काठमाडौ : सुरक्षित खानेपानीको लागि इनलाइन क्लोरिनेसन गरेर मात्र वितरण गर्न थालिएको छ । सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) अन्तर्गत निर्माण सम्पन्न भएका खानेपानी आयोजनाहरुमा इनलाइन क्लोरिनेसनलाई अनिवार्य गरिएको हो।
खानेपानीको मुख्य पाइपलाइनको अन्तिम बिन्दुमै क्लोरिनेसन गर्ने विधिलाई ‘इनलाइन क्लोरिनेसन’ भनिन्छ । यो विधि अनुसार मुहानको पानी मुख्य पाइपलाइनबाट आउने क्रममा डिस्ट्रिव्युसन च्याम्बरमा खस्नु अघि नै क्लोरिनेसन गरिन्छ । पानीको वहाव र क्लोरिनको मात्रा मिलाए पछि स्वचालित रुपमा पानी क्लोरिनेसन भैरहन्छ । यस विधि अनुसार बेला बेलामा क्लोरिनको घोल बनाईरहनु पर्ने र परिवर्तन गरिरहनु पर्ने झण्झट हुँदैन ।
सुस्वाका वास सल्लाहकार राजु चौधरीका अनुसार इनलाइन क्लोरिनेसन गरेपछि डिस्ट्रिव्युसन चेम्बरको पानीमा क्लोरिनको मात्रा नापिन्छ । क्लोरिनको मात्रा पुगेको निश्चित भएपछि त्यसपछि रिजर्भ्वायर ट्याङ्कहरुमा पठाइन्छ । रिजर्भ्वायरमा संकलन भएको पानीमा पनि क्लोरिनेसनको मात्रा मापदण्ड भित्र रहेको सुनिश्चित भएपछि धारा धारामा वितरण गरिन्छ ।
सम्बन्धित उपभोक्ता समितिले उपभोक्ताको धारामा समेत क्लोरिन अवशेष भए नभएको परिक्षण गरिन्छ । खानेपानी उपभोक्ता समितिहरुलाई यस कार्यका लागि तालिम दिएर क्षमतावान बनाएको वास सल्लाहकार चौधरीले बताउनुभयो।
उहाँका अनुसार सुरक्षित खानेपानीको सुनिश्चितताका लागि हरेक उपभोक्ता समितिले दुई/दुई जना मर्मत सम्भार कार्यकर्ता नियुक्त गरिएको हुन्छ । उनीहरुलाई खानेपानीको सामान्य मर्मत सम्भार गर्न र क्लोरिनेसन गर्न सिकाईएको हुन्छ ।
राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ ले क्लोरिनेसन गरिएको खानेपानीमा न्यूनतम ०.१० मिलिग्राम प्रति लिटर र अधिकतम ०.५० मिलिग्राम प्रति लिटर सघन सीमा तोकेको छ ।