सर्लाही : सर्लाहीको चुरेवर्ती विकट गाउँ छाडेर सुगम ठाउँमा बसाइँ सर्नेहरू बढेका छन् । जिल्लाको उत्तरवर्ती ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको सिन्धुलीसँग सीमा जोडिएका दुर्गम चुरेपाखाका बासिन्दा शिक्षा, स्वास्थ्य, खानेपानी लगायत आधारभूत सेवा, सुविधाको खोजीमा चुरेफेदीका गाउँमा बसाइँ सर्ने क्रम बढेको हो । वैदेशिक रोजगारबाट परिवारको आर्थिक अवस्था सुध्रिएसँगै धेरै परिवार सुख, सुविधा खोज्दै पाखा तल झरेका हुन् ।
ईश्वरपुर नगरपालिका–१२, गुइडुङ गाउँका वीरबहादुर थिङले वैदेशिक रोजगारीबाट गाउँमा ठुलो परिवर्तन देखा परेको बताउनुभयो । आर्थिक अवस्था सबल भएपछि कतिपय चुरेफेदीमा बसाइँ सरेर गएका र कतिपयले तलमाथि दुवैतर्फ घर बनाएर बस्न थालेको थिङले बताउनुभयो ।
ईश्वरपुर–१२ को गुइडुङ, छोड्के, पिपलदमार, लामिदमार, बाँकेखोला र शिरलगायत एक दर्जनभन्दा बढी बस्तीका धेरै परिवार बसाइँ सरेर सोही वडाको चुरेफेदीका गाउँमा झरेका छन् । यसरी चुरेफेदीमा झर्ने अधिकांश स्थानीय बालबालिकाको शिक्षादीक्षा, खानेपानी र यातायातको सुविधा खोज्दै आइपुगेको बताउँछन् ।
लालबन्दी नगरपालिका–१३ को नारायणडाँडा र त्यस आसपासका बस्ती, वडा नं. १५ को शिरकालिन्जोरसहित चुरेपाखाका गाउँ र वडा नं. १४ को नारायणखोलाबाट दर्जनौँ परिवार बसाइँ सरेर पत्थरकोट, परवानीपुर, लालबन्दीलगायतका ठाउँमा आइपुगेका छन् । लालबन्दी नगरपालिका–१४ का वडाध्यक्ष छेनामसिंह घिसिङले आर्थिक अवस्थामा सुधार आएपछि बालबच्चालाई पढाउन र समयमै औषधी उपचार पाइने भन्दै धेरैले चुरेपाखाका बस्ती छाडेर सहर झर्न थालेको बताउनुभयो ।
उहाँका अनुसार नारायणखोलाका धेरै जसोले पछिल्लो समय पत्थरकोट र लालबन्दीमा घर बनाएका छन् । आर्थिक अवस्था कमजोर रहेकाहरू भने गाडी चढ्नका लागि तीन/चार घण्टा पैदल हिँड्नुपर्ने विकट पाखामा घर भए पनि बाध्यतावश अन्यत्र बसाइँ सरेर जान सकेका छैनन् ।
हरिवन नगरपालिका–१ का वडाध्यक्ष टमबहादुर घिसिङ अहिले वडा तथा विभिन्न सङ्घ संस्था र निकायले बिजुली, खानेपानी र कच्ची सडक पुर्याएपछि धेरै परिवार गाउँमै बस्न थालेको बताउनुहुन्छ । आर्थिक अवस्था सबल बनेपछि केही परिवारले पुरानो थातथलो छाडे पनि अधिकांश भने विकट भए पनि रमणीय चुरेपाखामा बस्नै रमाइरहेका वडाध्यक्ष घिसिङको भनाइ छ ।
चुरेका दर्जनौँ विकट बस्ती पर्ने हरिवन–१ मा वडा तथा नगरले ठाउँ ठाउँमा खानेपानी र सडक तथा नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रले बिजुली पुर्याएका छन् । चुरेका केही दुर्गम बस्ती रहेका बागमती नगरपालिका–१ मा पनि क्रमिक रूपमा विकास पुर्याइरहेको वडाध्यक्ष गम्भीरसिंह पाख्रिनले बताउनु भएको खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ।
पाख्रिनले आफ्नो वडामा पनि पुरानो बसोबास रहेको केही परिवार बसाइँ सरेर तल चुरेफेदी र अन्य सहर बजारमा गएका बताउनुभयो । आधारभूत आवश्यकताका चिज पु¥याउनै मुस्किल पर्ने चुरे भेगमा बस्न साँच्चै नै असहज रहेको वडाध्यक्ष पाख्रिनको भनाइ छ ।