सिन्धुपाल्चोक : पानीका मुहान सुक्दै गएपछि स्थानीय सरकारले रिचार्ज पोखरीको अवधारणा अघि सारेको छ । नयाँ मूल नपलाउने र पुरानो सुक्दै जाने क्रम बढेपछि चौतारा–साँगाचोकगढी नगरपालिकाले यस्तो अवधारणा ल्याएको हो ।
भूकम्पको झट्काले जमिन हल्लिँदा पुरानो मूल सुकेको र नयाँ नपलाएपछि मूल संरक्षणका लागि नगरभित्र रिचार्ज पोखरी निर्माण गरिएको नगरपालिकाले जनाएको छ । पानीको मूल नभएकै कारण गाउँमा पानीको हाहाकार हुन थाल्यो । डाँडामा बस्ती भएकाले पिउने पानीकै लागि निकै टाढा धाउनुपर्ने बाध्यता आएपछि नगरपालिकाले जमिन रिचार्ज गर्ने पोखरीको अवधारणा ल्याएको हो ।
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम समेत रहेको चौतारा–साँगाचोकगढी नगरपालिकाले रिचार्ज पोखरी निर्माणलाई तीव्रता दिएको छ । पानीको मुहान संरक्षण गर्ने उद्देश्यले नगरपालिकाभित्रका सामुदायिक वन र खाली जमिनमा रिचार्ज पोखरी निर्माणलाई नगरपालिकाले तीव्रता दिएको हो । हरेक वर्ष नगरपालिकाले नीति तथा कार्यक्रम मार्फत् नै रिचार्ज पोखरी निर्माणका लागि सम्बोधन गर्दै बजेट समेत विनियोजन गर्दै आएको छ ।
जस अनुसार नगरपालिकाभित्र पाँच सयभन्दा बढी रिचार्ज पोखरी निर्माण सम्पन्न भइसकेको नगरपालिकाकी उपप्रमुख सीता थापाले जानकारी दिनुभयो। निर्माण सम्पन्न मध्ये पनि झण्डै ९० प्रतिशत रिचार्ज पोखरी वडा नं. ११ मा नै निर्माण भएको र अन्य स्थानमा पनि काम थालिएको नगर उपप्रमुख सीता थापाले बताउनुभयो। पानीको मुहान रहेको शीरमा पोखरी खनिएको छ । त्यो पोखरीमा बर्खामा आकाशबाट झरेको पानी जम्मा हुने गर्दछ । भिरालो जमिनमा खसेको पानी बगेर पोखरीमा जम्मा गरिएको हो ।
पोखरीमा बाह्रैमास पानी भएपछि आसपासका क्षेत्र रसाउने, जमिन सुख्खा नहुने भएकाले मूल पलाउने विश्वास गरिएको उहाँको भनाइ छ । पोखरी निर्माण गरिएका स्थानमा सम्भावित खतरा हुनबाट जोगाउन घेराबार समेत लगाइने गरिएको छ । काँडेतारको बार लगाएर घेराबार हालिएको हो । जंगली जनावर, बस्ती नजिकका बालबालिकालाई लक्षित गरी बार लगाइएको हो । यसरी शीरमा बर्खाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउनका लागि रिचार्ज पोखरी उपयोगी हुने गर्दछ ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण पनि मूलहरू सुक्न थालेका छन् । निर्मित रिचार्ज पोखरीका कारण पानीको मुहानहरू संरक्षण हुनका साथै लुकेका मूलबाट पानी पलाउने विश्वास स्थानीयले गरेका छन् । अहिले सार्वजनिक स्थान, सामुदायिक वन र प्रमुख सडक आसपास रिचार्ज पोखरी बनाइएको छ । पछिल्लोप टक वडा नं. ११ ले चौतारा बन्देऊ सडक खण्डसँग जोडिएका सामुदायिक वन र खाली जमिनमा रिचार्ज पोखरी निर्माणलाई प्राथमिकतामा राखेको छ ।
सडकसँगै रिचार्ज पोखरी निर्माण गर्दा एकातिर पानी पुनर्भरण भएर जमिन रसाउने र अर्कोतर्फ सडकको नालाको भल पोखरीमा भरण हुँदा सडक कटानी न्यूनीकरणमा सघाउ पुग्ने गरी सडक नजिक रिचार्ज पोखरी निर्माण गरिएको वडाध्यक्ष रोशनराज गिरिले जानकारी दिनुभयो । यो सडक छेउमा पर्ने नालीलाई लक्षित गरेर पनि पोखरी निर्माण गरिएको हो ।
भलसँगै बगेर आएको पात पतिङ्गर संकलन गर्दै कम्पोष्ट मल बनाउनका लागि पनि वडा लागि परेको उहाँको भनाइ छ । वडा नं. ११ ले रिचार्ज पोखरीमात्र होइन किसानलाई सहजताका लागि रोपाइँ पोखरी पनि निर्माण गर्दै आएको खबर कारोबार दैनिकले प्रकाशन गरेको छ। रिचार्ज पोखरीको प्रभावकारिता बढ्दै गएपछि नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पनि रिचार्ज पोखरी निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।