमा गर्व महसुस भएको र यस कार्यको लागि सबल नेपाललाई धन्यवाद व्यक्त गर्नुभयो।
उक्त अवसरमा खानेपानी आयोेजना निर्माण कार्य सफलता पूर्वक सम्पन्न गर्न योगदान पु¥याएका नन्दबाबा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, कर्जन्हा नगरपालिका वडा नं. १ र कर्जन्हा नगरपालिकालाई सबल नेपालद्धारा सम्मान समेत गरिएको थियो।
कर्जन्हा नगरपालिका वडा नं. १ को नवनिर्मित भवन प्रागंणमा वडा नं. १ का अध्यक्ष फणिन्द्र पोखरेलको अध्यक्षता तथा नगर प्रमुख भोला पोखरेलको प्रमुख आतिथ्यतामा हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठ, सबल नेपालका उपाध्यक्ष भुपेश कुमार साह, कोषाध्यक्ष आयुश श्रेष्ठ, बरिष्ठ प्रबन्धक अशोक साह, परियोजना व्यवस्थापक परमेश्वर कुमार झा, परियोजना संयोजक शैलेन्द्र चौधरी तथा कर्जन्हा पालिका संयोजक रोजी श्रेष्ठको उपस्थिति थियो ।